बागलुङ, १३ जेठ– बागलुङ नगरपालिका–१३ पैयुँपाटा बास्कोटमा रहेको जनमत माविमा शुक्रबार एक कार्यक्रमका बीच पुस्तकालयको एवं फिक्सिङ सामाग्री व्यवस्थापनको उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई बागलुङका शाखा अधिकृत सरितादेवी शर्माले अहिलेको परिवेशमा विद्यार्थीलाई शिक्षण सिकाई क्रियाकलाप प्रविधिको माध्यमबाट सिकाउन जरुरी रहेको बताईन । उनले शिक्षक, विद्यार्थीको चौतर्फी विकासका लागि पुस्तकालयको अति आवश्यक रहेको भन्दै शिक्षक जिम्मेवारी र विद्यार्थी मेहेनती भए शिक्षामा धेरै फड्को मार्ने विश्वास व्यक्त गरिन् । शर्माले बालबालिकाको रुची र चाहनाअनुसार शिक्षण सिकाई गर्न आग्रह समेत गरिन् । तत्कालिन जिल्ला शिक्षा कार्यालय बागलुङको ६ लाख ५० हजार आर्थिक सहयोगमा विद्यालयमा पुस्तकालयको स्थापना गरिएको हो । सो रकमबाट केही पुस्तक र अन्य व्यवस्थापनका लागि आवश्यक सामाग्री खरिद गरिएको विद्यालयले जनाएको छ । पुस्तकालयमा विभिन्न विधाका १ हजारभन्दा बढी पुस्तकहरु रहेका विद्यालयका प्रधानाध्यापक परशुराम रिजालले बताए । विद्यालयमा ई–लाईब्रेरी संचालनका लागि आवश्यक मल्टी मिडिया र अन्य सामाग्री पनि व्यवस्थापन गरिएको छ । विद्यालयको शैक्षिक उन्नती र पुस्तकालय व्यवस्थापनका लागि विभिन्न निकायको सहयोगको अपेक्षा गरेको विद्यालयले जनाएको छ । कार्यक्रममा जनता–धन श्रोत केन्द्रका श्रोतव्यक्ति लक्ष्मीकान्त पौडेल, बानपा १३ का वडा सदस्य एकनाथ रेग्मी, शिक्षक अभिभावक संघका अध्यक्ष सावित्रा रिजाल लगायतले विद्यालयको शैक्षिक सुधारका लागि सबै तहको सहयोग आवश्यक रहेको बताएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरप्रसाद रिजालको अध्यक्षता, विद्यालयका शिक्षक दुर्गा रिजाल र विद्यार्थी श्रीराम लामिछानेको स्वागत र शिक्षक ठाकुर पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleमालपोत शाखा बुर्तिबाङमा कम्प्युटरबाट लालपुर्जा
Next Article सुशासनयुक्त वडा बनाउने योजना (अन्तरवार्ता)