भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारविरुद्ध तेलगु देशम पार्टी (टीडीपी)ले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल भइरहेको छ ।
बुधबार संसदको वर्षे सत्रको पहिलो दिन टिडिपीका सांसद केसीनेनी श्रीनिवासले मोदी सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
भारतको केन्द्रीय संसद लोकसभामा दर्ता भएको अविश्वासको प्रस्तावलाई कांग्रेस लगायत अन्य विपक्षी दलहरुले समर्थन गरेका थिए ।
अविश्वासको प्रस्तावमाथि भइरहेको छलफलमा कांग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री मोदीको कडा आलोचना गरे । आफ्नो भाषण सकेपछि भने गान्धी मोदिको सिटमा गए र उनीसँग अंकमाल गरे ।
यस्तो छ गणितीय हिसाब
नरेन्द्र मोदीको नेतृत्वमा रहेको एनडीए गठबन्धन सरकारसँग अविश्वास प्रस्तावलाई विफल बनाउन सक्छ कि सक्दैन भन्ने जिज्ञासा सबैलाई हुन सक्छ । त्यस्तै अविश्वास प्रस्तावले केन्द्र सरकालाई कुनै खतरा हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि धेरैको मनमा उठ्न सक्छ ।
हाल लोकसभामा कुल सिटको सङ्ख्या ५४३ छ तर त्यसमा ९ सिट खाली छ । यसको अर्थ लोकसभामा अहिले कुल ५३४ सांसद छन् । यस हिसाबले लोकसभामा सामान्य बहुमतको लागि २६८ सांसद आवश्यक पर्छन् ।
अहिले लोकसभामा भारतीय जनता पार्टी सबैभन्दा ठूलो पार्टी हो । भारतीय जनतापार्टीको साथमा अहिले २७२ सांसद र एक लोकसभा अध्यक्षसहित २७३ सङ्ख्या छ ।
त्यस्तै सत्तारुढ गठबन्धनका सहयोगी दलका गरी एनडिएसँग ३११ सांसद हुनेछन् । यसमा शिवसेनाका १८, एलजेपीका ६, अकाली दलका ४, आरएलएसपीका ३, जेडियुका २, अपना दलका २, एनआर कांग्रेसका १, र पिएमकेका एक र एनपीपीका १ सांसद छन् ।
यसरी हेर्दा सहयोगी दललाई छोड्दा पनि भाजपा एक्लैले सदनमा विश्वासको मत हासिल गर्न सक्छ । त्यसैले सरकारलाई अविश्वासको प्रस्तावले कुनै खतरा पुग्ने देखिँदैन ।
लोकसभाका प्रवक्ताका अनुसार अविश्वासको प्रस्तावमाथि छलफल सकिएपछि शुक्रबार ६ बजेदेखि भोटिङ सुरु हुनेछ ।
एजेन्सीको सहयोगमा