स्थानिय तहको निर्वाचन भएको एक बर्ष समय बितेको छ । बागलुङ नगरपालिका जिल्लाका अन्य नगरपालिकाको तुलनामा स्रोत साधनका हिसाबले अलिक मजबुद नगरपालिकाको रुपमा चिनिने गरेको छ । जिल्लाको पुरानो नगरपालिका भएपनि राज्यको पुनःसंरचनासँगै केही गाविस र पुराना वडालाई समेत गाँभी हालका वडाहरु ठुला र फराकिला बनाईएको छ । नगरपालिकाको बिभिन्न वडाका वडा अध्यक्षमध्ये पहिले पनि काम गरेको र लामो समय राजनीतिमा होमीएका हिसाबले पाका वडा अध्यक्ष हुन् बानपा–४ का अध्यक्ष ध्रुव बहादुर केसी । एक बर्षअघिको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको रुपमा निर्वाचित भएका केसीसँग सहकर्मी तारानाथ आचार्यले गरेको छोटो कुराकानी ।
वडा अध्यक्षको रुपमा काम गर्न कत्तिको सहज हुँदो रहेछ ?
–म विगतमा पनि जनप्रतिनिधि भएर काम गरेको मान्छे हुँ । साविकको वडा नं. ११ को तत्कालिन वडा अध्यक्ष भएर काम गरेकाले राजनीतिक हिसाबले काम गर्न कठिन छैन् । तर पहिले र अहिलेको अवस्था आकाश–पातलको फरक छ । पहिले भौगोलिक हिसाबले पनि सानो क्षेत्र थियो, काम गर्न सहज थियो । समयको माग पनि सीमित थियो तर अहिले त्यो अवस्था छैन् । पहिले कर्मचारीले पुर्ण रुपमा सहयोग गर्थे, अहिले कर्मचारी बीचको केही बर्ष एक्लै स्थानिय सत्ता चलाएको ढंगबाट नै अहिले पनि चलाउन खोज्ने, निर्वाचित जनप्रतिनिधिका कुरा नसुन्ने र आफ्नै पारामा चलाउन खोज्दा समस्या छ । अर्को कुरा जनप्रतिनिधि र कर्मचारीतन्त्रको बीचमा समन्वय हुँन नसक्दा समस्या पैदा भैरहेको छ ।
वडा अध्यक्ष भएपछि जनताले महशुस गर्ने गरी के–के काम गर्नुभयो ?
–मैले आफ्नो कामको आँफै मुल्याङ्कन गर्ने कुरा आएन । यो त वडा भित्रका आम जनताले मुल्याङ्कन गर्ने कुरा हो । म आँफैले भन्नु पर्दा यो एक बर्षको समयमा धेरै कामहरु भएका छन् । निकै कठिन र अप्ठ्यरा कामहरु पनि गरियो भन्ने लागेको छ । विद्यालयहरुको शिक्षामा सुधारका लागि मासिक बैठक बसाल्ने र भए गरेका काम तथा भावी योजनाका बिषयमा छलफल गर्ने वातावरण बनाएका छौं । हाम्रै वडामा बसपार्क निर्माणको काम अगाडि बढेको छ । लगानी बोर्डसँग ऋण सम्भौता भएर बसपार्क निर्माणका लागि आवश्यक टेण्डर प्रक्रिया अगाडि बढेको छ । हामीले तिन वटा महत्वपुर्ण सडकको काम गरेका छौं । कुँडुले–छाप, कुँडुले–लोकमार्ग र कुँडुले–पञ्चकोट सडकको स्तरोन्नती हामीले गरेका छांैं । धार्मिक हिसाबले मठमन्दिरको मर्मत सम्भार तथा निर्माणका काम भएका छन् । ओडारचौर खेल मैदानको निर्माण, चौरी खेल मैदानको निर्माण र श्रीनगर टोलदेखी उपल्लाचौर सम्मको बाटो ढलानको काम पनि यो एक बर्ष समयावधीमा भएका छन् । पाखाथरमा खानेपानीको समस्या समाधान, निरयेमा धार्मिक क्षेत्र विकास, वडारचौर–ढोडेनीमा पक्कि पुल निर्माण र बसपार्क क्षेत्रको विकासका लागि ४० लाख वजेट बिनियोजन गरेर कामको थालनी पनि भएको छ ।
वडा कार्यालय नियमित नखुल्ने र सचिव नभेटिने समस्या छ भन्छन नि ?
–अहिले त्यो समस्या छैन । म जुनसुकै हालतमा जस्तो काम भएको भएपनि दिनमा एकपटक वडा कार्यालय पुग्ने गरेको छु । कर्मचारी पनि पछिल्लो समय नायब सुव्बा साप आउनु भएको छ । वडा सचिवको रुपमा उहाँ आए यता वडा कार्यालयमा कर्मचारी नहुने जनताले सेवा नपाउने समस्या समाधान भएको छ ।
हजुरको क्षेत्रको विकासका लागि नगरपरिषदबाट के–के योजनाहरु अगाडि सार्नु भएको छ र हालसम्म के–के गर्नु भयो त ?
–हामीले वडाको विकासको लागि तयार भएका ६१ वटा योजना नगर परिषदमा लिएर गएका थियौं । सबै योजना पारित भएर बजेट आउने कुरा भएन । प्राथमिकताका आधारमा योजनामा बजेट बिनियोजन भएका छन् । सोही अनुसार काम पनि भएका छन् । भएका कामको बिषयमा त मैले पहिले पनि चर्चा गरेँ तर हामीले परिषदमा लगेर पनि बजेटको अभावमा हुन नसकेका योजना भनेका निरयको १८ रोपनी जमिनमा शैक्षिक हब बनाउने योजना हो । अर्को गौरीधामदेखी पर्वतको जलजला गाउँपालिका जोड्ने लामो पुल र भेडीचौरदेखी म्याग्दीको रत्नेचौर जोड्ने लामो पुल बनाउने योजना हुन् । व्यवसायको व्यवस्थापन, एकिकृत आवास एरिया बनाउने काम गर्न योजना बनाएको भएपनि बजेटको अभावले त्यो काम गर्न सकिएको छैन् । नगरपालिकामा अत्यावस्यक कामहरु धेरै र बजेटको सिलिङ निकै कम रहेकाले चाहेर पनि कतिपय कामहरु भएका छनैन् ।
तपाईको वडाका सडक कच्ची छन्, कहिलेसम्म पक्की बनाउनु हुन्छ ?
–हो, हाम्रो वडामा पनि कच्चि सडकहरु छन् । यि सडकलाई पिच हैन ढलान गर्ने मनसायमा म छु । पिच भनेको प्लाष्टिक रहेछ, कुन बेला च्यातिन्छ अथवा उप्केर जान्छ थाहै नहुने । त्यसैले मैले नमुनाको रुपमा मेरो वडाका सडकलाई ढलान गर्ने योजना बनाएको छु । सबै त भन्न नसकिएका बाँकी चार बर्षमा ६० प्रतिशत सडक ढलान गर्ने योजना मैले बनाएको छु ।
आफ्नो कार्यकालमा हजुरको वडालाई कस्तो बनाउने योजना हुनेछ ?
–पहिलो त खानेपानीमा ‘एक घर एक धारायुक्त वडा’को रुपमा विकास गर्ने छु । व्यवस्थित बसोबास सहितको वडाका रुपमा परिचय बनाउने र आवास क्षेत्रको विकास गरेर बसोवासलाई व्यवस्थित गर्ने मेरो योजना छ । वडा भित्रका सडक जुनसुकै हालतमा मापदण्ड अनुसारका बनाईने छन् । मैले जथाभावी हँचुवाका भरमा सडक खन्न दिन्न । यहिँ कारणले केही वडाबासी मसँग रिसाउनु भएको छ । जथाभावी सडक खन्ने र घर बनाउने गर्दा सडकमा मापदण्ड नपुग्ने, बिजुली, पानी जस्ता अत्यावस्यक चिजहरु उपलव्ध गराउन कठिन हुने भएकाले मैले बाटो खन्न सबै कुराको सहजता हेरेर मापदण्ड पुरा गरेर मात्रै बाटो खन्ने ब्यबस्था गर्छु । स्वास्थ्य क्षेत्रमा समस्या छैन । सामाजिक सुरक्षा भत्ता वडाबाट बितरण गर्ने व्यवस्था गर्ने छु । जनताको जिउधनको सुरक्षामा हामी प्रतिबद्ध रहने छौं, भ्रष्टाचारको नियन्त्रणका लागि सबैखाले शक्ति प्रयोग गरेर सुशासनयुक्त वडा बनाईने छ । टेण्डरमार्फत हुने सबै कामलाई उपभोक्ता समितीमार्फत काम गर्ने वातावरण मिलाउने र सम्भावित अनियमितता कम गर्दै जवाफदेहीताको वातावरण सिर्जना गर्ने योजना छ ।
अन्त्यमा यस अनलाईनमार्फत केही भन्नु छ कि ?
–हामीलाई आफ्नो विचार राख्ने र वडामा भए गरेका कामको बिषयमा आम वडाबासीलाई जानकारी गराउने अवसर दिनुभएकोमा यहाँहरुलाई धन्यवाद । हामीबाट कहीं कतै कमजोरीहरु भएभने खबरदारी गर्ने क्षेत्रमा यहाँहरु हुनुहुन्छ । रचनात्मक खबरदारीको हामी सधैं प्रतिक्षामा रहँने छौं । अवसरका लागि तपाईं र तपाईको सञ्चारमाध्यामलाई धन्यवाद ।