म्याग्दी, ७ जेठ– जिल्लाको धौलागिरि गाउँपालिकाले अल्पसंख्यक छन्त्याल समुदायको बाहुल्यता रहेका दुईवटा वडालाई विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र घोषणाका लागि सिफारिस गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९९को उपदफा २ को क, ख र ग अनुसार १ नम्बर वडा गुर्जा, उपदफा ख अनुसार ५ नम्बर वडा मल्कवाङलाई विशेष संरक्षित तथा स्वायत्त क्षेत्र घोषणाका लागि सिफारिस गरिएको गापाले जनाएको छ । भौगोलिक विकटता, दुर्गम, पृथक भाषा, संस्कृति र जीवनशैली भएका अल्पसंख्यक छन्त्याल समुदायको सघन बसोबास रहेको आधारमा विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र घोषणाका लागि गत बसेको कार्यपालिका बैठकले प्रदेश र संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता झकबहादुर छन्त्यालले बताए ।
एक सय ९१ घरधुरी रहेको गुर्जा र ३०४ घरधुरी भएको मल्कवाङमा ९० प्रतिशतभन्दा बढी छन्त्यालको बसोबास छ । परम्परागत रूपमा खानी खन्ने पेशा अङ्गाल्दै आएका छन्त्याल समुदाय नेपालका अल्पसंख्यक जातिमा सूचीकृत छन् । नजिकको बस्ती लुलाङदेखि आठ घण्टा पैदल हिँडेपछि पुगिने गुर्जा र सडक सुविधा नपुगेको मल्कवाङ शिक्षा, स्वास्थ्य, सञ्चार लगायत विकासका पूर्वाधारको पहुँचदेखि टाढा छ । संवैधानिक व्यवस्थाअनुसार विशेष, स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गरेर बजेट, नीति तथा कार्यक्रममा प्राथमिकता दिएर विकासको पहुँच बढाउन पहल गरिएको छ ।
Previous Articleपाँच–पाँच लाख क्षतिपुर्ती दिने सहमती
Next Article वामपन्थी गठबन्धनदेखि पार्टी एकतासम्म