फुर्के डोरी चौबन्दी चोली
मनको कुरा थाहा हुन्न नबोली
निर पिरती मिसाउनी
दिल खोलेर बोल्न मन लाको छ निर
कोही छन की रिसाउनी ।
अहिले बजारमा चर्चामा रहेको यो गीतका गायक हुन राजेन्द्र सापकोटा । म्याग्दीको बरंजामा जन्मिएका सापकोटा सानै उमेरदेखी नेपाली लोक संगीतको यात्रामा लागेका प्यासी यात्री हुन् । हालको मंगला गाउँपालिका–३ का सापकोटा बिद्यालय उमेरमा जागेको गीत संगीतको प्यासका कारण आफ्नो आवाजलाई शब्द र संगीतको खेतीमा सिंचित गर्दै नेपाली लोक दोहोरीको क्षेत्रमा लागेका कलाकार हुन् । एकातर्फ सानै उमेरदेखीको चाहना र इच्छा अर्कोतर्फ विद्यालय जीवनमा आईपरेको बाध्यताका कारण कलाकारिता क्षेत्रमा लागेको सापकोटा बताउँछन् । विद्यार्थी जीवनमा उनको रमाईलो घटना घट्यो । कक्षा ६ मा पढ्दै गर्दा उनलाई कृष्ण जिसी नाम गरेका शिक्षकले स्वास्थ्य तथा शारीरिक शिक्षा पढाउँथे रे । अतिरिक्त क्रियाकलाप गराउनमा अलिक बढि रुची राख्ने जिसीले एकदिन कक्षाका सबै विद्यार्थीलाई कला र साहित्य तथा शारीरिक व्यायमका क्रियाकलाप गर्न आग्रह गरे ।
विद्यार्थीहरुले उनले दिएको जिम्मेबारी जस्ताको तस्तै मान्न तयार नभएपछि जिसीले गोलाप्रथाद्धारा कस्ले के प्रस्तुत गर्ने भन्ने बिषय टुंगो लगाएका थिए । सोही समयमा गीत गाउनुपर्ने गोला परेका राजेन्द्र सापकोटा त्यही गोलाका कारण आज यो अवस्थामा आईपुगेका हुन् । पहिलोपटक कयौं साथीको अगाडि उभिएर गीत गाउँदा रातोपिरो मुख लगाएर कठिनले गीत गाएको दिन सम्झिंदै सापकोटाले भने– ‘आज त्यही दिनले मलाई कलाकार बनायो ।’ शव्द लेखन, लयको छनौट र आवाजमा समेत निकै चातुर्य कला भर्न सिपालु सापकोटाले कक्षा ६ मा पढ्दाको गोलाले नै आँफुलाई गीत गाउने र हजारौं मानिसको अगाडि उभिएर बोल्न सक्ने बनाएको बताए । धौलागिरी क्यासेट सेन्टरले २०६३ सालमा बजारमा ल्याएको एल्वम ‘यो मायाँको छैन निको चाल’ सापकोटाको पहिलो एल्बम हो ।
तत्कालिन समयमा ११ हजार रुपैयाँ खर्च गरेर अडियो एल्बम बजारमा ल्याएका सापकोटाको गीतको म्युजिक भिडियो भने धौलागिरी क्यासेट सेन्टरले बनाएको थियो । अडियोको बजार रहेकै बेला बजारमा आएको पहिलो एल्बमबाट सफलता पाएका सापकोटाले आफ्नो लगानी मात्रै उठाएनन् पहिलो गीतबाटै हजारौं स्रोताको मन जितेर गन्न मिल्ने भन्दा पनि भन्न मिल्ने कमाई धेरै गरे । पहिलो एल्बम सफल भएकै कारण हौसिएका सापकोटाले हालसम्म ४० भन्दा धेरै गीति एल्बममा शव्द, संगीत तथा स्वर भरेका छन् । सापकोटाले स्वर भरेका सोच आँखा बन्द गरेर, डाँडै भयो अल्को, मुग्लीनमा भात खाँदा, जवानीमा धक्का, बागलुङमा कालिका, पिरती मिसाउने र कुश्मैमा झरेर लगायतका एल्बमहरु बहुचर्चित एल्बमहरु हुन् । प्रायः माया प्रेम र सामाजिक यथार्थमा आधारित रहेर गीत सिर्जना गर्ने सापकोटाले नेपाली लोक संस्कृतिको संरक्षण हुने खालका गीतहरुमा मात्रै आफु संलग्न रहेको दाबी गर्छन् । गीतको माध्यामबाट सामाजिक चेतना, मनोरञ्जन र प्रचार–प्रसार मार्फत आर्थिक विकास समेत गर्न सकिने बताउने सापकोटाले पर्यटन प्रबद्र्धन हुने हिसाबका केही गीतहरु समेत गाएका छन् । पछिल्लो समय एल्बमको बिक्री तथा रोयल्टीबाट गरिएको लगानी समेत नउठ्ने अवस्था रहेको भए पनि सापकोटा भने गीत संगीतमा गरेको लगानीबाट सन्तुष्ट रहेको बताउँछन् । एल्बमहरुमा समाबेश भएको शव्द, लय र स्वरका कारण संगीत बजारको स्टेजहरुमा आफ्नो कला बिक्री हुने भन्दै सापकोटाले संगीतको यात्रा फलदायी रहेको बताए ।
तिम्रो माया यो दिलमा चर्कै भो
तिम्लाई मन पराउने अर्कै भो
यो मायाँको छैन निको चाल
दुई मुटुको राम्रो मेल नहुँदा
जानाजानी छुट्यो मायाँ जाल ।
श्रीमती, एक छोरा र आँफु गरी ३ जनाको सानो परिवार रहेको सापकोटा जन्मदिने बाबुआमाको इच्छा र श्रीमती तथा छोराका चाहना पुरा गर्न गीत संगीतको क्षेत्रको कमाईलेनै काफी रहेको बताउँछन् ।
सांगठनिक रुपमा लोक तथा दोहोरी गीत प्रतिष्ठान धौलागिरीका अध्यक्ष समेत रहेका सापकोटा खेलकुदमा समेत रुची भएका कलाकार हुन् । पुराना कलाकारको सिको र नयाँ कलाकारलाई सिकाउँदै आएका सापकोटाले कलाकारको अधिकार तथा कर्तव्य र रोयल्टीका कारण मारमा परेका कलाकारको आवाज समेत उठाउँदै आएका छन् । सापकोटाले पुराना तथा नयाँ सबैखाले कलाकारका शव्द र लयमा रहेका गीतमा स्वर भर्दै आएका छन्भने सबैखाले कलाकारलाई शव्द र लय बनाएर सहयोग समेत गर्ने गरेका छन् ।
–तारानाथ आचार्य/बागलुङ
सापकोटाले गाएको पछिल्लो गित पिरती मिसाउने हेर्नको लागि यो लिंकमा जानुहोस