बागलुङ, १५ जेठ– लेकाली सामुदायिक वनको चाल्ने सिस्नो (अल्लो) प्रशोधन गरेर जिल्लाका महिलाले आयआर्जन गर्न थालेका छन् । उत्तरी पर्वतको जलजला–६ शालिजाका जसमाया पुनले शुरु गरेको अल्लो प्रशोधन उद्योगबाट मात्रै हिजोआज ५० महिलालाई जीविकोपार्जनमा सहयोग पुगेको छ । शुरुका दिनमा घरको काम छाडेर अल्लो खोज्न जंगल जाँदा जसमायालाई जिस्क्याउने महिला नै हिजोआज उद्यमी बनेका छन् । जसमायाका हाल क्याङ र सदरमुकाम कुश्मामा गरी दुई ठाउँ अल्लो प्रशोधन प्रशिक्षण केन्द्र छन् । कुश्मामा उनले प्रशोधन तथा कपडा उत्पादन उद्योग सञ्चालन गरेकी छिन् ।
उद्योगबाट उन आफूले मात्र आम्दानी गरेकी छैनन् अरू महिलालाई पनि उद्यममा आकर्षित गरिरहेकी छिन् । केही हजारबाट शुरु गरेको जसमायाको उद्योगमा अहिले करीब ४५ लाख लगानी पुगेको छ । उनले प्रशोधन र तालीम सञ्चालन गरेर मासिक रु ६० हजारसम्म आम्दानी गर्छिन् । विसं २०५७ मा उनले अल्लोको उपयोगिता बुझेर प्रशोधन शुरु गरेकी हुन् । त्यसबखत उनले एउटा हाते मेसिन किनेर धागो निकाल्ने र कपडा बुन्न शुरु गरेकी थिइन् । क्याङका धेरैजसो महिला अहिले अल्लो संकलन गरेर धागो निकाल्ने, प्रशोधन गर्ने र कपडा बुन्ने काममा व्यस्त छन् । वनमा उपयोगविहीन अल्लो संकलन गरेर राम्रो आम्दानी हुने थाहा पाएपछि क्याङका ५० महिला यो व्यवसायमा आवद्ध भएका हुन् । वनको चाल्ने सिस्नो खोजेर उनीहरू गाउँमै प्रशोधन गर्छन् । अल्लोका कपडा मात्रै हैन धागो बेचेर पनि राम्रो आम्दानी भएको उद्यमी बिना पुनले बताइन् । ‘कपडा तयार गर्नसके थोरै धागोबाट रामै आम्दानी हुन्छ,’ उनले भनिन्– ‘भ्याइएन भने धागो पनि बिक्छ ।’ तयारी कपडा प्रतिमिटर रु. सात सय सम्ममा बिक्री हुने गरेको छ ।
अल्लोको धागो स्थानीय बजारमा र कपडा तथा तयारी पोशाक पोखरा, काठमाडाँंै र विदेशमा समेत पठाउने गरिएको छ । ‘पहिले घरधन्दामै दिन बित्थ्यो,’ उद्यमी झकमायाले भनिन्, ‘अहिले घरको सबै काम सकेर पनि महिनाको १०–१२ हजार आम्दानी हुन्छ ।’ आफूजस्ता धेरै महिलाले फुर्सदको समय सदुपयोग गरेको उनले बताइन् । उनीहरूले स्थानीय खर्सुवास गैराखर्क, ठूलो टाउका र रेसापातल सामुदायिक वनमा अल्लो संकलन गर्छन् । विशेषगरी साउनदेखि मंसिरसम्म संकलन गरेको अल्लो फागुनदेखि असारसम्म प्रशोधन गर्ने गरिन्छ । जाडो र चिसो मौसममा सुकाउन समस्या हुने भएकाले पुस र माघमा कपडा बुन्ने गरिन्छ । फागुनदेखि जेठको अन्तिमसम्म लोक्ता निकाल्ने, पकाउने, पखाल्ने र सुकाउने काम हुन्छ । चरणबद्ध रूपबाट काम गर्दा वर्षभरिका कुनैपनि महिना खाली बस्न नपरेको उद्यमी महिला बताउँछन् । स्थानीय सामुदायिक वनहरूले निःशुल्क अल्लो संकलन गर्न दिएका छन् ।
महिला समूहमै मिलेर काम गर्छन् । वनमा अल्लो संकलन गर्ने, लोक्ता निकाल्ने, सुकाउने र पकाउने सबै काम मिलेर गर्ने गरेको उद्यमी जसमायाले बताइन । यसबाट वन पनि सफा भएको छ र महिलाको आम्दानी बढेको छ । उनीहरूलाई समय–समयमा जिल्ला लघुउद्यम विकास कार्यक्रम, घरेलु कार्यालय लगायत विभिन्न संघ संस्थाले तालीम र उपकरण प्रदान गरी सहयोग गर्ने गरेका छन् । जलजला गाउँपालिकाले शालिजा, लेकफाँट र बनौंको माथिल्लो भेगको जंगलमा पाइने अल्लोलाई स्थानीयवासीको जीविकोपार्जनसँग जोडेर त्यसको विस्तार गर्ने गरेको छ ।
Previous Articleअनुदान नपाउँदा बिउँ उत्पादक घटे
Next Article अवसर नदिई सामान फालियोः व्यवसायी