डा.सुशिला वैद्य
महिनावारी एक प्राकृतिक प्रक्रिया हो । तर यससम्बन्धी उचित ज्ञान नहुँदा र ध्यान नदिँदा समस्या निम्तिने गर्छ । जसले गर्दा कति महिला शारिरीक रुपमा मात्रै होइन, मानसिक रुपमा पनि पीडा खेपिरहेका छन् । कतिपयले यस बारेमा उचित ज्ञान नपाएर प्रशस्त भ्रम पालेका छन् ।पछिल्लो समय हर्माेनजन्य औषधिको प्रयोग गर्ने महिला बढेका छन् । जसका कारण पनि समस्या आइरहेको छ । कतिपयले महिनावारीसँग सम्बन्धित भएर आउने समस्यालाई लाजका विषय बनाउँदा जटिल स्वास्थ्य समस्या निम्त्याइरहेका छन् ।
कसैलाई केही नहुने र कसैलाइ धेरै पेट दुख्ने हुन्छ किन ?
पाठेघरको भित्री लाईनिङ बाक्लिन थालेपछि महिनावारी सुरु हुन्छ । महिनावारीको समयमा हुने पीडालाई चिकित्सकीय भाषामा ‘डिस्मेनोरिया’ भनिन्छ । यसबाट जोगिनका लागि दुखाई कम गर्ने औषधिको प्रयोग गर्ने बढेका छन्। दुखाईको औषधि जथाभावी प्रयोग गर्दा धेरै नकारात्मक असरहरु देखा पर्न सक्छ । यो औषधिको सेवन गर्नै पर्यो भने चिकित्सकको सल्लाह लिएर मात्रै गर्नुपर्छ। तर, रक्तश्रावको मात्रा बढी भयो वा दुखाइ सहनै नसक्ने भयो भने स्वास्थ्य संस्थामा सम्पर्क गर्न जरुरी हुन्छ । घरमा नै तातो झोल पदार्थको सेवन र मनतातो पानीले नुहाउँदा पनि केही कम हुन्छ। यसो गर्दा आराम मिल्छ । महिनावारीको बेलामा पोसिलो खानेकुरा पनि खान जरुरी हुन्छ ।
महिनावारी हुँदा धेरै रगत बग्नु समस्या हो ?
यो धेरै महिलाको चिन्ताको विषय बनिरहेको छ । कतिपय महिलामा सामान्यभन्दा बढी रगत बग्ने हुन्छ । त्यसैले यस विषयमा उनीहरु चिन्तित देखिन्छन् । महिनावारीको समयमा दिनको ३, ४ वटा प्याड चेन्ज गर्न सामान्य हो तर त्यो भन्दा बढि भयो भने बढी ब्लिडिङ भएको मानिन्छ ।बढी रगत बग्नुमा विभिन्न कुराले भूमिका खेलेका हुन्छन् । त्यसमा पहिलो वंशाणुगत हुन सक्छ । कतिपय अवस्थामा रगतमै खराबी भए पनि त्यसको असर महिनावारीमा देखिने गर्छ । हर्मोनको गडबढी पनि यसको कारण हुन सक्छ । कहिलेकाहीँ पाठेघरमा कुनै संक्रमण हुने संभावना महिनावारीका बेला बगिरहेको रगतले दर्शाउँछ । कम रगत भयो भनेर पिर मान्ने महिलाको संख्या पनि धेरै छ । यस्तो अवस्थामा चिन्ता लिइराख्नु पर्दैन । तर, सँधै ठीक मात्रामा हुन्थ्यो र एक्कासी रगत नै भएन भनेचाहिँ समस्या पहिल्याउनतर्फ लाग्नुपर्छ।
महिनावारी रोक्ने वा सार्ने औषधिको प्रयोगले असर गर्छ ?
सबैभन्दा पहिले हाम्रो शरिरको चक्रलाई नियमित छोडिदिनु पर्छ । कुनै पनि प्रक्रियालाई रोक्न वा छेक्न खोज्नु आफैँमा नराम्रो हो । महिलाहरु आजकल धेरै व्यस्त हुन थालेका छन् । जसले गर्दा कहिलेकाहिँ कामको व्यस्तताले गर्दा महिनावारी पर सार्न उनीहरु बाध्य हुने गरेका छन् ।यसका लागि चिकित्सा विज्ञानले केही औषधि पनि उपलव्ध गराएको छ । तर, यो औषधि महिला स्वास्थ्यका लागि लाभदायी हुदैन । नेपालमा हिन्दु धर्म धेरैले मान्ने र धार्मिक काम गर्न नहुने मान्यतालाई सबैभन्दा पहिले हटाउन जरुरी छ ।
महिनावारी गडबढ किन हुन्छ ?
महिनावारी समयमै नभएको गुनासो गर्ने महिलाको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । नियमित समयमा महिनावारी नहुनुको कारणमा हर्मोनको असन्तुलन हो । शरीरमा हुने इन्ड्रोक्राइन ग्ल्यान्डले उत्सर्जन गर्ने हर्मोनले महिनावारी समयमै गराउने गर्दछ । यसरी उत्सर्जन हुने हर्मोनको सन्तुलन बिग्रियो भने महिनावारी गडबड हुन्छ ।
कहिलेकाहिँ खानपानको कारणले पनि महिनावारी तलमाथि पर्न जान्छ । पोषणको अभावका कारण महिला कमजोर हुने गर्दछन् । त्यस्तै असाध्यै मोटाउँदा अथवा दुब्लाउँदा शरिरमा महिनावारी गराउने तत्वको मात्रा घटबढ भई महिनावारीमा अनियमितता आउने गर्दछ । तनाव पनि महिनावारी गढबढीको कारण मध्यमै पर्छ । बढी तनाव भएको महिना महिनावारी तलमाथि पर्न सक्छ ।
पाठेघरका विभिन्न किसिमका समस्याले पनि महिनावारी रोकिन सक्छ । यसैगरी उमेरका कारण पनि महिनावारीमा गढबढी आएको हुनसक्नेमा ध्यान दिन जरुरी हुन्छ जस्तो कि महिनावारी भएको सुरुको ४ देखि ५ वर्षको अवधिमा तलमाथि भई नै रहन्छ र महिनावारी सुक्ने अवस्थामा पनि तलमाथि परे डराउन हुदैन् । महिनावारी २१ देखि ३५ दिनसम्मको लागि नर्मल साईकल भनिन्छ ।
तर सबैको पाठेघरको बनोट एउटै नहुने भएकाले सबैको चक्र एउटै हुँदैन । ३–४ दिन यता–उता भयो भने खासै फरक पर्दैन तर १० दिन ढिला भयो भने त्यसलाई गडबढी भएको बुझ्नुपर्छ तर कसैको हरेक महिना ४० दिनको फरकमा हुन्छ भने त्यसलाई गडबढी मान्न हुँदैन । ‘महिनावारी गडबढी व्यक्तिपिच्छे फरक पर्ने हुन्छ । २१, २८ वा ३० दिनमै महिनावरी हुनु पर्ने कुनै नियम छैन । सुरुदेखि जस्तो भइरहेको छ । अहिले पनि त्यस्तै हो भने त्यो सामान्य हो ।’ यसैगरी तीन चार दिनको तल माथि हुनुलाई पनि सामान्य नै मानिन्छ।
सरसफाईको कमीले कस्ता किसिमका समस्या देखापर्छन ?
महिनावारीमा विशेष ध्यान दिन आवश्यक छ । महिनावारी भएको समयमा संक्रमण हुने सम्भावना उच्च रहन्छ । रगत यस्तो माध्यम हो, जसमा जिवाणु छिटो हुर्किने गर्दछन्। रगत बगिरहेको छ तर सरसफई छैन भने संक्रमण हुने गर्दछ । महिनावारी भएको समयमा सकेसम्म प्याडको प्रयोग गर्नु पर्दछ यदि सम्भव छैन भने कपडा राम्रोसँग घाममा सुकाएर ,आइरन लगाएर लगाउन डा. वैद्यको सुझाव प्रयोग गर्नु पर्दछ ।
के के कुरामा ध्यान दिनुपर्छ ?
किशोर अवस्थामा प्रवेश गर्दै गरेकी बालिकालाई महिनावारीसम्बन्धी जानकारी दिन एकदम आवश्यक हुन्छ। ‘महिनावारीका बारेमा शारिरीक मात्रै होइन, मानसिक हिसाबले पनि परिपक्व हुनु पर्छ। आफूले सहज रुपमा खलिनु पर्छ र क्यालेण्डरमा चिन्ह लगाउनु पर्छ र साथैमा प्याड बोकेर हिँड्नु पर्छ । जसले गर्दा जनस्तरकै ठाउँमा जाँदा पनि सजिलो हुन्छ । आफूलाई मन पर्ने मुभि तथा बुक पढ्न, आफूलाई कुनै न कुनै सजिलो काम मा व्यस्त राख्न र पोषिलो खानेकुरा खाने गर्नुपर्दछ। (डा.सुशिला वैद्यसँग भएको कुराकानीमा अाधारित)