बागलुङ, ३ जेठ– करारमा नियुक्ती पाउनुपर्ने लगायतका माग राखेर आंशिक शिक्षक राजधानीतिर लागेपछि धवलागिरी बहुमुखी क्याम्पस बन्द भएको छ । लामो समयदेखि आन्दोलनमा रहेका आंशिक शिक्षकहरु त्रिभूवन विश्व विद्यालयमा धर्ना तथा आन्दोलनका लागि हिडेपछि क्याम्पस प्रमुखले सूचना जारी गरेर क्याम्पसका पढाई बर्षे बिदाबाट उपर गर्ने भन्दै उनीहरुसँगै राजधानी हिडेका हुन् । दशकअघि सम्बन्धन पाएका बिषयमा समेत शिक्षक दरबन्दी नपाएको, आंशिक रुपमा पढाई रहेका शिक्षकहरुले करारमा नियुक्ती नपाएको लगायत समस्याले क्याम्पसमा पढाई प्रभावित भैरहेको हो ।
आंशिक शिक्षकले पढाई रोकिदिएमा क्याम्पस ठप्पै हुने अवस्था भएको छ । स्नातक तर्फको बिज्ञान, विविएस, शिक्षा संकायको स्नतकोत्तर, मानविकी तर्फको समाजशाष्त्र मानवशाष्त्र लगायतका बिषयमा समेत अधिकांस आंशिककै भरमा चलेको छ । त्रिवि नियमाबली अनुसार एक बर्ष आंशिक अध्यापन गरेका शिक्षकलाई करारमा नियुक्ती दिनुपर्ने प्रावधान छ । तर १२ बर्षदेखि अध्यापन गराईरहेका शिक्षकले समेत करार नपाएको गुनासो गरेका छन् । धवलागिरी बहुमुखी क्याम्पसमा हाल ४१ जना आंशिक शिक्षकले पढाई रहेका छन् । क्याम्पसमा २६ जनाको दरबन्दी अझै खाली छ ।
आंशिक शिक्षकहरुले पटक–पटक त्रिवि पदाधिकारीको ध्यानकर्षण गराएपनि सुनुवाई नभएको बताए । ‘हामीले पटक–पटक कीर्तिपुर गएर धर्ना पनि बसेका छौं, आश्वासन पाउँछौं, तर कार्यान्वयन भएन’ आंशिक शिक्षक संघर्ष समितिका अध्यक्ष बिष्णुप्रसाद चापागाईंले भने, ‘हामी केही माग लिएर राजधानी पुग्दा यता विद्यार्थीको पढाई प्रभावित भएको छ ।’ आंशिकहरु सबैले एकैपटक काम छाडेभने क्याम्पसको सबै तह र संकायको पढाई प्रभावित हुने गरेको छ । क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले पनि आंशिकको समस्या समाधानका लागि केन्द्रमा पहल गरेको बताए । ‘उहाँहरुको माग र त्रिवि नियमाबली अनुसारनै करारका लागि लेखेर पठाएपनि कार्यान्वयन नभएपछि मैले केही भन्न सकेको छैन’ उपाध्यायले भने, ‘प्रमुखको नाताले करार नगरे दरबन्दी देउ भनेर पनि कराएको छु ।’ पर्याप्त दरबन्दी नभएसम्म आंशिक शिक्षककै भरमा चल्न बाध्य भएको उनले बताए ।
गत पुसमा पनि शिक्षकहरुले आन्दोलन गरेका थिए । उनीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाउने, त्रिवि पदाधिकारीलाई भेटेर मागपत्र बुझाउने गरेका थिए । तर सुनुवाई नभएपछि फेरी सबै शिक्षक राजधानी गएका छन् । उनीहरु राजधानीतर्फ गएपछि क्याम्पसको पढाई पूर्ण रुपमा ठप्प भएको स्ववियु सभापति मनिष थापाले बताए । पढाइ प्रभावित भएपछि क्याम्पस प्रमुख उपाध्यायसहित सहायक प्रमुखहरु समेत ऐक्कवद्धताका लागि राजधानी हिडेका छन् । ‘विश्वविद्यालयले धमाधम संकायको स्विकृति दिने तर दरवन्दी नदिएर हाम्रो क्षेत्रको शैक्षिक गुणस्तर खस्केको छ’ क्यामपस व्यवस्थापन समितिका उपाध्यक्ष देबहादुर श्रेष्ठले भने, ‘स्विकृति दिएपछि दरबन्दी दिनैपर्छ, नभए आंशिकहरुलाई करार गराउनै पर्छ ।’ क्याम्पसले आंशिक शिक्षककै भरमा स्नातकोत्तरतर्फ एमएड नेपाली, एमविएस, एमए समाजशाष्त्र÷मानवशाष्त्र संचालनमा ल्याएको छ । विज्ञान तर्फको स्नातक तह, विविएस र विएडको कक्षा भने आंशिककै मात्र जिम्मामा छ । क्याम्पसमा कम्तिमा ५ बर्षदेखि १२ बर्ष सम्म अध्यापन गरिरहेका आंशिक शिक्षकहरु कार्यरत छन् ।
आंशिककै भरमा क्याम्पसले परिक्षा पनि संचालनमा ल्याउने गर्छ । दरवन्दीमा भएका तथा स्थायी शिक्षकहरुले नियमित कक्षा नलिने र काज मिलाएर विदेश भ्रमण गर्ने लगायतको चलनपनि छ । ‘हामीलाई आश्वासन दिएर अलपत्र पारियो’ चापागाईले भने, ‘ ‘लोकसेवा आयोग लडेर जागिर खाने उमेरपनि काटियो, त्रिविले पनि झुक्यायो ।’ विश्वविद्यालयले पदपूर्तिको लागि आन्तरिक र खुला प्रतियोगिता संचालन गर्नुपर्ने पनि उनीहरुको माग समेत रहेको छ ।
Previous Articleभवन बनाउन करोड सहयोग,मराङको हरिहर मन्दिरको जीर्णोद्धार
Next Article नोकिया एक्स सिक्स स्मार्टफोन सार्वजनिक