बागलुङ, २१ बैशाख- यातायात व्यवसायीले सवारी साधन ग्यारेजमा थन्क्याएर शुक्रबार नागरिकको आवागमनको अधिकार हनन् गरेको भन्दै प्रहरीले धौलागिरीका ब्यवसायीलाई पनि पक्राउ गरेको छ । धौलागिरी अञ्चल बस व्यवसायी समितिका अध्यक्ष उमेश केसी, धौलागिरी अञ्चल जिप व्यवसायी समितिका अध्यक्ष बिष्णुप्रसाद अधिकारी र ट्याक्सी व्यवसायी समिति बागलुङका अध्यक्ष सन्तबहादुर पाख्रिनलाई बागलुङबाट पक्राउ गरेको हो ।
यातायात व्यवसायीले सिण्डीकेट गर्न नपाएर बन्द गरेको उपभोक्ता तहबाट समेत आरोप आइरहेको समयमा प्रहरीले पनि उनीहरुलाई पक्राउ गरेको हो । केही समयदेखि व्यवसायीहरु विभिन्न माग राखेर आन्दोलनमा छन् । यातायात समितिहरु खारेज गरेर सबैलाई कंपनीमा दर्ता गर्न सरकारले आग्रह गरिसकेको छ । समितिका पदाधिकारी, व्यवसायीहरुले भने सरकारी निर्देशन वेवास्ता गर्दै आन्दोलनका कार्यक्रम भन्दै सवारी साधन ग्यारेजमा थन्क्याएका हुन् ।
उनीहरुले आम नागरिकको अधिकार हनन् गरेकोले पक्राउ गरेर अनुसन्धान गरिएको प्रहरी नायव उपरिक्षक विश्वराजसिंह थापाले बताए । समितिले सवारी साधन संचालन नगर्दा बागलुङबाट छुट्ने लामो तथा छोटो दुरीकालागि निस्केका यात्रीहरु अलपत्र परेका थिए । विशेषगरी बागलुङबाट बुर्तिवाङ, कुश्मा, पोखरा र राजधानी लगायतका शहरमा जाने यात्रीले सास्ती खेपेका हुन् । केही ग्रामीण क्षेत्रमा भने निजी सवारी, पिकअप लगायतले समेत यात्री ओसारेकोले पूर्ण रुपमा असर भने नपरेको हो ।
खाद्यान्न लगायतका सामाग्री ओसार पसार गर्ने सवारी भने शुक्रवार चलेका थिए । सिण्डीकेट खारेज भएपनि व्यवसायीले जवरजस्ती लाद्न खोजेको बिषयले भने राष्ट्रिय रुपमा चर्चा पाएको छ । यात्रीलाई दुःख दिने, मनोमानी भाडा असुल गरेकोमा भने आम उपभोक्ताको गुनासो आउने गरेको छ । कंपनीमा गएको बागलुङ भगवती यातायात प्रालिले भने शुक्रवार नियमित सवारी चलाएको थियो । तर उक्त कंपनीले पनि अन्य सवारी नचलेको समय पारेर मनोमानी भाडा असुल गरेको यात्रीले गुनासो गरेका छन् ।
Previous Articleभकूण्डेमा संस्कृति झल्कने संग्रालय
Next Article यातायात व्यवसायी महासंघका महासचिव सिटौला पक्राउ