बागलुङ, ४ जेठ– बागलुङ नगरपालिका–४ वडारचौरमा निर्माणाधिन बहुउद्देश्यीय खेलकुद मैदानका लागि वैदेशिक रोजगारीमा रहेकाहरुले लाखौं रुपैयाँ सहयोग गरेका छन् । वडा कार्यालयले गठन गरेको उपभोक्ता समितीले निर्माण गरिरहेको खेल मैदानका लागि वैदेशिक रोजगारीमा रहेका स्थानिय युवाहरुले ९ लाख रुपैयाँ सहयोग गरेका हुन् ।
बागलुङ नगरपालिकाले गत बर्षको बजेटमा व्यवस्था गरेको ३ लाख रुपैयाँबाट निर्माण थालिएको खेल मैदानका लागि स्थानीय युवाले पिदेशबाट स्वस्फुर्त रुपमा सहयोग गरेको वडा अध्यक्ष ध्रुव बहादुर केसीले बताए । खाडी मुलुकदेखी अमेरिकासम्म रहेका ४ नम्बर वडाका युवाहरुले दिल खोलेर आर्थिक सहयोग गरेका छन् । नगरपालिकाले छुट्टाएको रकमबाट खेल मैदानको सामान्य काम समेत नहुने अवस्था आएपछि उपभोक्ता समितीले सहयोगका लागि आग्रह गरेको थियो । विभिन्न मुलुकमा रहेका ४ नम्बर वडाबासी युवाहरुको सक्रियतामा रकम संकलन गरेर खेल मैदानका लागि सहयोग गरिरहेको उपभोक्ता समितिका अध्यक्ष भरत शर्माले बताए । ‘नौ लाख रुपैयाँ समितीको खातामा आएर काम समेत भैसकेको छ’ अध्यक्ष शर्माले भने ‘खेल मैदानको निर्माणका लागि सहयोग उठ्ने क्रम जारीनै रहेको छ ।’ समितीले नगरपालिकाको बजेट र सहयोगबापत उठेको रकमबाट खेल मैदानको प्रारम्भिक काम सम्पन्न गरिसकेको जनाएको छ । खेल मैदान सम्माउनका लागि आवश्यक ७० थान तारजाली लगाउने, सम्माउने र उचाईमा रहेको जमिनलाई स्काभेटर लगाएर काट्ने काम सम्पन्न भएको अध्यक्ष शर्माले बताए ।
जिल्लामा हुने खेल गतिविधि सञ्चालन गर्नका लागि बाङ्गेचौर खेल मैदानको विकल्प नहुँदा बेलाबेलामा समस्या आउने गरेकाले वडारचौरमा खेल मैदान बनाउन लागिएको वडाअध्यक्ष केसीले बताए । ‘यो मैदानको सबै काम सकिएपछि आगामी दिनमा खेलकुदका गतिबिधि सञ्चालनमा सहजता आउने छ’ –केसीले भने ‘मैदानलाई थप विकास गर्नका लागि यो आर्थिक बर्षमा नगरपालिकाबाट थप बजेटको व्यवस्थापन गछौं ।’ वडारचौरमा रहेको खाली जमिनको सदुपयोग गरेर खेल मैदान निर्माण हुन लागेको उनले बताए । खेल मैदानको पहिलो चरणका केही कामहरु भएका भएपनि अझै धेरै काम बजेटको अभावका कारण हुन नसकेको उपभोक्ता समितीले जनाएको छ ।
खेल मैदानलाई पुर्णरुप दिनका लागि १ सय ५० थान तार जाली, मैदानकै भुभागमा रहेका खाल्डाखुल्डी पुर्ने काम र खेल अनुसारका आवश्यक पुर्वाधार निर्माणको काम बाँकी रहेको अध्यक्ष शर्माले बताए । ‘मैदानको बाँकी कामको लागि डिपिआर तयार गरेर नगरपालिकादेखि केन्द्र सरकारसम्म बजेट माग्ने तयारीमा छौं’ उनले भने ‘आधुनिक खेल मैदान निर्माणका लागि यहाँका युवाले देखाएको तदारुकता र सहयोगले हामी उत्साहित बनेका छौं ।’ वडारचौरको खेल मैदान निर्माण पस्चात बेला–बेलामा जिल्लास्तरमा हुने खेलकुदका गतिबिधि सञ्चालन गर्न बैकल्पिक मैदानको अभाव टरेर जाने छ ।