काठमाडौं, २९ असोज – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको गोवामा आयोजना हुने ‘ब्रिक्स सम्मेलन’मा सहभागी हुन १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अाज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र सरकार प्रमुखको बैठक एवम् ब्रिक्स विमस्टेक आउटरिच सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।सम्मेलनअघि आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालका खाडीका प्रयास (बिमस्टेक) सदस्य राष्ट्र तथा सरकार प्रमुखको रिट्रिट बैठकमा समेत प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् ।
सम्मेलनका क्रममा गोवामा रहँदा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सि जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार चीनका राष्ट्रपति सिसँग शनिबार साँझ र भारतीय समकक्षीसँग आइतबार भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।चिनियाँ राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले छिमेकीसँगको सम्बन्धलाई नेपालले उच्च प्राथमिकतामा राखेकाले चिनियाँ राष्ट्रपतिसँग नेपाल भ्रमणका लागि पुनः अनुराेध गर्ने कार्यक्रम छ ।
त्यसैगरी रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल श्रीसेना, दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोब जुमा, ब्राजिलका राष्ट्रपति मिसेल टेमर र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग द्विपक्षीय भेटघाट हुने कार्यक्रम छ ।प्रधानमन्त्रीको नेतृत्वमा रहने भ्रमण दलमा पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा महत, परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मालगायत छन् । प्रधानमन्त्री प्रचण्ड आगामी कात्तिक १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।