बागलुङ, ९ जेठ–नगदमा कारोवार गर्दा समस्या परेको भन्दै भारतीय सेनाका निवृत्तहरुलाई बैंक खातामा रकम जम्मा गरिदिने व्यवस्था शुरु भएको छ । तर उक्त कार्यले कतिपयलाई झन् सास्ती भएको गुनासो बढेको छ । सदरमुकाममा मात्र शाखा भएका बैंकमा खाता खोल्न पाइने र गाउँका मानिस पैसा झिक्न पटक–पटक सदरमुकाम आउने समस्या भएको गलकोट नगरपालिका–६ हरिचौरका ८१ बर्षिय टेकबहादुर खत्रीले गुनासो गरे । उनी बर्षको दुई पटक पेन्सन बुझ्नका लागि आउने गर्थे, तर यो व्यवस्थाबाट पनि एक पटक पेन्सन क्याम्पमा जानुपर्ने र एक पटकमा १ लाख रुपैयाँ मात्र झिक्न पाउने प्रावधानले पटक–पटक धाउनुपर्नेमा पुगेको गुनासो गरेका हुन् । बोर्डले भारतीय बैंकसँग कारोवार भएका एसबिआई र एभरेष्ट बैंकमा मात्र खाता खोल्ने सुविधा दिएको छ ।
ग्रामीण क्षेत्रमा ती बैंकका शाखा छैनन् । दुवै बैंकका शाखा सदरमुकाममा मात्र छन् । बागलुङको ग्रामीण क्षेत्रबाट सदरमुकाम आउन दुई दिनसम्म लाग्छ । हरेक महिनाको पेन्सनका लागि नियमित आउनुपर्ने प्रावधान बनेपछि खत्री लगायतका पेन्सनपट्टा भएकाहरु निरास छन् । नियमित सदरमुकाम आउन साथी चाहिने, सदरमुकाम आउजाउ गर्न हजारौं खर्च हुने समस्याले झन् सास्ती हुने उनीहरु गुनासो गर्दै थिए । ३९ बर्षदेखि खत्रीले सदरमुकाम आएर बर्षको दुइपटक पेन्सन बुझ्ने गरिरहेकोमा अब व्यवस्था फेरिंदा उनी अलमलमा परेका हुन् । आउजाउ गर्न समस्या भएपनि बर्षको दुइपटक सदरमुकाम आउँदा उनले घरको खर्च जुटाउर फर्कने गरेका थिए । छोराबुहारी सबै जापानमा गएकोले खत्रीका बुढाबुढीले पेन्सनबाटै जीवन चलाएका छन् ।
जैमिनी नगरपालिकास्थित राङखानीका ७० बर्षिय गंगाबहादुर रानाको पनि यस्तै समस्या छ । २९ बर्षदेखि पेन्सन खाएका रानाले बैंकमा जम्मा गर्ने निहुँमा दुःख दिने काम भएको टिप्पणी गरेका छन् । बोर्डले भने पेन्सन बितरणको समयमा धेरै खर्च लाग्ने, बुढाबुढीको पैसा ठगिने वा चोरिने समस्या हुने गरेकोले यो व्यवस्था गरेको बताएको छ । केही समयअघि भारतीय सेनाका समाज कल्याण प्रमुख बागलुङ आएर बैंकबाट पेन्सन बितरण गर्ने बताएका थिए । उक्त निर्णयसंगै अहिले पेन्सन बितरण र खाता खोल्ने काम भैरहेको छ । बोर्डमा दर्ता भएर पेन्सन थाप्ने धौलागिरी अञ्चलका ७ हजारभन्दा धेरै निवृत्तहरु बर्षको दुईपटक बागलुङ आउने गर्थे ।
क्षेत्रगत आधारमा १२ दिनसम्म लगाएर पेन्सन वितरण गरिने जिल्ला सैनिक बोर्डले जनायो । पेन्सन बितरणको समयमा निवृत्त सैनिक र उनीहरुका आफन्त समेत गरी हजारौंको उपस्थितिले बागलुङमा मेला समेत लाग्ने गरेको छ । क्याम्पमा ३५ करोडको दरले बर्षमा ७० करोड रुपैयाँ बढी रकमको पेन्सन वितरण हुने गरेको छ ।