काठमाडौं, २१ वैशाख – सार्वजनिक सवारी बन्द गर्ने यातायात व्यवसायी समिति र संघका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले निर्देशन दिएका छन् । देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई लिखित निर्देशन पठाउँदै गृहमन्त्री थापाले अत्यावश्यक सेवा ऐन २०१४ अनुसार गाडी सञ्चालन नगर्ने व्यवसायीहरुलाई लाई पक्राउ गर्न निर्देशन दिएका हुन् । ऐनमा ६ महिनासम्म कैदसम्म गर्न सकिने व्यवस्था छ । हड्ताल गर्न उक्काउनेलाई एक वर्षसम्म कैद सजायको गर्न सकिन्छ ।
गृहमन्त्रालय स्रोतका अनुसार मन्त्री थापाले शुक्रबार यातायात बन्द गरेपछि यस्तो निर्देशन दिएका हुन् । मन्त्री थापाले सिन्डिकेट चलाउँदै आएका यातायात समिति र संघको नाममा रहेको सम्पत्ति छानबिन गर्न समेत सिडिओहरुलाई निर्देशन दिएका छन् ।
सरकारले सिन्डिकेट हटाउने निर्णयसँगै समिति र संघलाई खारेज गरेर कम्पनी ऐन लागू गरेपछि यातायात व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले सिन्डिकेट हटाएको विरोधमा यही वैशाख २८ गतेदेखि देशभरको यातायात अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेका छन् । सरकारले केही दिन अघि अत्यावश्यक सेवामा हड्ताल निषेध गर्नेगरी राजपत्रका सूचना निकालेको छ ।