जिल्लाको मंगला गाउँपालिका–१ कुहुँ मौलाथरका एक कृषकले परिक्षणको रुपमा लगाएको लहरा प्रजातिको ’किवी’ फलको खेती सफल भएको छ । बैदेशिक रोजगारको सिलसिलामा दुई दशक बहराइनमा विताएका रणबहादुर खत्रीले तीनबर्ष अगाडी लगाएको किबी फल सफल भएपछि विस्तार गरेका छन् ।
दुई चरणमा ३५ वटा विरुवा खरिद गरी घर आसपासको बारीमा लगाएका खत्रीले त्यसबाट १५ वटाले फल दिएको छ । चिसो हावापानीमा हुने लहरा प्रजातीको फल किवीको परिक्षण उत्पादनलाई खत्रीले कोसेलीको रुपमा दिएका थिए ।
‘यसबर्षको फल बजारमा जादैछ,‘ब्यवसायीक खेतीलाई थप विस्तारको योजना बनाएको छु’ खत्रीले बेनीअनलाइनलाई भने ।
घर आगनमा फलफुल, कुखुरा, बाख्रापालन, खेतबारीमा अलैची र केरा खेती गरेका खत्रीले किवी फललाई आफ्नो आम्दानीलाई थप बलियो बनाउने गरी विस्तार गरेका छन् । सबै ब्यवसायमा करिव २० लाख लगानी गरेका छन् । तीनबर्ष लगानी गरेका खत्रीले यसबर्ष देखी ब्यवसायीक रुपमै आम्दानी हुने खत्रीको भनाई छ । जिल्लाको पश्चिम क्षेत्रमा पहिलोपटक किवी खेती गरेका खत्रीले बजारमा अत्याधिक माग हुने स्टेवरी लगाएतका स्वादिलो र गुणकारी फललाई प्राथमिकता दिएको छन् ।
बाख्रापालन, कुखुरापालन र अलैची खेतीलाई प्राथमिकता दिएका खत्रीले किबी फल समेत अपेक्षा गरे अनुसार राम्रो भएपछि फलफुल र पशुपालनलाई संगसंगै लैजाने योजना बनाएका छन् । यता जिल्लाको बेनी नगरपालिका–९ तोरिपानी, अन्नपूर्ण गाउँपालिकाको राम्चे लगाएतका क्षेत्रमा अन्य अन्नबाली छोडेर किवी खेती विस्तार भइरहेको छ । एक हेक्टर जमिनमा करिव ४ सय विरुवा रोप्न मिल्छ । समुन्द्री सतहदेखी १ हजार देखी २ हजार ५ सय मिटरसम्मको उचाईमा केवि खेती विस्तार गर्न सकिन्छ । किबी फल बेनीबजारका डिपान्टमेन्ट स्टोरले पोखरा, काठमाण्डौबाट ल्याएर विक्री गर्ने गरेका छन् ।