कमल रिजाल
बडा दशैं नेपाली मात्रकै महान् चाड हो । हरेक वर्ष शरद ऋतुमा पर्ने यस पर्वलाई देश–विदेश जहाँसुकै रहेबसेका भए पनि सारा नेपालीहरूले रमाइलोसित मनाउने गर्दछन् ।
विशेषगरी आश्विनशुक्ल प्रतिपदाको दिन घटस्थापना गरी जमरा राखेर मनाउन शुरू गरिने यो पर्व दशमीको दिन विसर्जन गरी मान्यजनहरूको हातबाट शुभाशिषसहित टीका र जमरा लगाएपछि समाप्त गरिन्छ । तर कतैकतै त्यसपछि लगत्तै आउने पूर्णिमाको दिनसम्म पनि टीका र जमरा लगाई आशीर्वाद लिने चलन छ । शास्त्रीय परम्परा अनुसार यस पर्वमा नौ दिन नौ रातसम्म एकएक गरी नवदुर्गाको पूजा–उपासना हुने भएकाले यस पर्वलाई नवरात्र पर्व भन्ने गरिएको छ । यसो त ‘देवीभागवत’ महापुराणमा उल्लेख भए अनुसार माघ, चैत र असारमा गरी अन्य तीनवटा नवरात्रको पनि अस्तित्व भेटिन्छ । तर यतिबेलाको नवरात्रलाई नै प्रमुख नवरात्र भन्ने गरिएको पाइन्छ ।
नौ दिनसम्म माता भगवतीको उपासना गरी दशमीको दिन अर्थात् दशौं दिन समाप्त हुने भएकोले यस पर्वलाई सामूहिक रूपले व्यावहारिक भाषामा दशैं भन्ने गरिएको तथ्य पनि स्मरणीय नै छ । असत्यमाथि सत्यको विजय हुन्छ भन्ने मान्यताले मनाइने यस पर्वको शास्त्रीय महत्व जति छ धार्मिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक महत्व पनि आफ्नो स्थानमा त्यति नै छन् ।
शास्त्रीय पक्ष :
दुर्गा उपासना सम्बन्धी विभिन्न ग्रन्थहरूमा उल्लेख भए अनुसार यस पर्वको पहिलो दिन अर्थात् आश्विनशुक्ल प्रतिपदाको दिन बिहान दियो, कलश, गणेश पूजा गरी घटस्थापना गरिन्छ र विधिपूर्वक दुर्गा स्थापना गरी पूजा गरेर जमरा राख्ने शास्त्रीय विधान छ ।
नवरात्रमा पूजा गरिने माता दुर्गाको नौ रूपमध्ये पहिलो दिन पूजा गरिने शक्तिको नाम शैलपुत्री हो । पूजाको कृत्य सकिएपछि दुर्गाकवच, चण्डी सप्तशती आदिको पाठ, हवन र बलिदान गर्ने परम्परा छ । बलिदानमा कुभिण्डो, नरिवल, उखु, काँक्रो, मूला, बेल आदिको प्रयोग हुने गर्दछ । त्यसपछि साँझमा आरती गरेपछि त्यस दिनको कृत्य समाप्त हुने गर्दछ ।
यसपछि अन्य दिनको पनि पूजाको विधान यही बमोजिम नै तोकिएको छ । तर त्यसपछिका दिनहरूमा पूजा गरिने दुर्गाको स्वरूपमा भने क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्घिदात्री आदि रहेका छन् ।
यस अवधिका थप कृत्यमा छैटौं दिन साँझ भोलिपल्ट फूलपाती ल्याउँदा सँगै ल्याउनुपर्ने बेललाई निमन्त्रण गर्नुपर्ने हुन्छ भने सप्तमीको दिन बिहान सरस्वतीको पूजा गरी दिउँसो ल्याइएको फूलपातीलाई साँझपख भित्र्याइने र माता भद्रकालीको छुट्टै पूजा गर्ने शास्त्रीय परम्परा छ ।
त्यस्तै अष्टमीको दिन कालरात्रिको विधान, नवमीको दिन त्रिशूलिनीदेवीको पूजा र दशमीको दिन जया विजयाको साथमा अपराजिता देवीको पूजा गर्नुपर्ने परम्परा पनि यस अवधिका अन्य थप कृत्यमा पर्दछन् ।
धार्मिक पक्ष :
यसरी नौ दिनसम्म शक्तिस्वरूपिणी माता भगवतीको उपासना गरी दशमीको दिन मान्यजन एवं गुरुजनहरूको हातबाट प्रसादको रूपमा टीका र जमरा लगाउनाले वर्षदिनसम्म दुःख, दुर्भिक्ष, दुर्भाग्य निवारण भई प्रेम, सद्भाव र आयु, आरोग्य वृद्घि हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।
जहाँसम्म दुर्गापूजाबाट के कति धर्म हुन्छ त भन्ने प्रश्न छ, त्यसको भने ठोस मापन नभएकोले यसै भन्न त सकिन्न । तर देवी, देवताको पूजा र त्यतिबेला अपनाउनुपर्ने नियम तथा खानपान र आहारविहार आदिको सन्तुलित व्यवस्थाले मन, वचन र कर्म शुद्घ हुने भएकाले यस्तो अवस्थामा पापकर्मबाट बच्न सकिने कुरोलाई भने बिर्सन सकिन्न ।
संसारमा जति पनि पाप हुन्छन् मन, वचन र कर्म बिग्रिएर नै हुन्छन् । अनि मन, वचन र कर्म बिगार्नलाई खानपान र आहारविहारले निकै सघाएको हुन्छ । यतिबेला आहारविहारको सम्बन्धमा धर्मशास्त्रले नै अनुशासित बनाउने प्रयास गरेकोले त्यस्तो अवस्थामा आहारविहारको कारण मन, वचन र कर्म बिग्रने त प्रश्नै आउन्न ।
जब मन, वचन र कर्म बिग्रेर पापकर्म हुन पाउँदैन त्यस्तो अवस्थामा धर्म हुन्छ भन्नु पनि अस्वाभाविक होइन ।
सांस्कृतिक पक्ष :
दशैं पर्वको सांस्कृतिक पक्षको कुरो गर्दा यसलाई नेपालीपन र परम्पराको जीवन्त धरोहरकै रूपमा लिनुपर्ने हुन्छ । हुनत दशैं पर्वलाई हिन्दु संस्कृतिको उपज भएकोले यो हिन्दुहरूको मात्र पर्व हो भन्ने भनाई पनि हिजोआज यदाकदा उठ्ने गरेको पाइन्छ । तर यथार्थ भने योभन्दा नितान्त भिन्न छ । हिन्दुहरू त विश्वका अन्य मुलुकमा पनि पाउन सकिन्छ । तर नेपालमा जसरी दशैं पर्व मनाइन्छ, त्यो परम्परा निस्सन्देह नेपालीहरूमा मात्र सीमित छ र जुनसुकै वर्ण सम्प्रदायका भए पनि सारा नेपाली मात्रले नै यस पर्वलाई उत्तिकै श्रद्घापूर्वक मनाउँदै आएका छन् ।
त्यसैले समग्रमा नेपाली मात्रकै राष्ट्रिय पर्व हुन पुगेको छ दशैं । स्वभाविक रूपमा जहाँसुकै रहेबसेका भएपनि निधारमा रातो टीका र कानमा पहेंलो जमरा देख्नेबित्तिकै त्यहाँ नेपाल र नेपालीपनको सुवास आउने गर्दछ । यस अर्थमा भन्नुपर्दा यस पर्वले समग्र राष्ट्रकै पहिचान बोकेको प्रस्टै अनुभूत गर्न सकिन्छ ।
हुन त सबै नै संस्कृतिले धेरथोर राष्ट्रिय पहिचान बोकेकै हुन्छन् । तथापि दशैं पर्वको कुरो गर्दा यसको विशेषता भिन्दै छ भन्न कदाचित् हिचकिचाउनुपर्दैन । मानिस काम विशेषले जहाँ सुकै पुगेका नै किन नहोस्, रातो टीका र पहेंलो जमरा देख्नेबित्तिकै आफन्तको साथमा बसेर दशैं मानी पिङमा चचहुई गरेको सम्झना सम्भवतः सबैलाई भएकै हुनुपर्छ । यिनै विविध वास्तविकताले गर्दा यस पर्वको सांस्कृतिक महत्व निकै उचाइमा रहेको प्रस्ट हुन्छ ।
सामाजिक पक्ष :
दशैं पर्वको सामाजिक महत्व पनि त्यति नै शिखरमा देखिन्छ । काम विशेषले जहाँसुकै पुगेका भएपनि सारा नेपालीहरू आफूभन्दा सानालाई आशीर्वाद दिन र ठूलाबाट आशीर्वाद लिन सकेसम्म घर जानेआउने प्रयास गर्दछन् । यस अर्थमा भन्नुपर्दा यस पर्वलाई जहाँसुकै रहेबसेका भए पनि सारा नेपालीलाई वर्षको एकपटक आफन्तसँग भेटघाट गराउन सहयोग पु¥याउने महत्वपूर्ण कडीको रूपमा त यसै पनि लिन सकिन्छ ।
सानालाई शुभाशिष दिने र ठूलाबाट लिने परम्पराले यदि कोही कसैमा वर्षदिनभरिको अवधिमा टोल, छिमेक, एवं आफन्तहरू र परिवारजनबीच कुनै रिस, राग वा द्वेष पलाउन गएको रहेछ भने त्यसलाई मेटाएर प्रेम र सद्भाव वृद्घि गर्ने पर्वको रूपमा समेत लिन सकिन्छ । आज विविध कारणवश (कारण जे पनि हुन सक्छ । अहिलेको परिवेशमा त्यतातिर नजान नै वेश होला) आपसमा के कति द्वेष, कलह र भाइभाइबीच पाएसम्म एकले अर्कोलाई सिध्याउने प्रवृत्ति हावी हुँदै आएको छ भनिरहन पर्दैन । यस्तो परिप्रेक्ष्यमा दशैं पर्वको महत्व हिजो जति थियो, आज त्योभन्दा पनि बढी रहेको प्रस्टै अनुभूत गर्न सकिन्छ ।
दशैं मान्ने हाम्रो आफ्नै किसिमको मौलिक र आर्ष परम्परा छ । यसैको कारण विदेशिएको छोरो घर आउँछ । वर्षदिन अघिदेखि परदेश गएको श्रीमानको घर फर्किने बाटो हेरेर बसेकी श्रीमतीले न्यानो भेट पाउँछिन् । पितृघर छोडी पतिघरलाई नै आफ्नो घर मानी बसेकी त्यागकी प्रतिमूर्ति तथा माया र ममताकी खानी चेलीले माइतीको दर्शन पाउँछिन् ।
दशैंले घर, परिवार, टोल, छिमेक र आफन्तजनहरूबीच द्वेष र कलहको तुष फाली प्रेम र सद्भाव जगाउँछ । सम्भवतः संसारमा यति बढी विविध पक्षको धनी पर्व खोजिपसे अन्त कतै पनि पाउन सकिन्न । यसबाहेक यसबाट धेरथोर आन्तरिक र बाह्य पर्यटनमा सहयोग पुगिरहेको तथ्यलाई पनि बिर्सन मिल्दैन ।
आध्यात्मिक पक्ष :
दशैं पर्वको आध्यात्मिक पक्षको उठान गर्दा वा यसलाई केलाउँदा मौसम विज्ञान, शरीर विज्ञान र व्यवहार विज्ञान आदि क्षेत्रलाई सँगै जोडेर हेर्नुपर्ने हुन्छ । जस्तो, यतिबेलाको समय भनेको ऋतुपरिवर्तनको समय हो । बडा दशैं पर्व शरद ऋतुमा पर्दछ । शरद ऋतुको समय भनेको प्रकृतिको त्यस्तो सन्धि समय हो जसले गर्मी (तातो) समय र शीत (चिसो) समयलाई जोड्ने पुलको काम गरिरहेको हुन्छ । यतिबेलादेखि नै प्रकृतिमा बिस्तारै गर्मी सकिएर जाडो आउन शुरू गरेको हुन्छ ।
यस्तो अवस्थामा जसरी मौसममा परिवर्तन आइरहेको हुन्छ, त्यसैगरी शरीरले पनि त्यसलाई पचाउन सोही अनुसार तयारी अवस्थामा रहनुपर्ने हुन्छ । अन्यथा मौसममा आएको परिवर्तनलाई शरीरले पचाउन नसकी रोग लाग्ने सम्भावना रहन्छ । त्यसैले यस पर्वले यतिबेला अपनाउनुपर्ने खानपान र व्रतोपवासको माध्यमबाट शरीरलाई सोही अनुसार परिवर्तनको अवस्थामा ल्याउन खोजेको देखिन्छ ।
विशेषतः यतिबेला नौ दिनसम्म शक्ति उपासना गर्न राखिएको प्रावधानले पनि यही तथ्य उजागर गर्दछ । अर्थात् यतिबेला शक्ति उपासना गर्नुपर्ने प्रावधान राखिनुको आशय सोही मौसममा आएको परिवर्तनलाई पचाउन आवश्यक शक्तिको खोज गर्न लगाउनु नै रहेको बुझिन्छ र यतिबेला जुन किसिमको आहारविहार र खानपानको नियम तोकिएको छ, यसलाई मनन गर्दा पनि यही नै तथ्य उजागर हुन आउँछ ।
विशेष गरी नवरात्रको नौ दिनमा नवदुर्गा अर्थात् माता भगवतीको नौ रूपको पूजा गरिन्छ । यसमध्ये पहिलो दिन शैलपुत्री नामक दुर्गाको पूजा गर्ने परम्परा छ । शैलपुत्री भनेको पहाडकी छोरी हो । पहाडकी छोरी भन्नाले यस शक्तिलाई पृथिवीतत्वको प्रतीकको रूपमा लिन सकिन्छ । हाम्रो स्थूल शरीरको निर्माणमा पृथिवी तत्वको विशेष स्थान रहेको छ । शैलपुत्रीको उपासना गर्नु भनेको प्रतीकात्मक रूपले सोही स्थूल शरीरको संरक्षणको प्रयास हो भनेर बुझ्नुपर्ने हुन्छ ।
दोस्रो दिन ब्रह्मचारिणी शक्तिको उपासना हुन्छ । ब्रह्मचारिणी भनेको ब्रह्मचर्य अर्थात् मेधा शक्तिको प्रतिनिधि स्वरूप हो । शरीरलाई मौसम अनुसार स्वस्थ रहन सदैव ब्रह्मचर्यको कति आवश्यकता पर्दछ भनिरहन पर्दैन । ब्रह्मचारिणी शक्तिको उपासनालाई सोही मेधाशक्ति संरक्षणको प्रयासको रूपमा लिनु समीचिन हुनेछ ।
तेस्रो दिन चन्द्रघण्टा शक्तिको उपासना हुने कुरो माथि प्रस्ट भइसकेको छ । चन्द्रघण्टालाई शब्दशक्ति अर्थात् आकाश तत्वको प्रतीकको रूपमा लिन सकिने प्रशस्त आधार भेटिन्छ । शरीरलाई व्यावहारिक बनाउन शब्दशक्तिको पनि त्यति नै आवश्यकता पर्दछ । चन्द्रघण्टाको उपासनाले पनि यथार्थमा यही नै वकालत गरिरहेको प्रस्टै अनुभूत गर्न सकिन्छ ।
चौथो दिन कुष्माण्डा शक्तिको उपासना हुन्छ । कुष्माण्डा भनेको कुभिण्डो अर्थात् वनस्पति जगतको प्रतिनिधि स्वरूप हो । यसको उपासनाबाट मानिसको खाद्य आहार समग्र वनस्पति जगतलाई नै रसिलो, स्वादिलो र पोसिलो बनाउन खोजेको देखिन्छ ।
पाँचौ दिन स्कन्दमाता शक्तिको उपासना गरिने प्रावधान छ । स्कन्दमाता भन्नाले वनस्पति जगतको पनि अधिष्ठात्री शक्ति भन्ने बुझिन्छ । यस्तो परिप्रेक्ष्यमा स्कन्दमाता शक्तिको उपासना भनेको सोही वनस्पति जगतको अधिष्ठात्री शक्तिलाई नै मजबुत बनाउने प्रयास नभएर के नै होला र ।
छैठांै दिन पूजा हुने कात्यायनी शक्तिलाई विद्या तत्व र सातौं दिन पूजा गरिने कालरात्री शक्तिलाई अज्ञान, अन्धकार र मोहनाशक शक्तिको रूपमा लिन सकिन्छ । जीवनलाई स्वस्थ र फुर्तिलो पारी सदैव अग्रगति प्रदान गर्न यी तत्वको आवश्यकता कति पर्दछ त्यो आफैंमा नै प्रस्ट छ ।
आठांै दिन पूजा गरिने महागौरीलाई बुद्घि तत्व र नवौं दिन पूजा गरिने सिद्घिदात्री शक्तिलाई गरिएको कामलाई सफल बनाउने शक्ति वा कार्य सफल भएको अवस्थाको प्रतीकको रूपमा लिन सकिन्छ । आखिर विद्या र बुद्घिले समन्वित भई अज्ञानको अँध्यारोबाट माथि उठ्न सकिएको अवस्थामा नै काममा सफलता अर्थात् सिद्घि पाउनसकिने व्यावहारिक यथार्थकै कुरो पनि हो ।
यसरी यस पर्वले शरीरलाई स्वस्थ र निरोगी राख्ने प्रयास गर्दै उसका समग्र आवश्यकता पूरा गर्नेसम्मको उदात्त परम्परा बसाएको देखिएकोले आध्यात्मिक दृष्टिकोणबाट भन्नुपर्दा यो पर्व सबैको लागि र सधैंको लागि परम आवश्यक छ भन्नैपर्ने हुन्छ ।
दशैं पर्वको धार्मिक, सामाजिक र आध्यात्मिक महत्व
Previous Articleकथा : चुरोट
Next Article बागलुङ कालिका भगवती मन्दिरमा महाअष्टमी पर्व मनाइँदै