सन्देश श्रेष्ठ
पोखरा – आगामी ३ असोजमा संविधान दिवसको दिन पोखरामा ‘कन्दरा व्याण्ड लाइभ कन्सर्ट’ हुने भएको छ । लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी र लायन्स क्लव अफ पोखरा मेट्रोसिटीको संयुक्त आयोजनामा कन्सर्ट हुने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
कन्सर्टमा पोखरेली चर्चित व्याण्ड ‘कन्दरा व्याण्ड’ले आफ्ना नयाँ तथा पुराना गीतहरु प्रस्तुत गर्नेछन् । कार्यक्रममा कन्दराका गायक विवेक श्रेष्ठसहित पूरै टिम उपस्थित हुने आयोजकले दाबी गरेको छ । कन्दराले पोखरा सभागृहमा १८ वर्षपछि लाइभ कन्सर्ट गर्न लागेको हो । यद्यपी पोखराको अन्य ठाउँमा भने कन्दराले यसअघी पनि लाइभ कन्सर्ट गरिसकेको छ ।
अनाथ तथा टुहुरा बालबालिकाहरुको लागि छात्रवृति प्रदान गर्ने उद्धेश्यले कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक विना गुरुङले जानकारी दिइन् । गीत/संगीतको क्षेत्रमा भइरहेको पाइरेसी लगायतका बिसंगती अन्त्यका लागि कन्दरा ब्याण्डले चालेको अभियानलाई सघाउनु पनि कार्यक्रमको उद्धेश्य रहेको उनले बताईन् । उनले पोखरामा कन्सर्ट सम्पन्न भएपछि अन्य १५ सहरमा पनि लाइभ कन्सर्ट गर्ने तयारीमा रहेको जानकारी दिईन् ।
लाइभ कन्सर्टमा प्रवेशका लागि एक हजार, पाँच सय र विद्यार्थीको लागि ३ सय टिकट दर तोकिएको आयोजक समितिका सचिव सुशिल नेपालीले बताए ।