बागलुङ, २ जेठ– जिल्लामा कृयाशिल बिभिन्न संघ संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा अस्पतालका बिरामीहरुलाई फलफुलको बितरण गर्ने गरेको भएपनि थोरैका आँखा अस्पतालमा रहेको फोहोरमा पर्ने गरेका छन् । अस्पताल परिसर र अस्पताल भवन भित्ररहेको फोहोरले उपचारको लागि त्यहाँ पुग्ने बिरामीहरुलाई गिज्याईरहेको भएपनि थोरै मात्र मानिसको आँखाले त्यो फोहोर देख्ने गरेको छ । बिरामी लिएर धौलागिरी अञ्चल अस्पताल पुग्दा देखेको फोहोर व्यवस्थापन गर्ने योजना बनाएका जिल्लाका तिन संगठनले मंगलबार धौलागिरी अञ्चल अस्पतालको सरसफाई गरेका छन् ।
संगठको स्थापना दिवस मनाउनका लागि अस्पताल परिसरमा पुगेका अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र युवा संघ नेपालले संयुक्त रुपमा अस्पताल परिसर तथा भवन र सौचालय सरसफाई गरेका हुन् । अनेरास्ववियुको ५४ औं स्थापना दिवस र युवा संघको २८ औं स्थापना दिवसको अवसर पारेर उनिहरुले अस्पताल सरसफाई गरेको अनेरास्ववियु जिल्ला कार्यसमितीले जनाएको छ ।
अस्पताल परिसरमा पुगेर १७ जना बिरामीहरुलाई फलफुल बितरण गरेको टोलीले अस्पतालमा अप्रेसन कोठा बाहेकका सबै कोठा, शौचालय, छत, पर्खाल तथा परिसरको सरसफाई गरेको अनेरास्ववियु जिल्ला कार्यसमिति बागलुङका सचिव शिव शर्माले बताए । ‘तिन संगठनको सल्लाहमा अस्पतालको सरसफाई गरिएको हो’ शर्माले भने ‘अस्पतालमा आउने जानेलाईलाई फोहोरले नगिज्याओस भनेर सरसफाई गरिएको हो ।’ बिरामीको उपचार गर्ने स्थाननै फोहोर मैलाका कारण महामारीको उद्गम स्थल नबनोस भनेर आँफुहरुले अस्पताल परिसरको सरसफाई गरेको शर्माले बताए ।
अस्पतालको संरक्षण र सरसफाई गर्ने काम सबैको साझा भएपनि कसैको आँखा नपरेकाले सामाजिक संघ संस्था तथा व्यवस्थापनको ध्यान केन्द्रीत गर्न सरसफाई गरीएको उनको भनाई थियो । सरसफाई कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा युवा बिद्यार्थी इन्चार्ज पुनम शर्मा, जिल्ला सचिवालय सदस्य अञ्जु जिसी, युवा संघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष लोकेन्द्र केसीले सरसफाई टोलिको नेतृत्व गरेका थिए । कार्यक्रमको सञ्चालन अनेरास्ववियुका जिल्ला सचिव शिव शर्माले गरेका थिए ।
Previous Articleसर्वसाधारणमा सरसफाईको ज्ञान आवश्यक
Next Article धौलागिरी एफ एमको तालिम सकियो