पोखरा, २१ वैशाख – सिन्डिकेटको पक्षमा दबाब दिन यातयात व्यवसायीको सार्वजनिक सवारी साधन नगुडाएका कारण चार नम्बर प्रदेशको राजधानी पोखरालगायत अधिकांश जिल्लाको जनजीवन प्रभावित बनेको छ । छोटो तथा लामो दुरीका यातयातका साधन नचल्दा सर्वसाधारणले सास्ती पाएका छन्। कतिपय हिँडेरै गन्तव्यतर्फ लागेका छन्।
पृथ्वीराजमार्ग बस व्यवसायी समिति, पोखरा नगर बस, बिन्ध्यावासिनी बसलगायत समितिका सार्वजनिक सवारी साधन नचलेका हुन। सिन्डिकेटको विपक्षमा उत्रिएको बिन्ध्यवासिनी बस व्यवसायीसमेत आन्दोललाई साथ दिएको छ। पोखरा बजारमा ट्याक्सी पनि खासै चलेका छैनन्। पोखराबाट देशका विभिन्न स्थानमा जाने र बाहिरबाट यहाँ आउने सवारी साधन पनि आएका छैनन्।
यसैबीच कास्कीका प्रमुख जिल्ला अधिकारी तारनाथ अधिकारीले सार्वजनिक यातयात अत्यावस्यक सेवा भित्र परेको र कुनै पनि बहानामा यसलाई रोक्न नहुने बताए। सेवा रोक्नेविरुद्ध अत्यावस्यक सेवा ऐन अन्तर्गत मुद्दा चलाउन प्रहरीले आवश्यक प्रक्रिया अघि बढाइसकेको उनले बताए।
यसरी सेवा रोक्ने समितिको खारेजीदेखि रुट ईजाजतसमेत रोकिने र समितिका पदाधिकारीको हकमा व्यक्तिगत सम्पत्तिको छानबिनसमेत गरिने प्रजिअ अधिकारीको भनाई छ।