बागलुङ, ९ जेठ– प्रगती बहुद्देश्यीय सहकारी संस्थाले १२ औं स्थापना दिवसको अवसरमा मंगलबार आफ्ना शेयर सदस्यको घरमा रहेका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ७५ बर्ष उमेर पार गरेका सहकारीका शेयर सदस्य तथा शेयर सदस्यका बाबुआमा, सासुससुरालाई सहकारीले बर्षेनि स्थापना दिवसको अवसरमा सम्मान गर्दै आएको छ । यो बर्ष ७५ बर्ष उमेर पुगेका ९ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको अध्यक्ष कृष्ण प्रसाद पौडेल (कुमार) ले जानकारी दिए ।
उनीहरुलाई एक समारोहका बीच प्रदेश सभा सांसद साबित्रा रानाले दोसल्ला प्रमाणपत्र र नगद एक हजार रुपैयाँ दिएर सम्मान गरेकी थिइन् । सहकारीले ७५ बर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई पहिलो बर्ष सम्मान गर्ने र दोस्रो बर्षदेखि पेन्सन दिने व्यवस्था गरेको छ । गत बर्षसम्म ७५ बर्ष उमेर पार गरेका ७० जना र यस बर्ष ९ जना गरी ७९ जनालाई सम्मान गरिसकेको छ । मंगलबार आयोजित कार्यक्रममा ७० जना ज्येष्ठ नागरिकलाई १ हजार २ सयका दरले पेन्सन समेत वितरण गरिएको अध्यक्ष पौडेलले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सांसद सावित्रा रानाले प्रदेश सरकारले सहकारीको दिगो विकास र सहकारी तथा सर्वसाधारणका बिचमा समन्वय कायम हुने गरी निती निर्माण गरिरहेको बताईन् ।
कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष असोकगोविन्द राजभण्डारी, बहुद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा कुँवर, सहकारीका सल्लाहकार केशव शर्मा, कानुनी सल्लाहकार डिल्लीराज गौतम, पत्रकर महासंघका जिल्ला अध्यक्ष दिल शिरीष लगायतले बोलेका थिए । सहकारी अध्यक्ष कृष्ण प्रसाद शर्मा (कुमार) को अध्यक्षता, उपाध्यक्ष तोयानाथ गौतमको स्वागत र सचिव उदयचन्द्र चपाईको अञ्चालनमा सम्पन्न भएको थियो ।