म्याग्दी, ३ जेठ – आगलागीबाट क्षतिग्रस्त भएका एक विद्यालयको पुनःनिर्माणका लागि कोरियाली संस्थाले रु एक करोड आर्थिक सहयोग प्रदान गरेको छ । एक वर्षअघि आगलागीबाट क्षतिग्रस्त भएका म्याग्दी बेनी नगरपालिका–४ डाँडाखेतस्थित बालमन्दिर आधारभूत विद्यालयको भवन पुनःनिर्माणका लागि दक्षिण कोरियाका ग्लोबल एजुकेशन फर रिपब्लिक अल फाउण्डेशनले सो रकम सहयोग गरेको हो । कोरियामा रहेका म्याग्देलीको सक्रियतामा फाउण्डेशनले उक्त विद्यालयको दश कोठे भवन निर्माणका लागि सो रकम सहयोग गरेका हुन् । फाउण्डेशनका अध्यक्ष छो थे याङ र वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले मंगलबार एक समारोहमा विद्यालय भवनको शिलान्यास गरे । सो अवसरमा फाउण्डेशनका अध्यक्ष याङले विद्यालय भवन जलेर नष्ट भएपछि विद्यार्थीहरु खुल्लाचौरमा पढ्दै गरेको तस्वीरले आफू स्तब्ध भएको उल्लेख गर्दै “विद्यालयका लागि समुदायले पनि धेरै गर्नुभएको छ, हामीले पनि आफ्नो क्षेत्रबाट सहयोग गर्नेछौँ” भने । विद्युत् सर्ट भएर आगलागी भएपछि विद्यालय भवन पुनःनिर्माणका लागि आर्थिक सहयोग संकलन अभियानमा सक्रिय रहेका विद्यालयका पूर्वविद्यार्थी एंव एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजक विनोद कुँवर र उनकी भाइबुहारी संगीता कार्की कुँवरको पहलमा फाउण्डेशनले सो रकम सहयोग गरेको विद्यालयका प्रधानाध्यापक रामप्रसाद पौडेलले बताए । आगलागीबाट कक्षा कोठा, कार्यालय, कम्प्यूटर ल्याब र पुस्तकालयसहित आठ कोठे दुई तले भवन पूर्णरुपमा जलेर नष्ट हुँदा रु ९२ लाख मूल्य बराबरको क्षति भएको थियो ।
मराङको हरिहर मन्दिरको जीर्णोद्धार
धौलागिरि गाउँपालिका–६, मराङको बेँशीमा रहेको धार्मिक महत्वको हरिहर मन्दिरको जीर्णोद्धार गरिएको छ । गाउँपालिका र वडाको आर्थिक सहयोगमा स्थानीयवासीले मन्दिरको मर्मत सम्भार गरेर जीर्णोद्धार गरेका हुन् । वडा कार्यालयको प्रस्तावमा गाउँपालिकाले विनियोजन गरेको रु चार लाख र स्थानीयवासीको रु ५० हजार बराबरको श्रमदानमा मन्दिर जीर्णोद्धार गरी धार्मिक विधिअनुसार शिव मूर्ति र शिवलिंगको प्रतिष्ठापन गरिएको उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण उपाध्यायले बताए । कच्ची अवस्थामा रहेको मन्दिरको पर्खाललाई प्लास्टर गर्नुका साथै एकतला थप गरिएको छ । काठको खाँबो हटाएर सिमेन्टको पक्की पिल्लर बनाइएको छ । मन्दिरको बाहिरी भागमा पिसिसी ढलान गरिएको छ । विसं २०५० मा निर्माण भएको मन्दिर जीर्ण भएकाले मर्मत गरिएको वडाध्यक्ष राजाराम सुवेदीले बताए । हिन्दू धर्मावलम्बीका भगवान् शिवको मूर्ति रहेको मन्दिरमा विशेष पूजाआजा हुनेगर्छ ।
Previous Articleराष्ट्रिय पाठ्यक्रम प्रारुप तयार
Next Article आंशिक शिक्षक राजधानी हिडेपछि पढाई प्रभावित