बागलुङ, ८ जेठ– जिल्ला दैवीप्रकोप उद्दार समितिको बैठकले बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको अध्यक्षतामा आईतबार बसेको बैठकले उक्तयोजना निर्माणका लागि जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका ईन्जिनियर शंकर भट्टराईको संयोजकत्वमा भूसंरक्षण कार्यालयका अधिकृत शम्भू झा, नेपाल रेडक्रस सोसाईटीका उपसभापति राजेन्द्र आचार्य सहित सागर कटुवाल, धर्मबहादुर अधिकारी, विश्वबन्धु पौडेल, चुडामणी कंडेल, तेजप्रसाद शर्मा, अखिलनाथ शर्मा रहेको समिति गठन गरिएको हो ।
त्यस्तै दुइ पटकसम्म भीमापोखरास्थित डुडियामा रहेको पशु श्रोत विकास फर्ममा आगोलागि भएर पशु तथा अन्य भौतिक सम्पत्ति नष्ट भएकोले क्षतिपूर्ति तथा राहतका लागि केन्द्रीय दैविप्रकोप उद्दार समितिमा लेखि पठाउने निर्णय भएको निमित्त प्रजिअ पाण्डेयले बताए । उक्त फर्ममा झण्डै ५० लाख रुपैयाँको क्षति भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
समितिको बैठकले मनसुन पूर्व तयारी प्रतिकार्य योजना अध्यावधिक गर्नका लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख डिई चन्द्रशेखर केसीको संयोजकत्वमा शैलेन्द्रकुमार श्रेष्ठ, धिरेन्द्रराज पन्त,रामबहादुर पुन,प्रकाश बराल र बिकास पौडेल रहेको समिति गठन गरिएको छ । कृषि बिकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम अनुसार ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा भएका बाढी पहिरोका पिडितलाई राहत सम्बन्धी काम गर्न बिषयगत संस्थालाई निर्देशन दिने निर्णय समेत गरेको छ । त्यस्तै राष्ट्रिय पुन निर्माण प्राधिकरण कार्यक्रमले निर्वाह गर्नुपर्ने दायित्व पुरा गरी भूकम्प पिडितलाई राहत पुग्ने कार्यक्रम संचालन गर्न पनि निर्देशन दिने निर्णय भएको हो ।
Previous Articleपढाइ छोड्न बाध्य छन् बालबालिका !
Next Article २०७५ जेठ ८ गते मंगलबारको राशिफल