अन्तर्राष्ट्रिय खेलमा नेपालले ऐतिहासिक जित हात पारेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ ।
नेपाली टोलीले पाएको सफलताको प्रशंसा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न दलका शीर्ष नेता, कलाकार तथा समर्थकहरुले बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक संजाल ट्वीटरमार्फत नेपाली क्रिकेट टिमले नेदरल्याण्ड्समा अन्तराष्ट्रिय खेलमा हासिल गरेको जीतका लागि कप्तान पारस खडका र सम्पूर्ण खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेपाली खेलाडीको प्रशंसा गर्दै बधाई दिएका छन् । उनले पनि सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै नेदरल्याण्ड्सविरुद्ध नेपालले ऐतिहासिक जीत हासिल गर्न सफल भएबाट विश्व क्रिकेटमा समेत नेपालले गौरवपूर्ण इतिहास बनाउने आशा झनै बलियो भएको बताएका छन् ।
‘नेपाली क्रिकेट टीमको यो जीतका लागि कप्तान पारस खडकादेखि सम्पूर्ण टीम, प्रशिक्षक र विश्वभरीका नेपालीहरुमा हार्दिक बधाई तथा भविष्यमा अझै राम्रो खेलको आशासहित शुभकामना व्यक्त गर्दछु ।’ ट्वीटमा भनिएको छ ।
पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पनि बधाई दिँदै सबै क्षेत्रमा यसैगरी शीर उँचो हुँदै जाओस भन्ने कामना गरेका छन् । ‘एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको रोमान्चक जीतकालागि नेपाली टीमका सम्पूर्ण खेलाडीहरूलाई हार्दिक वधाई तथा धन्यवाद ! नेपालीको शीर सबै क्षेत्रमा यसरी नै उँचो हुदै जाओस्, समृद्ध र खुसी नेपाल अवस्य बन्छ !’ ।
दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलेको नेपालले नेदरल्यान्ड्सलाई उसकै घरेलु मैदानमा शुक्रबार एक रनले पराजित गर्दै इतिहास रच्न सफल भएको छ ।