बागलुङ, २५ बैशाख– बाबु र दाजुको बियोगले छट्पटाई रहेकी आमा, पति बियोगमा देवरको भरमा रहेकी भाउजु, काकाकै भरोसामा पठनपाठन गरिरहेका भतिजाभतिजी, सुन्दर सपना बुन्दै श्रीमती र उज्वल भविष्य खोजिरहेको छोर÷छोरी सबैलाई सुखी र खुशी राख्नको लागि रोजगारीको शिलशिलामा बिदेशिएको एकजना युवा आज आफ्नै शरीरमा लागेको रोगको कारण पत्ता लगाउन नसक्दा छटपटिई रहेको छ । बागलुङको ताराखोला गाउँपालिका–५ लावाङका ३८ बर्षिय रामु गौतम (राजन) अहिले यहि अवस्थामा छन् । २ बर्ष पहिला रोजगारीको शिलशिलामा जापान पुगेका गौतम आफ्नो शरीरमा देखीएको रोग पत्ता लगाउन नसकेपछि १ महिना अगाडि नेपाल फर्केका थिए । परिवारको सुन्दर सपना बोकेर जापान भाँसिएका गौतम जापान जाँदा लागेको ऋण चुक्ता भई नसक्दै शरीरमा अचम्मको लक्षण देखिएपछि आफन्त र साथीभाईको सहयोगमा नेपाल फर्केका हुन् ।
खान मन नलाग्ने, शरीर दुव्लाउँदै जाने, आफन्त साथीभाई देख्दा झर्किने तथा देख्नै मन नलाग्ने र देखेपनि झर्किने समस्या देखा परेपछि जापानमा उपचार गराएर उनी नेपाल फर्केका हुन् । जापानमा उपचार गराउँदा कुनै समस्या नभएको भन्दै महंगो अस्पतालले शुल्क अशुल्ने काम मात्रै भएकाले उनलाई साथीभाईको सहयोगमा नेपाल झिाईएको पारिवारिक स्रोतले बताएको छ । जापानमा उपचार गर्दा लाखौं रुपैयाँ खर्चेर बेखर्चि बनेका गौतमलाई जापानमै रहेका भान्जा ईश्वर बोहोराले एक लाख रुपैयाँ खर्च गरेर नेपाल पठाएका थिए । जापानमा कमाई गरेर परिवारको सुन्दर भविश्य बनाउने सपना त अधुरै रहने भो नै आफ्नै शरीरमा लागेको रोगको बारेमा अस्पतालहरुले केही पत्तो लगाउन नसक्दा गौतम परिवार थप सस्यामा परेको छ ।
नेपाल आएलगत्तै राजधानी काठमाण्डौका ठुला अस्पतालदेखी बागलुङ सरमुकामको अञ्चल अस्पतालसम्म चहारेका गौतमलाई के भएको भन्ने बिषयमा अझै पत्तो लाग्न नसकेको परिवारले जनाएको छ । पहिलो पटक काठमाण्डौको टिचिङ अस्पतालमा पुगेका गौतमलाई अस्पतालले केही समस्या नरहेको बताएर घर पठाएको थियो । घर आउने क्रममा पोखराको गण्डकी अस्पताल पसेका गौतमलाई गण्डकी अस्पतालले सिधै मणिपाल शिक्षण अस्पताल पठाईयो । मणिपाल अस्पतालले प्रारम्भिक रिपोर्टका आधारमा भन्दै उनलाई क्षयरोग भएको भनेपनि पुर्ण रिपोर्ट आउन बाँकी रहेको भन्दै आएको छ । क्षयरोगको लक्षण रहेको भन्दै मणिपालले उनलाई पुनः गण्डकी पठाएको थियो । केही दिन अस्पताल बसेर घर फर्केका उनलाई समस्या थप जटिल बन्दै गएपछि हाल काठमाण्डौको टेकु अस्पतालमा राखिएको छ । रोगको बारेमा पत्तो नलागी प्रारम्भिक रिपोर्टका आधारमा उपचार भैरहेका गौतमले दुई दिन यता खाना खाएको भएपनि समस्याको बारेमा भने अझै जानकारी नआएको बताईएको छ । बाल्यकालमा बाबु र ३ बर्ष पहिला दाजु गुमाएर परिवारको सम्पुर्ण जिम्मेबारी थाप्लोमा लिएका गौतम बिरामी परेपछि अहिले गौतम परिवार संकटमा परेको छ ।
एकातर्फ बैदेशिक रोजगारीमा गएर कमाएको सबै पैसा उपचारमा खर्चिसकेकाले उनको थप उपचारमा समस्या छभने अर्कोतर्फ घरपरिवारको दैनिक खर्च चलाउन समस्या भएको गौतम पत्नी भद्रकली उपाध्यायले बताईन् । गौतमको रोग पत्ता लगाउनकै लागि ठुलो रकम खर्च हुने भएकाले गौतम परिवारले सहयोगको याचना गरेको छ । जापानमा रहेका साथीभाई तथा जिल्लाका केही समाजिक संघ संस्थाले गौतम बचाउ अभियान सुरु गरेका छन् । जापानमा रामु गौतम राजन बचाउ अभियान जापान र बागलुङमा रामु गौतम राजन बचाउ अभियान बागलुङ सञ्चालन गरेको अभियानका बागलुङ संयोजक खिमबहादुर कार्कीले बताए । जापानमा रहेका साथीभाईबाट हालसम्म १ लाख २६ हजार रकम संकलन भैसकेको छभने बागलुङमा रहेको खबरवे अनलाईनले चलाएको अभियानमा ११ हजार रुपैयाँ संकलन भैसकेको कार्कीले जानकारी दिए ।
रामु गौतम राजन बचाउ अभियानले सोमबार बागलुङ बजारमा पत्रकार सम्मेलन गर्दै गौतम परिवार र उनको अवस्थाका बारेमा जानकारी गराएको थियो । जिल्ला सदरमुकाममा रहेको सिम्रिक कृषि तथा पशु व्यवसायी सहकारीमा अभियानको नाममा खाता खोलेर सहयोग जुटाउन लागिएको अभियानका सदस्य खगेन्द्र बिश्वकर्माले बताए । गौतमाका आमा, श्रीमती, एक छोरा एक छोरी, भाउजु र २ जना भतिजा भतिजी रहेका छन् ।
Previous Articleविवेकशिल समाज निर्माणमा जुटौं
Next Article बागलुङका स्थानिय निकायमा न्यायिक समितिमा मुद्दा कम