बागलुङ, २६ बैशाख– सच्चरित्र भएका विद्यार्थीको उत्पादन गर्नको लागि भन्दै यहाँको एक विद्यालयका पुर्वविद्यार्थीले विद्यालयमा लगानी गर्ने भएका छन् । जिल्ला सदरमुकाममा रहेको विद्यामन्दिर माध्यामिक विद्यालयको शैक्षिक सुधार गर्दै सच्चरित्र भएका बिद्यार्थी उत्पादन गर्ने भन्दै केही अगुवा विद्यार्थीको सक्रियतामा विद्यालय सुधारको काम थालिएको हो । बालविकास केन्द्रको व्यवस्थापनबाट विद्यालयको शैक्षिक गुणस्तर बृद्धि र व्यवहारिक सिपसहितको ज्ञान भएका विद्यार्थी उत्पादन हुने गरी विद्यालयको वातावरण बनाउन आफुहरुले लगानी गर्न लागेको अगुवा पुर्वबिद्यार्थी मुकेशचन्द्र राजभण्डारीले बताए ।
विद्यालय बालमैत्री र बालबालिकाका लागि मामा घर जस्तो बनाउने भन्दै बिद्यामन्दिरका पुर्वविद्यार्थीहरुले बालविकास केन्द्रलाई पहिलो चरणमा नमुना बालविकास केन्द्रको रुपमा विकास गर्न लागिएको उनको भनाई थियो । ‘जग बलियो भयो भने घर बलियो हुन्छ’ राजभण्डारीले भने ‘बालविकास केन्द्रको भौतिक संरचनाको सुधारदेखि विद्यार्थीलाई शैक्षिक सामाग्री र खाजा सम्मको व्यवस्था गर्न हामी पुर्वबिद्यार्थी सक्रिय भएका हौं ।’ पुर्वबिद्यार्थीहरु कुनै न कुनै क्षेत्रमा आवद्ध रहेको र उनीहरुको सानो–सानो सहयोगले मात्रै कयौं बालबालिकाको उज्वल भविश्य निर्माण गर्न सकिने भएकाले स्वइच्छाले पुर्वबिद्यार्थीले गर्ने आर्थिक सहयोगबाट पहिलो चरणमा बालविकास केन्द्रको सुधार गरिने छ ।
बालमैत्री वातावरण निर्माण, बालमैत्री कक्षा कोठा र शैक्षिक सामाग्री तथा एक बर्षको लागि बालविकास केन्द्रमा आउने बालबालिकाको खाजा खर्च हिसाब गर्दा तीन लाख रुपैयाँ खर्च हुने अनुमान रहेको पुर्वबिद्यार्थी राजेन्द्र आचार्यले बताए । पुर्वबिद्यार्थीहरु राजेन्द्र आचार्य, डाक्टर सागर राजभण्डारी, श्रीजय श्रेष्ठ, मुकेशचन्द्र राजभण्डारी, सुवासचन्द्र राजभण्डारी, काजीमान गुरुङ, टेकबहादुर क्षेत्री, श्रीकृष्ण शर्मा र सज्जन कुमार श्रेष्ठ लगायतका अगुवा बिद्यार्थीहरुले पहिलो चरणमा विद्यालयको बालबिकासको सुधार सुरुवात गरो हुन् । बिद्यालयका सबै कक्षाकोठामा रंगरोगन, कक्षा ५ सम्मका विद्यार्थीलाई खाजाको व्यवस्था र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग लगायतका योजनाहरु रहेको भएपनि तत्कालका लागि बालविकासका बालबालिका मात्रै प्राथमिकतामा राखेको आचार्यको भनाई छ ।
निजी विद्यालयमा बालविकास कक्षापछि कक्षा १ मा पुग्नुभन्दा पहिले अन्य कक्षाहरु हुने भएपनि सामुदायिक बिद्यालयमा त्यस्तो नभएकाले समस्या हुने गरेको भन्दै विद्यार्थीहरुले बालविकास र कक्षा १ को बीचमा थप कक्षाको कल्पना गरेको बताएका छन् । सबै पुर्वविद्यार्थीलाई एकतृत गर्दै सबैको सहयोग रहेमा बालविकास र कक्षा १ को बीचमा पनि पुर्वविद्यार्थीकै सहयोगमा शिक्षकको समेत खर्च व्यवस्थापन हुने गरी कक्षा थप गर्ने योजना रहेको राजभण्डारीले बताए । ‘सबै विद्यालयहरुमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्राथमिकतामा राखेर सहयोग गरिन्छ’ मुकेशले भने ‘हामीले यस विद्यालयको शैक्षिक सुधारका लागि कमजोर विद्यार्थीलाई प्राथमिकतामा राखेर प्रोत्साहन गर्ने वातावरण बनाउन लागेका छौं ।’ पुर्वविद्यार्थीहरुले पछिल्लो समय विद्यार्थीहरु व्यवहारिक भन्दा धेरै घोकन्ते शिक्षामा केन्द्रीत रहेको भन्दै अब व्यवहारिक ज्ञान दिनुपर्नेमा जोड दिएका छन् ।
‘कक्षा १० मा पढ्ने छोराले आफ्नो पोसाक मिलाएर राख्नसम्म जान्दैन’ राजभण्डारी भन्छन् ‘हामी पुर्वबिद्यार्थी मिलेर एकजना व्यवहारिक ज्ञान दिने शिक्षकको व्यवस्था गछौं र सबै कक्षाका बिद्यार्थीलाई व्यवहारिक ज्ञान दिने व्यवस्था मिलाउँदै छौं ।’ बिद्यामन्दिरमा पढेर देशभर बिभिन्न पेशा व्यवसायमा रहेका पुर्व बिद्यार्थीहरुले पढेको बिद्यालयलाई सहयोग गर्न आतुर रहेकाले आँफुहरुले अगुवाई गरेको अभियानमा सहयोग रहने राजेन्द्र आचार्यले बताए । ‘खर्चका हिसाबले हाम्रा योजनाहरु महत्वकांक्षी र खर्चिला छन’ बिद्यालयमा आयोजित एक कार्यक्रममा आचार्यले भने ।
Previous Articleरेडक्रस दिवसमा विविध कार्यक्रम
Next Article स्थानिय तहमा एकीकृत योजना तर्जुमा गोष्ठी सकियो