राजेशचन्द्र राजभण्डारी
सधै विभाजन मात्रै हुने आरोप लाग्दै आएको नेपाल कम्युनिस्ट पार्टी बीच नयाँ ढंगले एकता भएपछि नेपाली जनतामा खुशीको लहर छाएको छ । नेपालको प्रमुख शक्तिशाली कम्युनिस्ट पार्टी एमाले र माओबादी केन्द्रबीच राजधानीमा भब्य समारोह बीच भएको पार्टी एकताले नेपालमा मात्रै हैन विश्वको राजनीति मै नयाँ तरङ्ग पैदा गरिदिएको छ । वामपन्थी गठबन्धन देखि पार्टी एकता सम्मको खाका तयार गरि अगाडि बढेको दुई कम्युनिस्ट पार्टी बीच भएको यो एकतालाई नेपालको कम्युनिस्ट आन्दोलन कै ऐतिहासिक एकता मान्नुपर्छ । बहुदलिय प्रजातान्त्रिक परिपाटी मान्दै आएको एमाले र जनयुद्धको सशश्त्र आन्दोलनको नेतृत्व गर्दै आएको माओबादी केन्द्रबीच आज जुन एकता भएको छ यसलाई कसैले पनि यति सजिलोसँग हुन्छ भनेर बिश्वास भने गरेको थिएन । जुन सहज पनि थिएन । ठूलो उतारचढाव बीच जेठ ३ गते मदन भण्डारी र जिबराज आश्रितको जयन्तीको दिनमा जुन एकताको साइत जु¥यो यसलाई सकारात्मक मान्नुपर्छ ।
साँच्चै भन्ने होभने माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २१ औ सताब्दीमा नयाँ इतिहास रच्न सफल भएका छन् । इतिहासले मान्छेलाई एकपटक अवसर दिन्छ त्यसलाई ग्रहण गर्ने क्षमता नेतृत्व गर्ने ब्यक्तिमा हुन जरुरी छ । जसले समयलाई बुझ्न सक्छ, समय अनुसार चल्न सक्छ, त्यसले मात्र बाजी मार्छ भन्ने कुरा थियो त्यसमा दुई पार्टीको नेतृत्व यसपटक सफल भएका छन् । वामपन्थी गठबन्धन भत्काउन र बिगार्न सबै खाले प्रतिक्रियावादी, यथास्थितिबादीदेखि पुर्नउत्थानवादी सबैले न्वारानदेखिको बल पनि नलाएका हैनन् । पार्टी एकताको घटनाक्रम हेर्दा अहिले जसरी सहज रूपमा पार्टी एकता घोषणा भयो यो संभव कसैले पनि देखेका थिएनन् । स्वयम एमाले भित्रका प्रमुख नेताहरू समेत एमाले र माओबादी केन्द्र बीचको एकतालाई सहज देखेका भने थिएनन् । धेरैलाई नैतिक संकट थियो, पार्टी एकता बिरोध गरे कार्यकर्ता लेवलबाट बाहिर जानुपर्ने, नगरे आफ्नो भोलि पार्टीमा हैसियत के हुने भन्ने कुरा नै महत्वपूर्ण थियो ।
नेपालको कम्युनिस्ट आन्दोलनमा एकता भन्दापनि धेरै फुटैफुटको खेती भएको देखिन्छ । नेपालका कम्युनिस्टबारे जसले पनि सजिलोसँग टिप्पणी गर्ने गर्दथ्थे– ‘कम्युनिस्टहरू जुट्नका लागि हैन फुट्न कै लागि हो ।’ सामान्य कुरामा मतभेद भएपछि नयाँ पार्टी जन्माई हाल्ने कारणले पनि ठिक बिपरित ध्रुवका शक्ति बीचको मिलनलाई निकै खालको बिश्लेषण टिप्पणी गरे धेरैले । माओवादी एमालेमा बिलय भने कसैले, यो साँच्चै टिप्पणी गजबको थियो । एमाले जस्तो विशाल पार्टी माओबादी जस्तो जनयुद्धबाट आएको पार्टी बीच एकता गर्दा पदीय भागबन्डादेखि दुई वटा पार्टीको नेताहरूलाई समायोजन गरे लैजानु पर्ने बाध्यता आफनो ठाउँमा छदै थियोे । राजनीति गर्ने भनेको जोगी बन्नको लागि हैन । राजनीतिको मुल्य मान्यता र सिद्धान्त आफ्नो ठाउँमा छ । पार्टी एकता गर्दै गर्दा आफ्नो हैसियत भोलिका दिनमा कस्तो रहने भन्ने कुरालाई नकारात्मक भन्न मिल्दैन ।
नेपालको इतिहासमै शक्तिशाली र दक्षिण एशियाको तेस्रो ठूलो कम्युनिष्ट पार्टीको रुपमा स्थापित नेपाल कम्युनिष्ट पार्टी यतिबेला सबैको नजरमा परेको छ । समय घटनाक्रमले अहिले पार्टीभित्र दुई जना अध्यक्ष बनेका छन् । पार्टीको महासचिवमा एकाएक बिष्णु पौडेल देखा परेका छन्भने प्रवक्तामा नारायणकाजी श्रेष्ठ प्रकाशलाई अगाडि सारिएको छ । पार्टीको नेतृत्वलाई हेर्दा खेरी अब भने यो पार्टीले केही गरेर देखाउँछ कि भन्ने झिनो आशा भने पलाएको देखिन्छ । पार्टी एकता ‘काले–काले मिलेर खाउ भाले’ भएको भनेर धेरैले टिप्पणी पनि गरेका छन् । अब कम्युनिस्ट पार्टीको एकता समाज परिवर्तन र रूपान्तरणको लागि हुनुपर्छ भन्नेमा कुनै शंका छैन । झट्ट हेर्दा नेपालमा अब ३ शक्ति देखिन्छ– कम्युनिस्ट शक्ति, नेपाली कांग्रेसले नेतृत्व गर्ने प्रजातान्त्रिक शक्ति र मधेसी शक्ति । अर्कोतर्फ क्रान्तिकारी धारको नेतृत्व गर्ने बाहिरी शक्तिबीच नै नेपालको राजनीति घुम्ने निश्चित देखिन्छ ।
नेपालको कम्युनिस्ट आन्दोलनका चर्चित नेता मदन भण्डारीले राजनीतिमा कुनैपनि कुरा असंभब हुँदैन भन्ने कुरा आजभन्दा ३० बर्ष अगाडि भनेका थिए । त्यो कुरा अहिले ब्यबहारिक रूपमा पुष्टि भएको छ । हिजो पानी बाराबारको अबस्थामा रहेका एमाले र माओबादी बीचको मिलनलाई कसैले पनि कल्पना गरेका थिएनन् । तर देशमा वामपन्थी शक्तिलाई माया गर्ने नेपाली जनताले भने वामपन्थी शक्तिबीच मिलन भएको हेर्न चाहेका थिए त्यो ढिलै भएपनि पुरा भएको छ । प्रदेश र संघ को निर्वाचनमा वामपन्थी गठबन्धन गरेर एमाले र माओवादीले चुनावी गठबन्धन गरेर जसरी जनताको सामु भोट माग्न गएका थिए त्यहीँ गठबन्धन कै कारणले निर्वाचनमा वामपन्थी गठबन्धनको पक्षमा लहर आएको निश्चित हो । सधै देशमा अस्थिर सरकार ९–९ महिनामा फेरिने सरकारको कारण देशमा ५ बर्षसम्म चल्ने सरकार भए देशमा विकास हुनेछ भन्ने सोच राखेरै मतदान गरेकोले पनि अहिले पार्टी एकताबाट भाग्ने चानस नै थिएन । हिजो जनतासामु गरेका बाचा एकताको लागि मलजल पुगेको हो । देशमा वामपन्थीको शक्तिशाली सरकार छ । देशको ७ वटा प्रदेशमध्ये ६ वटामा वामपन्थी सरकार नै छ । स्थानीय तहमा पनि अधिकांश वामपन्थी कै नेतृत्व भएको हुँदा काम गर्न फलानोले रोक्यो भन्ने बहानाबाजी अब चल्दैन । सरासर देश र जनताको पक्षमा काम गरेर देखाउने बेला हो ।
एमाले र माओबादी बीच भएको पार्टी एकतालाई नेकपाका महासचिव विप्लवले कम्युनिस्ट आन्दोलनलाई अध्याँरोतिर धकेल्ने गठजोड मात्रै भएको बताएका छन् । उनले कम्युनिस्ट आदर्शबाट च्युत भएको अवसरवादी संशोधनवादीको एकता भएको टिप्पणी गरेका छन् । ‘यी दुवै आफू क्रान्तिकारी हुँदा एकअर्कालाई दुश्मन भन्ने गर्दथे तर आज जब दुवै लुटेरा पुँजीवादी व्यवस्थामा प्रवेश गरेर सामाजिक दलाल पुँजीवादीमा पतन हुन पुगे तब एकअर्काका सुखदुखका साथी, कम्युनिस्ट र कमरेड भन्दै एकताको नाटक रच्न पुगेको आरोप समेत लगाएका छन् । यिनीहरुको एकता कम्युनिस्ट एकता होइन कम्युनिस्ट आदर्शबाट च्युत भएका घोर अवसरवादी संशोधनवादीहरुको एकता हो भनेर अहिले एमाले र माओबादीभित्र रहेका असन्तुष्ट क्रान्तिकारी नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा तान्न सकिन्छ कि भन्ने प्रयास पनि उनले गरेको देखिन्छ । पार्टी एकता खाली पार्टी एकता नभएर परिवर्तनको लागि समाजवादतर्फ उन्मुख हुने नयाँ ढंगले अगाडि बढ्न जरुरी छ । अब देशमा रोजगारी, महंगी, भ्रष्टाचार, नातावाद र कृपावादको अन्त्य गर्न सकेमात्र पार्टी एकता भएको ठिक ठहरिने छ । सिद्धान्त एकातिर र व्यवहार अर्काेतिर भएर नेपालको कम्युनिस्ट पार्टी बिग्रेको हो । नयाँ ढंगले जनताको भावना अनुसार काम गर्ने प्रतिबद्धता अनुसार भएको एकता साँच्चै भन्ने होभने अब परिवर्तनको पक्षमा हुनेछ । हैन खाली पद र प्रतिस्ठाको लागि होभने यो पनि जनताको नजरबाट गिरेर जानेछ ।