राम थापा अविरल
मुस्ताङ, २८ बैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शनिबार हुने मुक्तिनाथ दर्शन भ्रमणका क्रममा स्थानीय जनप्रिय युवा क्लबका तर्फबाट स्थानीय संस्कृति प्रदर्शन गरिने भएको छ। स्थानीयवासी प्रधानमन्त्री मोदी स्वागतको पर्खाइमा रहेको क्लबका पूर्वअध्यक्ष सुरज गुरुङले बताएका छन्।
मोदी आउने भएसँगै उत्साहित स्थानीयवासीले मुक्तिनाथदेखि रानीपौवा बजार सरसफाइ गरेको क्लबका अध्यक्ष उक्रेन गुरुङले जानकारी दिए। स्वागतका क्रममा बारागुङ गाउँपालिकाका तर्फबाट ताम्रपत्र प्रदान गरिने गाउँपालिकाका अध्यक्ष फेन्चोकछेप्तेन गुरुङले जानकारी दिए।उनका अनुसार मुक्तिनाथ विकास समितिका तर्फबाट शालिग्राम र बौद्ध लामाबाट बुद्धको मूर्ति दिइने तयारी गरिएको छ। स्थानीय संस्कृतिअनुसार संस्कृति प्रदर्शनको तयारी गरिएको रानीपौवा आमा समूहका अध्यक्ष कन्दु गुरुङले जानकारी दिए।
मोदीको प्रतीक्षा
नेपालको दुईदिने राजकीय भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार बिहान मुक्तिनाथ दर्शनका लागि आउँदैछन्। भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथको भ्रमणमा आउने पहिलो उच्च तहको विदेशी पाहुना हुनेछन्। उनको भ्रमणले धार्मिक पर्यटकीय गन्तव्य मुक्तिनाथको थप प्रसिद्धि बढ्ने ठानिएको छ।
पर्यटन प्रवद्र्धनका अतिरिक्त मुक्तिनाथ क्षेत्रको विकासमा समेत भ्रमणलाई जोडेर हेरिएको छ। भारतका कुरु क्षेत्र र हरिहर क्षेत्र तथा नेपालका बराह क्षेत्र र मुक्ति क्षेत्र चार मुख्य धाम मानिन्छन्। भ्रमण नेपाल र भारतबीचको सांस्कृतिक एवं धार्मिक सम्बन्ध सुदृढीकरणको कडी बन्ने ठानिएको छ। जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामोले भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको ऐतिहासिक महत्व रहेको बताए।
‘नयाँ परियोजना आउने विश्वास छ, विशिष्ट व्यक्तिको भ्रमणले यहाँको विकासमा पक्कै टेवा पुग्छ’ उनले भने। भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणले पर्यटन प्रवद्र्धनमा ठूलो महत्व राख्ने नेपाल भारत मैत्री संघ मुस्ताङका अध्यक्ष गणेश शेरचनले बताए। अन्तर्राष्ट्रिय जगत्मा मुक्तिनाथ क्षेत्रको पहिचान अभिवृद्धि हुने उनको भनाइ छ।
पर्यटन व्यवसायी एवं जनप्रिय युवा क्लब मुक्तिनाथका पूर्वअध्यक्ष सुरज गुरुङले भारतीय प्रधानमन्त्रीको मुक्तिनाथ भ्रमणलाई मुस्ताङवासीले सौभाग्यका रुपमा लिनुपर्ने समेत बताए। मुस्ताङको आर्थिक–सामाजिक विकासमा भारतले विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ। हिन्दू र बौद्ध धर्मावलम्बीको साझा धार्मिक गन्तव्यका रुपमा परिचित मुक्तिनाथमा सबैभन्दा बढी भारतीय तीर्थयात्री आउने गर्छन्। भारतमा समेत मुक्तिनाथ मन्दिरको प्रसिद्धि छ।
तयारी अन्तिम चरणमा
शनिबार बिहानै हुने भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ दर्शन तयारी अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथ मन्दिर परिसरमा मोदीको स्वागतका लागि विशेष तयारी गरिएको छ।
सुरक्षालगायत सम्पूर्ण व्यवस्थापनका काम अन्तिममा पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिरराज पौडेलले बताउनुभयो । मोदीको स्वागतका लागि मुक्तिनाथ मन्दिर परिसरमा पाँच स्वागतद्वार निर्माण गरिएको छ। मन्दिरमा रङ्गरोगन, साजसज्जा र सरसफाइका काम गरिएको छ।
शनिबार बिहान ७ बजेर २० मिनेट जाँदा प्रधानमन्त्री मोदी भारतीय वायु सेनाको विशेष हेलिकप्टरबाट मुक्तिनाथ आउने कार्यक्रम छ। मोदीसहित आउने भ्रमण टोलीका लागि मन्दिर परिसरमा पाँच हेलिप्याड बनाइएको छ। मन्दिरमा विशेष पूजाआजाका लागि सबै तयारी गरिएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताउनुभयो । पूजाआजापछि भारतीय प्रधानमन्त्री मोदी शनिबारै काठमाडौँ फर्कने कार्यक्रम छ।
रानीपौवा बजारदेखि नै सरसफाइ
प्राकृतिक मनोरम दृश्यले सजिएको हिमालपारिको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिर र आसपासको क्षेत्र यतिखेर चिटिक्क सिङ्गारिएको छ। वरपर चाँदीजस्तै टलक्क टल्कने हिमशृङ्खला रहेको मुक्तिनाथमा विश्वमा नै महत्वपूर्ण शक्ति राष्ट्रका रुपमा उदीयमान छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शनिबार हुने यहाँको दर्शन भ्रमणको पूर्वतयारीस्वरुप सरसफाइ र रङ्रोगनले यहाँको सुन्दरतालाई थपेको छ।
मोदीको मुक्तिनाथ दर्शनलाई लक्ष्य गरी स्थानीय व्यवस्थापनका लागि मुक्तिनाथ मन्दिर रहेको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रमुख छेन्तोक छेप्तेन गुरुङको संयोजकत्वमा रहेको स्थानीय व्यवस्थापन समितिको सक्रियतामा मुक्तिनाथ मन्दिरदेखि रानीपौवा बजार र आसपास क्षेत्रमा सरसफाइ गरिएको छ। सरसफाइमा रानीपौवा बजार र आसपासका सर्वसाधारण घरघरबाट जुटेका छन्। मन्दिर परिसरमा रहेका १०८ धाराको टुटी रङरोगनका साथै मुख्य द्वारमा रङ लगाएर आकर्षक बनाइएको छ।रासस
Previous Articleप्रदेश ४ का सभामुख अधिकारी बाथरुममा लडेर गम्भीर विरामी
Next Article अरुण तेश्राे जलविद्युत अायाेजनाकाे शिलान्यास