एजेन्सी – प्रविधि क्षेत्रका ‘आइकन’ स्टिभ जब्सले ४२ वर्षअघि स्थापना गरेको एप्पल १० खर्ब डलर मूल्य छुने संसारकै पहिलो सार्वजनिक कम्पनी बनेको छ ।
बैंक अफ अमेरिका, डिज्ने, टोयोटोलगायत धेरै ठूल्ठूला कम्पनी गाभ्दा पनि यो मूल्य बराबर हुँदैन । यसअघि सन् २००७ मा चीन, सांघाइको ऊर्जा कम्पनी पेट्रो चाइनालाई विश्वकै पहिलो १० खर्ब डलरको कम्पनी मानिएको थियो ।
तर उक्त कम्पनीले आफ्नो २ प्रतिशत सेयर सार्वजनिक बिक्री गरेकाले यो मूल्य विश्वसनीय मानिँदैन । छोटो समयमै यसको बजार भाउ घटेको थियो ।
त्यस्तै, साउदी अरबको राष्ट्रिय तेल कम्पनी साउदी अराम्कोको मूल्य २० खर्ब डलर हुनसक्ने अनुमान छ । हालसम्म यसले सार्वजनिक सेयर जारी गरिसकेको छैन ।
सार्वजनिक सेयर खरिद–बिक्रीबाट १० खर्ब डलर मूल्य छुने एप्पल नै पहिलो भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । स्टिभ जब्सले कम्प्युटर बनाउन आफ्ना इञ्जिनियर साथी स्टिभ वुजनेकसँग मिलेर सन् १९७६ मा यो कम्पनी स्थापना गरेका थिए ।
केही वर्षपछि जब्स आफैं निकालिए । त्यसपछि कम्पनी टाट उल्टिने संघारमा पुगेको थियो । त्यो बेला यसको प्रतिसेयर मूल्य एक डलरमा झरेको थियो । अहिले २०७ डलर नाघेको छ । यो कम्पनीले यति ठूलो आकार लिनुलाई अभूतपूर्व छलाङका रुपमा लिइएको छ ।
सन् १९९६ मा जब्सको फिर्तीपछि एप्पल नाफामा जान थालेको हो । त्यो वर्ष यसको बजार मूल्य ३ अर्ब डलर थियो । जब्सले कम्पनी विस्तार गर्दै ल्यापटप र कम्प्युटरसहित मोबाइल, आइप्याड, आइपड, टिभी, घडी लगायत उत्पादन गर्न थाले जुन अहिले पनि जारी छ ।
गत वर्ष मात्र एप्पलले २८ करोड वटा आइफोन, आइप्याड र म्याक बिक्री गर्यो । यसैले कम्पनीलाई १० खर्ब डलरको उचाइमा पुर्याएको हो ।