बागलुङ,३१ बैशाख – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणी विक्रम शाहको ५१ वर्षको उमेरमा निधन भएको छ । कलेजोमा समस्या देखिएपछि आइतबार बेलुका काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएको उनको उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
लामो समयदेखि कलेजोको रोगबाट पीडित उनी आइतबार ज्वरोको समस्या देखिनु अघि घरमै आराम गरिरहेका थिए ।
सन् १९९३ को दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्णपदक जित्दाका प्लेमेकर रहेका ५१ वर्षीय शाहको केही वर्षअघि लिभरमा समस्या देखिएको थियो। त्यसैले उनी पटक–पटक उपचारका लागि अस्पताल धाउने गरेका थिए। हल्का ज्वरो आएपछि आइतबार उनलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो।
डा.सुधांशु केसी र जेन्टलसुन्दर श्रेष्ठले उनको उपचार गरिरहेका थिए। मनाङमर्स्याङदी क्लबका पूर्वखेलाडी शाहको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि मंगलबार दशरथ रंगशाला परिसरमा बिहान ९ बजेदेखि ११ सम्म राखिने र त्यसपछि आर्यघाट लगिने एन्फाले जनाएको छ।
शाहलाई आज बिहान ५ बजेदेखि भेन्टिलेटरमा राखिएको र साँझ १७:४२ बजे चिकित्सकले मृत घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ उपाध्यक्ष शिक्षित पारजुलीले बताए। राष्ट्रिय टोलीका पूर्व कप्तान शाहको उपचारको सम्पूर्ण खर्च एन्फाले बेहोरिरहेको छ।
Previous Articleहुवावेको नोभा थ्री ई नेपाली बजारमा
Next Article राष्ट्रपति रनिङ्ग शिल्ड बहिरा विद्यालयलाई