बागलुङ, २५ बैशाख– जिल्लाको काठेखोला गाउँपालिका– ७ रेशमा सोमबार महिलाहरुको पाठेघर, जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुका लागि एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लक्षित समुदायलाई गाउँघरमानै निःशुल्क सेवा दिने उद्देश्यले काठेखोला गाउँपालिका, वडा कार्यालय र रेश स्वास्थ्य चौकीको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको हो । शिविरबाट पाठेघर खस्ने तथा पाठेघर सम्बन्धी समस्या भएका महिलाहरु र जेष्ठ नागरीक तथा अपांगता भएका व्यक्तिहरुले आफ्नो स्वास्थ्य परीक्षण गराएको काठेखोला– ७ रेशका वडाअध्यक्ष प्रेम लामिछानेले बताए ।
जिल्ला जनस्वास्थय कार्यालय , धौलागिरी अञ्चल अस्पताल र निलगिरी अस्पताल बागलुङको प्राबिधिक सहयोगमा सञ्चालन भएको शिविरमा बिरामीहरुले गाउँघरमानै बिषेशज्ञ सेवा पाएको लामिछानेले बताए । गाउँ घरमानै स्वास्थ्य शिविर सञ्चालन गर्दा जेष्ठ नागरिक तथा अपांगता भएकाहरुलाई अन्य बिरामीलाई भन्दा सहज हुने र निशुलक शिविर भएकाले बिरामीलाई आर्थिक भार समेत नपरेको लामिछानेले बताए ।
न्यून आए भएका र बिपन्न परिवारका सदस्यहरुले शिविरबाट फाईदा लिएको रेश नुन्थला माविका शिक्षक बिष्णु गौतमले बताए । शिविरबाट ७२ जना पाठेघर खस्ने समस्या भएका महिला, ६२ जना जेष्ठ नागरिक र ८ जना अपांगता भएका व्यक्तिहरुले सेवा लिएका छन् । शिविरको अवसर पारेर महिला तथा बालबालिका कार्यालय बागलुङले काठेखोला– ७ रेशका ८ जना अपांगता भएका व्यक्तिहरुलाई अपांगता परिचयपत्र बितरण गरेको छ ।
सहायक महिला विकास निरिक्षक रचना आचार्यले उनिहरुलाई परिचयपत्र वितरण गरेकी थिईन् । शिविरमा निलगिरी अस्पतालका स्त्री रोग बिशेषज्ञ डाक्टर लक्ष्मी गौतम, धौलागिरी अञ्चल अस्पतालका मेडिकल अधिकृत याचना शर्मा, जिल्ला जनस्वास्थय कार्यालयका ल्याव टेक्नीशियन डिल्ली आचार्य र पहेन अधिकृत हरिकासी पालीखेले बिरामीहरुको उपचार गरेका थिए । शिविरमा रेश स्वास्थ्य चौकि निर्माणको लागि निशुल्क जग्गा प्रधान गर्ने लिलाधर शर्मा, श्यामप्रसाद गौतम, हिमकुमारी गौतम र बिष्णु गौतमलाई सम्मान गरिएको थियो । वडाअध्यक्ष प्रेम लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सिनियर अहेव देवी कार्की र सञ्चालन काठेखोला गाउँपालिकाका स्वास्थ्य संयोजक रामचन्द्र लामाले गरेका थिए ।
रेशमा निःशुल्क स्वास्थ्य शिविर १ सय ४२ ले लिए सेवा
Previous Articleप्रदर्शनपछि चलचित्र ‘डमरुको डण्डीबियो’ को गीत रिलिज
Next Article गोलाप्रथाले संगीतमा मोडिएका सापकोटा (भिडियो सहित)