बागलुङ, १ जेठ – मध्य पहाडी लोकमार्गको ट्रयाक खुल्नु अघि सम्म सदरमुकाम देखि ९३ किमी पश्चिमको बुर्तिवाङ बजार पुग्न दुइ दिन लाग्थ्यो । शुरुमा कृषि सडकको रुपमा खुलेको ट्रयाकले एक दिनमा छोट्यायो । अहिले पाँच घण्टामा पुगिने भएपछि सदरमुकामबाट नजिक मात्र भएको छैन, बिकासका अन्य पूर्वाधारले पनि अगाडि बढ्ने क्रममा छ ।
मध्यपहाडी लोकमार्गले बुर्तिवाङ सम्म सडक फराकिलो बनाईसकेको छ । आगामी बर्ष भित्र सडक कालोपत्रे भैसक्ने तयारी छ । कालोपत्रे भएमा ४ घण्टामा बुर्तिवाङ पुग्न सकिन्छ । बुर्तिवाङमा आर्थिक क्रियाकलाप बढ्दो छ । ‘ढोरपाटन जाने प्रवेशद्वार भएकोले केही होटल मात्र चल्थे, घोडा खच्चरको गोवरले दुर्गन्धित थियो’ स्थानीय चिन्तामणी शर्माले भने, ‘अहिले सदरमुकाम भन्दा ठूला होटल देखि विभिन्न व्यवसाय, खेलकुँद र पर्यटकको केन्द्र जस्तो भैसकेको छ ।’
झण्डै ३० हजार जनसंख्या बस्ने बुर्तिवाङलाई स्थानीय तहको निर्वाचनमा नगरपालिका घोषणा गरियो । अहिले आर्थिक उन्नतीको शहरको रुपमा बिकास हुन थालेको छ । तमानखोला, निसीखोला र भुजीखोलाको संगममा अबस्थित बुर्तिवाङ जलश्रोतको धनी छ । ठूला आयोजना निर्माण गर्न सकेमा बुर्तिवाङले केही समयमै थप उचाई लिने नगर प्रमुख देवकुमार नेपालीले बताए । उत्तरगंगा सर्भे भएको आयोजना हो भने अन्य संभावितमा अध्ययन शुरु भएको छ ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग मार्फत व्यवस्थित र स्मार्ट सिटी बनाउने अभियान शुरु भैसकेको छ । त्यसका लागि साना शहरी आयोजना संचालन भैसकेको छ । शहरी बिकास तथा भवन डिभिजन कार्यालय मार्फत आयोजनामा २० अर्वको बजेट खर्चने योजना बनेको डिभिजन प्रमुख प्रकाश अर्यालले बताए ।
यो योजनाले कम्तिमा १ लाख जनसंख्यालाई व्यवस्थित शहरमा राख्ने लक्ष राखेको हो । त्यसकालागि सडक, खानेपानी, विद्युत, उद्योग, व्यवसाय संचालन हुनुपर्ने बाध्यात्मक व्यवस्था छ । जिल्ला स्तरका हरेक कार्यालयको सेवा केन्द्र रहेको बुर्तिवाङमा ढोरपाटन नगरपालिकाको अधिकांस बिषयगत शाखा स्थापना भएका छन् ।
इन्टरनेटको सुविधा बढाउन नगरपालिकाले पनि पहल गरेको छ । सरकारी र निजी क्षेत्रका बैकहरु पुगेका छन् । जिल्लाको निसीखोला, तमानखोला र बडिगाढ गाउँपालिकाको बजार सेन्टर तथा रुकुम, रोल्पा, प्युठान र डोल्पा सम्मको व्यपारिक केन्द्र पनि बुर्तिवाङ बनिरहेको छ । मध्यपहाडी लोकमार्गका कारण बुर्तिवाङबाट राजधानी, पोखरा र बुटवल तर्फ नियमित सवारी चल्छन् भने पश्चिम तर्फ रुकुमका लागि बस छुट्ने व्यवस्था शुरु भएको छ ।
नमूना शहर बनिसक्दा सयौं युवाले स्थानीय तहमै रोजगारी पाउने व्यवस्था पनि बन्ने आयोजना प्रमुख प्रविण अधिकारीको भनाई छ । स्थानीय उत्पादन, बजारीकरण, पर्यटनको बिकास र कृषिको व्यवसायिकीकरण मार्फत शहरीक्षेत्रमा युवा रोजगारी बढ्ने कार्यक्रम बनाइन लागेको उनले बताए । ‘खानेपानी, बसपार्क, अन्य घुम्ने पार्क लगायतको व्यवस्थापन गर्ने कार्यक्रम योजनामा समावेश छ’ अधिकारीले भने, ‘छिटै ढल निकास, सरसफाई समेत पुगेको व्यवस्थित शहर बन्दैछ ।’ आयोजना मार्फत १ हजार रोपनी जमिन खरिद गर्ने, त्यहाँ व्यवस्थित बस्ती बिकासको नमूना र काम गर्ने योजना बनेको अधिकारीले बताए । त्यसकालागि नगरबिकासले काम थालेको पछिल्लो ३ बर्षमा पनि १ सय रोपनी जमिन समेत खरिद गरिसकेको छ ।
बसपार्क अतिक्रमणले आयोजनाको काममा केही ढीलाइ भने भएको छ । ‘हामीले सूचना प्रकाशित गरेर घरटहरा भत्काउने योजना ल्याएका छौं’ अधिकारीले भने, ‘एकलाख जनसंख्यालाई व्यवस्थित शहरमा बसाल्नेगरी काम गरिरहेका छौं ।’ नगरपालिका र परियोजनाको क्षेत्राधिकार बिबादले केही काम ढीलाई भएको उनले बताए । यस अघिनै साँघुरा सडक बनेकोले एकैपटक चाहेजस्तो काम गर्न नसकेको नगर बिकास समितिका अध्यक्ष मेषलाल शर्माको गुनासो छ । उनले नगरपालिकाको सहकार्यमा काम गर्ने पनि बताए । नगरपालिकाले भने आयोजनालाई आफ्नै मातहतमा संचालन गर्न खोज्दा केही बिवाद उब्जेको हो ।
‘राष्ट्रिय गौरवको आयोजना भित्रको समिति भएकोले हामीले छिटै उपलब्धी गरेर देखाउँछौं’ शर्मा भन्छन् ‘कानूनी जटिलताले केही काम सोचेजस्तो भएको छैन ।’ नगरपालिकाले पुरै क्षेत्रमा र समितिले बजार व्यवस्थितको काम गर्ने उनले बताए । नगरभित्र भवन निर्माण संहिता पालना गराउने, पूवैपश्चिम बस संचालन, गुणस्तीय होटल, स्वच्छ पानी खुवाउने लगायतका कामलाई पनि आयोजनाले तीव्रता दिने शर्माको दावी छ ।