बागलुङ, ४ जेठ– नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीले अवलम्बन गरेको सिद्धान्तका आधारमा अहिलेको नेपाली राजनीति अगाडि बढिरहेको बागलुङमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । २५ औं मदन–आश्रित दिवसको अवसर पारेर नेकपा एमाले बागलुङले आयोजना गरेको ‘वर्तमान सन्दर्भ र मदन भण्डारी’ बिषयक विचार गोष्ठीका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका युवा नेता तथा प्रतिनिधि सभा सदस्य डा. सुर्य पाठकले माक्र्सवादलाई सिर्जनात्मक प्रयोग गर्ने मदन भण्डारीको बाटो अहिलेको नेपाली समाजको लागि निकै महत्वपुर्ण रहेको बताए ।
मदन भण्डारीले आर्थिक सामाजिक र राजनीतिक विकासका लागि देखेको सपना पुरा गर्न अहिलेका कम्युनिष्ट पार्टिहरु एकबद्ध भएर अगाडि बढ्नुपर्ने भन्दै पाठकले नेपालमा समाजवादको स्थापनाका लागि मदन भण्डारीले देखाएको बाटो उपयुक्त भएको बताए । नेकपा एमालेका प्रदेश संगठन कमिटिका सदस्य श्रीप्रसाद शर्माले मदन भण्डारीले देखाएको बाटोबाट एमाले बिचलित हुन नहुनेमा जोड दिए । नेकपा एमाले र माओबादी केन्द्र बीचको एकता नेपालको कम्युनिष्ट आन्दोलनको सुखद पक्ष भएको भन्दै शर्माले दुई पार्टिको एकताले मदन भण्डारीको सपना पुरा हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रदेश सभा सांसद सावित्रा राना, नेपाली कांग्रसका जिल्ला सभापति दिपेन्द्र थापा, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज ज्ञामनाथ गैरे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापा, पत्रकार महासंघका जिल्ला अध्यक्ष दिल शिरिष लगायतले बोलेका थिए । नेकपा एमाले जिल्ला अध्यक्ष तथा प्रदेशसभा सांसद इन्द्रलाल सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जिल्ला उपाध्यक्ष कृष्ण पाठक र सञ्चालन जिल्ला सचिव लाल थापाले गरेका थिए । कार्यक्रममा नेताहरुले मदन भण्डारी र जिवराज आश्रितको तस्विरमा माल्यापर्ण गरेका थिए ।