बागलुङ, १५ जेठ– लामो समयदेखि विदेशी विऊसँग प्रतिस्पर्धा गरेको बागलुङको जैमिनी क्षेत्रको ‘विऊ पकेट क्षेत्र’को पहिचान गुम्न थालेको छ । राज्यले वेवास्ता गर्दा लामो समयदेखि विऊ उत्पादन गरेका किसानहरु पलायन हुँदा ‘विऊको पकेट क्षेत्र’को पहिचानसँगै वर्षेनी लाखौं रुपियाँ गुम्न थालेको हो । विदेशबाट आयात हुने विभिन्न तरकारीका विऊसँग प्रतिस्पर्धा गर्दै वर्षेनी लाखौं रुपियाँ भित्राउदै आएका स्थानीय किसान विऊ उत्पादनबाट पलयान हुँदा अहिले नगन्य मात्रामा विऊ उत्पादन हुने गरेको स्थानीय अगुवा मोती पौडेलले बताउँछन् । किसानहरु विऊ उत्पादनबाट पलायन हुँदा यस वर्ष दुई टन मात्र मुलाको विऊ निर्यात गर्न सकिएको पौडेलले बताए ।
बजारमा करिब एक हजार रुपैयाँ केजी पर्ने मुलाको विऊलाई स्थानीय किसानले एक सय २० रुपैयाँमा व्यवसायीहरुलाई बिक्री गरेका थिए । ‘केही वर्ष अगाडिसम्म ११ टन मुलाको विऊ, ३ टन केराउको विऊ, काउली, रायोको साग, मकै, गहुँ लगायतका विऊ निर्यात गरेका थियौ, अहिले किसानहरु पलायन हुँदा नगन्य मात्रामा विऊ निर्यात हुने गरेको छ’ पौडेलले भने । किसानहरुले २०५२ सालमा जिल्ला कृषि विकास कार्यालयले ‘कोशी पहाडी तरकारी आयोजना’ र ‘बिऊ विजन प्रवद्र्धन कार्यक्रम’ले त्यस क्षेत्रको जग्गा विऊ उत्पादनका लागि अब्बल घोषणा गरेपछि किसानहरु व्यावसायीक रुपमै विऊविजन खेतीमा लागेका थिए । राज्यले कृषिका लागि ठूलो रकम लगानी गरेपनि विऊ उत्पादक किसानहरुका लागि अनुदान तथा अन्य कार्यक्रमहरु ल्याउन नसक्दा किसानहरु पलायन हुनु परेको अगुवा किसान पौडेलको भनाई छ । ‘कृषिमा धेरै अनुदान बाडिन्छ, फर्म दर्ता गरेका, अरुका उत्पादन देखाएर अनुदान पचाउनेको भीडमा वास्तविक किसानले अनुदान पाउन सकेनन्, त्यसैले किसानहरु पलायन भए’ पौडेलले भने ।
हरेक वर्ष विभिन्न प्रकार तरकारी तथा खाद्य बालीका २० टन भन्दा बढी विऊ निर्यात गर्ने गरेका यहाँका किसानहरुले यस वर्ष दुई–तीन टनमा मात्र सिमित हुनु परेको भन्दै स्थानीय किसानलाई लक्षित गरेर कार्यक्रम ल्याए विऊ उत्पादनका लािग आत्मनिर्भर मात्र नभई जिल्ला बाहिरपनि निर्यात गर्न सकिने स्थानीय किसानहरु बताउँछन् । ‘विऊ उत्पादनलाई नयाँ तरिकाले सोंच्नु आवश्यक छ, हिजो घरघरमा विऊ उत्पादन हुन्थ्यो, अहिले ति घर खाली हुँदै गए, अब खाली तथा बाझो रहेका जग्गाहरुमा व्यवसायिक रुपमा विऊ उत्पादन गर्नेलाई प्रोत्साहन गर्न सके जिल्लाले राम्रो आम्दानी गर्न सक्छ’ पौडेलले भने । कृषि क्षेत्रमा वितरण गर्ने अनुदानलाई उत्पादनका आधारमा दिने परिपाटी बनाउँने होभने पलायन हुने किसानहरु पुनः जागरुक हुन सक्ने किसानहरु बताउँछन् । ‘हिजो ‘कोशी पहाडी तरकारी आयोजना’ र ‘बिऊ विजन प्रवद्र्धन कार्यक्रम’ले किसानहरुलाई आवश्यक औजार तथा प्राविधिक सहयोग गर्दै आएको थियो, राज्यले यस क्षेत्रका युवालाई यही क्षेत्रमा काम लगाउने वातावरण बनाउँन सके कोही पैसा कमाउन बिदेश जानुपर्दैन’ अगुवा मोती पौडेलले भने– ‘सिंचाइको सुविधा, अत्याधिक विऊको माग भएकाले खरिदकर्ता पैसा बोकेर घरमै आउँछन्, सयौं युवाहरुलाई यहीं रोजगारी दिएर लाखौं कमाउँन सकिने ठाउँमा राज्यले ध्यान नदिंदा अहिले युवाहरु पलायन हुनु परेको छ’ पौडेलले भने ।
जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले समृद्ध जैमिनी, समृद्ध जैमिनीवासी अभियानमा नगरपालिका लागिरहेको बताए । स्थानीय सरकार गठन भएपछि वडागत रुपमा आ–आफ्ना तरिकाले कृषि उपजको व्यवसायीकरणका लागि बजेट विनियोजन गरिएका सुवेदीको भनाई छ । ‘हामीले आगामी वर्षको बजेटका लागि के कस्ता क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने बारेमा अध्ययन गरिरहेका छौं, चालु आवमा छुटेका, बजेट थप गर्नुपर्ने जस्ता क्षेत्रमा बजेट विनियोजन गछौं’ सुवेदीले भने ।
Previous Articleकाठेखोला गापाको एक वर्ष
Next Article अल्लोले पर्वतका महिलालाई उद्यमी बनाउँदै