अमर बहादुर थापा
आदरणिय काठेखोला गाउँपालिकाबासी आमाबुबा, दाजुभाई, दिदीबहिनीहरु, शिक्षित, सक्षम, समुन्नत, आत्मनिर्भरता र समृद्धितर्फ उन्मुख यस काठेखोला गाउँपालिकामा यहाँहरुले अमुल्य मत दिई मलाई निर्वाचित गराई पठाएको आज ठिक एक वर्ष पूगेको छ यस अवसरमा यहाँहरु सबैमा काठेखोला गाउँपालिकाको तर्फबाट र मेरो ब्यक्तिगत तर्फबाट हार्दिक अभिवादन ब्यक्त गर्दछु ।
सर्बप्रथम नयाँ नेपाल निर्माणको क्रममा बिभिन्न कालखण्डमा भएका नेपालको लोकतान्त्रिक आन्दोलनमा आफ्नो प्राण आहुति दिनुहुने ज्ञात अज्ञाात महान सहिदहरुप्रति उच्च सम्मान ब्यक्त गर्दै भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछु । साथै ती लोकतान्त्रिक जनआन्दोलनहरुमा घाईते हुनु भएका जनआन्दोलनका घाईते योद्धाहरुप्रति उत्तिकै सम्मान ब्यक्त गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
काठेखोला गाउँपालिकाको ऐतिहासिक प्रथम गाउँसभाद्धारा सम्वृद्ध काठेखोला गाउँपालिका निर्माणार्थ बिनियोजित योजना तथा कार्यक्रमहरुलाई समर्थन गर्दै ब्यापक जनताहरुको सक्रिय सहभागितामा उत्साहपूर्ण ढंगले ति योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्नुभएकोमा सम्पूर्ण काठेखोलाबासी जनताहरुप्रति हार्दिक आभार ब्यक्त गर्दछु । ति योजनाहरुमा आफु प्रत्यक्ष सहभागि भएर योजना तथा कार्यक्रमहरुमा काम गर्नुभएकोमा सम्पूर्ण योजना उपभोक्ता समितिका पदाधिकारी एवं सदस्यज्यूहरुलाई पनि हार्दिक धन्यबाद दिन चाहन्छु । साथै योजना सञ्चालनमा सहजीकरण गर्नुहुने काठेखोला गाउँपालिका सम्पूर्ण वडाका वडा अध्यक्ष ज्यूहरु, कार्यपालिकाका सदस्य ज्यूहरु, वडा सदस्य ज्यूहरुप्रति पनि उत्तिकै आभार एवम कृतज्ञता ब्यक्त गर्दछु । योजना सञ्चालन प्रक्रियामा हाम्रा कर्मचारी मित्रहरुले पुराउनु भएको सहयोगको उच्च मूल्याङ्कन गर्दै सम्पूर्ण कर्मचारी मित्रहरुप्रति पनि हार्दिक आभार एवम कृतज्ञता ब्यक्त गर्दछु । साथै काम सम्पन्न हुन बाँकी योजना तथा कार्यक्रमहरु पनि तिब्र गतिमा सञ्चालन एवम सम्पन्न गर्न यहाँहरु सबैमा हार्दिक अपिल गर्दछु ।
सिंगो मुलुक आर्थिक समृद्धि र सामाजिक रुपान्तरणसहित युगान्तकारी परिवर्तनको दिशामा उन्मुख बनिरहेको छ । विकास र परिवर्तनको स्वर्णिम लहरहरु एकपछि अर्को गर्दै झांगिदै गहिरहेका छन् । दैनिक जनजीवनका कामहरु सहज र सजिलो बन्दै गहिरहेका छन् । जनताको मलिन र निराश अनुहारमा थोरै भएपनि चमक थपिएको छ, र त्यही चमकरुपी अनुहारमा मुस्कुराउदै जनताहरु आफ्नो गाउँको विकासमा आज आफै खटिरहेका छन् । कोही मोटरबाटो खन्ने काममा ब्यस्त छन् । कोही खानेपानीको पाईप गाड्न
ब्यस्त छन् । कोही बिद्यालयको मर्मत सम्भार गर्न ब्यस्त छन् । कोही पर्यटनको पूर्वाधार निर्माणमा ब्यस्त देखिन्छन त कोही ब्यवसायिक खेती निर्माणका लागि आधार सिर्जना गर्नमा तल्लिन देखिन्छन । यसरी आज हरेक जनताहरु समाज विकासको कुनै न कुनै काममा आफ्नो प्रत्यक्ष सहभागिता जनाईरहेका छन्भने तिनै जनताको हामी स्थानिय सरकारका जनप्रतिनिधिहरु जनताको दैनिक जीवनका काम र समाज विकासको कार्यलाई अझै कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर दिनरात खटिरहेका छौ । यसरी समग्रमा हामी स्थानिय सरकार र जनताहरु एक साथ विकास र सामाजिक रुपान्तरणमा संगसंगै हातेमालो गरिरहेका छौ भन्दा त्यत्ति अत्युक्ति नहोला ।
जब हामी जनताद्धारा अनुमोदित भई स्थानिय सरकार बाघडोर सम्हाल्न देश र जनताको नाममा सपथ खाई काठेखोला गाउँपालिकाको कार्यालयमा छिर्यौ, जहाँ समस्यै समस्याहरुको चाङहरु थिए । जनताहरुको असिमित चाहानाहरु थिए । विकासका कैयौ आवश्यकताहरु थिए । कठिनाई र चुनौतिहरुका ठुला–ठुला पहाडहरु थिएभने कहिँकतै तिनै समस्या र चुनौतिका चाङहरुमा सम्भावनाहरु र सम्भाब्यताहरु पनि लुकेर बसेका थिए । हामी कत्ति पनि बिचलित नभई जनताको काम र विकासको गतिलाई निरन्तरता दिनको निमित्त लागी परिरहयौ । कुनै पनि गाउँ समाज, क्षेत्र र समुदायको सर्वाङ्गिण विकास हुन त्यहाँको भौगोलिक अवस्थिति, तथ्यगत विवरण, जनआकांक्षा र जनचाहाना बुझ्न नित्तान्त जरुरी हुन्छ । हामी सोही कुरालाई ध्यानमा राखी काठेखोला गाउँपालिकाको दिगो विकास सम्बन्धी बिस बर्षे रणनैतिक गुरुयोजना निर्माणको प्रक्रियालाई अगाडि बढाउन आवश्यकता ठानी गुरुयोजना निर्माण प्रक्रियालाई सञ्चालन गरेका छौ । गाउँपालिका भित्रका राजनैतिक पार्टीका प्रमुखहरु, शिक्षा क्षेत्रका शैक्षिक ब्यक्तित्वहरु र अन्य सरोकारवालाहरु सहित स्थानिय जनप्रतिनिधिहरुको बीचमा छलफल तथा अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न भईसकेका छन्भने अब प्रत्येक जनताको घरदैलो र बस्ती–बस्तीमा पुगेर तथ्याङ्क लिन र उहाँहरुको चाहाना, इच्क्षा र आकांक्षाहरु संकलन गर्न हाम्रा प्रतिनिधिलाई खटाईसकिएको जानकारी गराउन चाहन्छु । प्रत्येक वडाहरुमा त्यहाँको स्थानिय सामाजिक एवम बिकासप्रेमी ब्यक्तित्वहरुको प्रत्यक्ष संग्लग्नतामा बृहत भेला गरि बिस बर्षे गुरुयोजना निर्माणका लागि थप राय सल्लाह, सुझाव एवम अवधारणा लिने कार्यक्रम पनि तय गरिसकिएको कुरा अवगत गराउन चाहन्छु । बिबिध बिषयमा राम्रो दख्खल राख्न्हुने नेपालकै अनुभवी एवम विबिध क्षेत्रका बिशेषज्ञ ब्यक्तित्वहरुद्धारा सहजीकरण गरिने उक्त बिस बर्षे दिगो विकास गुरुयोजना निर्माण कार्य निकै प्रभावकारी हुने आशा गरेको छु । उक्त कार्यमा प्रत्यक्ष सहभागि भई आफ्नो सल्लाह सुझावसहित धारणा राखी सहयोग गरिदिनु हुन पनि यसै कार्यक्रममार्फत सबैमा आब्हान गर्न चाहन्छु ।
हामी संघिय संरचनाको नयाँ अभ्यासमा छौ । योजना तथा कार्यक्रमका प्रक्रियाहरु नयाँ र केही फरक हुन’ स्वभाविक नै हो । त्यसैले योजनाहरुलाई कसरी प्रभावकारी ढंगले कार्यन्वयन गर्ने, योजना सञ्चालन प्रक्रियमा आई पर्ने बिबिध कठिनाईहरुलाई कसरी सहजीकरण गर्ने र योजना उपभोक्ता समितिका पदाधिकारीहरुको क्षमता एवम नेतृत्व विकासलाई कसरी बृद्धि गर्ने भन्ने अभिप्रायले काठेखोला गाउँपालिकाद्धारा प्रत्येक वाडहरुमा पुगी दुई दिने क्षमता विकास सम्बन्धी अभिमुखिकरण तालिम सञ्चालन गरि ६५ जना उपभोक्ता समितिका पदाधिकारी प्रत्यक्ष लाभान्वीत भएका छन्भने यस गाउँपालिकाका ८ वटै वडाका २४ जना महिलाहरुलाई कानुनी साक्षरता र उनीहरुको हक अधिकार, सशक्तिकरण गर्नुका साथै गाउँपालिका स्तरीय महिला संजला समेत गठन गरिएको छ । साथै हाम्रा योजनाहरु समयमै सम्पन्न गर्न थप सजिलो होस भन्ने हेतुले चार जना प्राबिधिकहरु नियुक्ती गरि योजनाको कामलाई तिव्र गतिमा अगाडि बढाइएको छ ।
लामो समयको रिक्तता पश्चात हामी काठेखोला गाउँपालिकामा जनप्रतिनीधिको रुपमा आइरहदा हामीले पहिलो बैठकबाट निर्णय गरेका थियौ कि, यस गाउँपालिकामा वितरण गरिने सामाजिक सुरक्षा भक्ता जनताको घर–घरमा लगेर वितरण गर्ने, विद्युतका काठका पोलहरु विस्थापीत गरि फलामे पोल राख्ने, गरिव, दलित तथा विपन्न परिवारलाई स्वास्थ्य बिमा जस्ता महत्वकांक्षी निर्णय गरेका थियौ । आज १ वर्षको अन्तरालमा हामीले गरेको कामको समिक्षा गर्ने होभने सहि मार्गमा रहेको हामी पाउँदछौ । काठेखोला गाउँपालिकाको सबै वाडहरुमा रहेको मोटरबाटोको तत्कालिन समस्यालाई ध्यानमा राखी हरेक वडा स्तरिय सडकको नाराका साथ यस गाउँपालिकाद्धारा पहिलो प्राथमिकताको सूचीमा राखी बिनियोजन भएको सडक निर्माण तथा मर्मत सुधार योजनालाई जनताले चाहेको, रोजेको, खोजेको, रुचाईएको र जनअपेक्षित योजनाको रुपमा लिईएको छ । त्यसैले त जनताको ब्यापक सहभागिता र जनसमर्थनमा काम तिब्र गतिमा अघि बढेको छ । जम्मा ९६ वटाको संख्यामा सडक निर्माण तथा स्तरोन्नतिको शिर्षकमा योजना बिनियोजन भएकोमा ८७ वटा योजनाहरु सम्पन्न भइसकेका छन्भने ९ वटा सडक योजनाहरु सम्झौता भई कार्यन्वयनका प्रक्रियामा रहेका छन् । सामाजिक तथा आर्थिक विकासमा निक्कै महत्वपुर्ण भूमिका राख्ने सडक निर्माण प्रक्रियाको सम्पन्नसंगै यातायातमा धेरै सहज बनाउनका लागि डुडिया, पदलाघाट र जिरेदिमा तत्काल हिमपाईपको प्रयोग गरि वडा नं. ३ धम्जा, वडा नं. ४ तंग्राम र वडा नं ७ रेशमामा बाहै्र महिना यातयात संचालन गर्ने प्रकृया अगाडि बढाईएको छ । कुनै पनि राष्ट्र वा गाउँ समाजको सर्वाङ्गिण विकासको पहिलो सर्त त्यस राष्ट्र वा गाउँको शैक्षिक आधार नै मुख्य सर्त हुन आउँछ । जबसम्म हामी शिक्षित र सचेत हुन सक्दैनौ तबसम्म हामीले जति विकास र परिवर्तनका योजनाहरु ल्याए पनि सभ्य र विकसित समाज निर्माण गर्न सक्दैनौ । त्यसैले शैक्षिक विकास हाम्रो प्राथमिकताको सूचीमा रहेको छ । आम जनताहरुको चासो, आवस्यकता र सरोकारको बिषय रहेको शैक्षिक विकासका योजनाहरु निकै प्रभावकारी ढंगले कार्यन्वयन हुनु यसको ज्वलन्त उदारहण हो । काठेखोला गाउँपालिकाको शैक्षिक अवस्थालाई ध्यानमा राखी बिभिन्न समयमा बिभिन्न बिद्यालयका प्रधानाध्यापक तथा अन्य सरोकारवाला एवम् शैक्षिक ब्यक्तित्वहरुसंग नियमिति अन्तरक्रिया तथा छलफल कार्यक्रमहरु सञ्चालन गर्दै गुणस्तरिय शिक्षा प्रदानमा निक्कै महत्वका साथ ध्यान पुराइएको छ । बिभिन्न बिद्यालयहरुमा हुने बिद्यालय स्तरिय सभा गोष्ठी लगायतका शैक्षिक कार्यक्रमहरुमा प्रत्यक्ष सहभागि भई बिद्यालयको अवस्था बुझ्ने र राय सल्लाह लिने दिने काममा पनि उत्तिकै ध्यान पुराईएको छभने लामो समय सम्मको छलफल, शैक्षिक ब्यक्तित्वहरुबाट लिइएको सुझाव र गाउँपालिकाको शैक्षिक अवधारणा पश्चात काठेखोला गाउँपालिकाको शिक्षा नीति पारित हुने अन्तिम चरणमा पूगेको छभने यस शैक्षिक शत्रको सुरुमै विद्यार्थीहरुलाई भर्ना गर्न बिद्यार्थी भर्ना अभियान अभियानकै रुपमा ५६ वटै विद्यालयमा संचालन गरिएको थियो । यस गाउँपालिकामा रहेका ५६ विद्यालयहरुमध्ये १० माध्यमिक विद्यालयमा तत्काल ई–हाजीरि राख्ने व्यवस्था गरिएको छ । सबै बर्ग क्षेत्र र समुदायको नागरिकहरुलाई आधारभूत तथा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न गराउन जोडतोडका साथ लागि परिरहेका छौ । नेपाल सरकारद्धारा निशुल्क रुपमा बितरण गरिने औषधिलाई प्राप्त मात्रामा बितरण गर्न आवस्यक प्रक्रियाहरु अगाडि बढाएका छौ । कुनै पनि बालबालिकाहरु खोप लाउनबाट बन्चित हुन नपरोस भन्दै पूर्ण खोप सुनिस्चितताको लागि पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छभने नेपाल सरकारले लिएको लक्ष्य अनुसार सन् २०३० सम्म नेपाललाई पूर्ण सरफाईयुक्त नेपाल घोषणा गर्ने क्रममा काठेखोला गाउँपालिकालाई सन् २०१९ भित्र पूर्ण सरसफाईयुक्त गाउँपालिका घोषणा गर्नका लागि आम जनसमुदायहरुलाई सोहि अनुसार लाग्नका लागि आव्हान गर्दछु । जलबायु परिवर्तनको असरसंगै गाउँघरमा रहेका खानेपानीका मुलहरु बिस्तारै सुक्दै गईरहेको अवस्थामा प्रत्येक वडाहरुमा रहेका खानेपानीका श्रोतहरुलाई संरक्षण गर्ने, परम्परागत खेती प्रणालीमा आएको परिर्वतनमा अनुकुलीत हुने खालका काममा पनि उत्तिकै ध्यान दिनुका साथै यस गाउँपालिकाको स्रोत र साधनलाई उपयोग गर्ने नजिकका उपभोक्ताहरुसंग पर्यावरर्णीय भुत्तानीका अवसरहरुमा हाम्रो पहुँच पुराउनुका साथै यसलाई संस्थागत गर्नमा ध्यान पुराईएको छभने एकिकृत खानेपानी योजना सञ्चालन गरि एक घर एक धाराको अभियान पनि अभ्यासको रुपमा काठेखोला गाउँपालिका वडा नं. ६ बिहुँमा ११५ धारा जडान र वडा नं. १ पालामा उक्त कार्यक्रम सञ्चालन गरिएको छ ।
काठेखोला गाउँपालिकाका जनताहरुलाई ब्यवसायिक खेतीप्रति आकर्षित गर्दै सिंगो गाउँपालिकाको पहिचान स्वरुप काठेखोला गाउँपालिकाको वडा नं. ६ बिहुँमा सुन्तला खेतीको पकेट क्षेत्र बिस्तारको कार्यलाई उत्तिकै चासोका साथ अगाडि बढाईको छभने पूर्वाधार निमार्णमा वडा नं ६ मा १३, वडा नं. १, २, ५ र ७ मा १÷१ वटा क्लस्टरमा बगैचामा भएका अन्य प्रजातीका रुख हटाउने कामहरु युद्ध स्तरमा संचालनमा रहेको छ । दलित तथा बिपन्न बर्गहरुको आर्थिक अवस्थालाई ध्यानमा राखी काठेखोला गाउँपालिकाको वडा नं.७ रेशमा रहेका सम्पूर्ण खरको छानो भएका घरहरुलाई बिस्थापित गर्दै ति सबै घरहरुमा जस्ता पातायुक्त घर निर्माण गर्न लागेको समेत अवगत गराउन चाहन्छु । पर्यटनको प्रर्वद्धन र विकासमा पनि उत्तिकै ध्यान दिँदै काठेखोला गाउँपालिका वडा नं. ४ तंग्रामको बसन्ताप, सामुदायिक अतिथि गृह, वडा नं. ७ रेशको मदन भण्डारी स्मृति पार्क लगायतका प्रर्यटकिय ठाउँहरुमा पर्यटन प्रवद्र्धनका कामहरु सूचारु भइरहेको कुरा यहाँहरु समक्ष अवगत गराउदछु भने अन्य केही सम्भावनाहरु बोकेका घोडाबाँडे, रामकोट, शिवालय मन्दिर, लक्ष्मीनाराण मन्दिर, मोथेको धुरी, धम्जा देउराली, तिनचुले लगायतका पर्यटकिय क्षेत्रहरुको अध्ययन तथा निरिक्षण गर्ने कामहरु पनि भईरहेको कुरा जानकारी गराउदै वडा नं. ३ धम्जाको ओखले, वडा नं. ४ तंग्रामको फापरखेत र वडा नं. ७ रेशको बौरमा होमस्टेको विकास गर्नका लागि प्रदेश सभामा सिफारिस गरिएको छ । काठेखोला गाउँपालिका भित्र रहेका विद्युतका काठका पोलहरुलाई विस्थापित गरि फलामका पोलहरु राख्नका लागि प्रत्येक वडाहरुमा दु्रतगतिमा काम अगाडि बढाएको जानाकारी गराउदछु । काठेखोला गाउँपालिका भित्रको खेलकुद क्षेत्रलाई अझै थप प्रर्वद्धन गर्दै खेलकुद मैदान निर्माण, खेल सामाग्रीहरुको ब्यवस्थापन र बिबिध प्रतियोगितात्मक कार्यक्रमलाई आर्थिक सहयोग जस्ता कार्यहरु गरि खेलाडिहरुप्रति थप हौशला र उत्प्रेरणा जगाउँदै आएका छौ । काठेखोला गाउँपालिका वडा नं. ५ बिहुँमा सम्पन्न प्रदेश नं. ४ स्तरिय कराते प्रतियोगिता सञ्चालनमा यस गाउँपालिकाबाट आर्थिक, भौतिक एवम नैतिक सहयोग गरि खेलकुद क्षेत्रको विकासलाई थप उचाईमा पुराउन महत्वपूर्ण भूमिका खेलिएको छ । त्यसैगरि बागलुङ महोत्सवको अवसरमा भएको पश्चिमाञ्चल स्तरिय भलिबल प्रतियोगितामा यस गाउँपालिका भित्रका खेलाडिहरुलाई सहभागि गराईएको कुरा पनि यहाँहरु समक्ष अवगत गराउन चाहन्छु । मानव जीवनमा आईपर्ने प्रकोप लगायत बिपद ब्यवस्थापनलाई सहजीकरण गर्न सामान्य भएपनि राहत उपलब्ध गराउदै आईरहेको र आगामी दिनमा यस कार्यलाई व्यवस्थित बनाउनका लागि कार्यविधी तयार गरि सोहि अनुसार कार्यान्वय गरिने तयारीमा रहेको छ । राज्यको मुलधार र विकासको मुल प्रवाहबाट पछाडि परेका र पारिएका समावेशी बर्गको उत्थानमा जोड दिदै शसक्तिकरण तथा आय आर्जनका कार्यक्रमहरु पनि तिब्र गतिमा सञ्चालन गरिएको छ ।
Previous Articleपाँच दिने पत्रकारीता तालिम सुरु
Next Article अनुदान नपाउँदा बिउँ उत्पादक घटे