बागलुङ, ९ जेठ– उत्तरगंगा जलाशययुक्त बिद्युत परियोजना सञ्चालनको लागि प्रदेश सरकारले चासो देखाएको छ । केन्द्र सरकारले डिपिआर तयार पारेर सञ्चालनको तयारी गरिरहेका बेला परियोजना सञ्चालनमा प्रदेश सरकारले चासो देखाएको हो । सरकारले लिएको ‘एक प्रदेश एक जलाशययुक्त परियोजना’ कार्यक्रमअन्र्तगत यो प्रदेशमा उत्तरगंगा मात्रै रहेकाले प्रदेश सरकारले चासो देखाएको प्रदेशसभा सांसद ईन्द्रलाल सापकोटाले बताए ।
उत्तरगंगाको निर्माणले समग्र ४ नम्बर प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने भन्दै यो योजना सञ्चालनमा प्रदेशको चासो बढेको हो । उक्त परियोजना सञ्चालनको लागि केन्द्र सरकारसँग अनुमति माग्न लागिएको प्रदेश नम्बर ४ का मुख्यमन्त्रि पृथ्वी सुब्बा गुरुङले बताए । बागलुङको बुर्तिबाङ भएको नेकपाको भेलालाई सम्बोधन गर्दै गुरुङले केन्द्र सरकारसँग अनुमति लिनको लागि तत्काल प्रदेशको मन्त्री परिषदमा निर्णय गर्ने समेत बताए । गुरुङले उत्तरगंगा बागलुङको मात्रै नभएर समग्र प्रदेश र देशकै नमुना जलाशययुक्त परियोजना हुने भन्दै यसको निर्माणका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने समेत बताए ।
गुरुङले बागलुङको ढोरपाटन विकासको बृहत्तर गुरुयोजना बनाउन बिज्ञहरु सम्मिलित कार्यदल बनाउने घोषणा समेत गरेका छन् । पर्यटनका हिसावले प्रशस्त सम्भावना बोकेको ढोरपाटनलाई प्रदेशको मुख्य आम्दानीको स्रोतको रुपमा विकास गर्ने भन्दै उनले त्यसको लागि ढोरपाटनको चौतर्फी विकास आवश्यक रहेको बताए ।