बागलुङ, ४ जेठ– जिल्लाका दशमध्ये आठ स्थानीय तह पूर्ण खोपयुक्त घोषणा भएका छन् । बागलुङ नगरपालिका र बडीगाड गाउँपालिका घोषणाको तयारीमा छन् । गत पुसमा ढोरपाटन नगरपालिका पहिलो खोपयुक्त नगर बनेको थियो । त्यसयता, गलकोट नगरपालिका, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका, बरेङ गाउँपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका पूर्ण खोपयुक्त घोषणा भएका हुन् । आगामी असारभित्र जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गरिने जिल्ला खोप समन्वय समितिले जनाएको छ । समितिका सदस्य सचिव एवं जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक तिवारीका अनुसार बडीगाड गाउँपालिका घोषणा हुन मात्र बाँकी छ ।
बागलुङ नगरपालिकालाई पनि पूर्ण खोपयुक्त बनाउन तयारी तीव्र पारिएको उनले बताए । “असार भित्रै जिल्ला पूर्ण खोपयुक्त हुन्छ,” उनले भने– “अब कुनैपनि बालबालिका खोपबाट बञ्चित हुने छैनन् ।” जनस्वास्थ्यका क्षेत्रमा पूर्ण खोपयुक्त घोषणा सबैभन्दा प्रभावकारी कार्यक्रम भएको उनको भनाई छ । नगर र गाउँपालिकाका सबै बालबालिका खोपको पहुँचमा पुगेको सुनिश्चितता भएपछि पूर्ण खोपयुक्त घोषणा गर्ने गरिएको छ । बालबालिकाले खोप पाए÷नपाएको सुनिश्चित गर्न जिल्ला खोप समन्वय समितिसँगै नगर र गाउँस्तरीय समन्वय समितिले विभिन्न चरणमा सर्वेक्षण गर्ने गरेका छन् । घरधुरी सर्वेक्षण र नियमित अनुगमनबाट बालबालिका खोपबाट वञ्चित नभएको सुनिश्चित भएपछि मात्र पूर्ण खोपयुक्त नगर, गाउँ घोषणा भएका हुन् ।
सम्बन्धित पक्षले आउँदा दिनमा पनि सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन प्रतिबद्धता गरेका छन् । जनप्रतिनिधि, स्वास्थ्य क्षेत्रका पदाधिकारी, सामाजिक अगुवालगायतले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले अबदेखि कुनैपनि बालबालिका खोप पाउनबाट बञ्चित हुनु नपर्ने उल्लेख गरे । “अहिले पनि खोप पाउने उमेरका सबै बालबालिकाले खोप पाएका छन्, आगामी दिनमा पनि खोपको सुनिश्चितता हुन्छ,” उनले भने । नगरपालिका स्तरमा नगर प्रमुख र गाउँपालिकामा अध्यक्षको नेतृत्वमा खोप समन्वय समिति क्रियाशील छन् ।
पूर्ण खोपयुक्त घोषणा भएका स्थानीय तहमा पोलियो, बिसिजी, हेप बी, डिपिटी, दादुला, रुबेला, टिटी, जेइलगायत ११ प्रकारका खोप सबै बालबालिकाले पाएको सुनिश्चिता गरिएको छ । घोषणा हुनुभन्दा आउँदा दिनमा पनि खोपको सुनिश्चितता हुनु घोषणा कार्यक्रमको मुख्य लक्ष्य हो । खोप नियमित रुपमा पाएको खण्डमा शिशु तथा बालबालिकालाई विभिन्न १० प्रकारका रोगबाट बचाउन सकिने स्वास्थ्यकर्मी बताउँछन् । जनस्वास्थ्य प्रशासक तिवारीका अनुसार नियमित खोपका कारण नेपालमा बाल मृत्युदर २५ प्रतिशतले घटेको छ ।
बागलुङ पूर्ण साक्षर र खुला दिसामुक्त जिल्ला यसअघि नै घोषणा भइसकेको छ ।
Previous Articleखेल मैदान बनाउन विदेशबाट सहयोग
Next Article मदन–आश्रित स्मृति दिवस बागलुङ पनि मनाईयो