कृष्ण प्रसाद शर्मा
केही हप्ता अगाडी महालेखा परिक्षणको कार्यालयले यो बर्षको बेरुजुको सगरमाथा बाहिर निकाल्यो । समाचारका लागि करिब एक हप्ता राम्रै खपत भए । फेरी अहिले सुनशान भयो । महालेखाले निकालेको बेरुजु एकै बर्षको पक्कै होईन । शुरु शुरुका बेरुजुका थुम्का आज सगरमाथा नै भए अब यसलाई चढेर ऋण शुन्य पार्ने पशुपति अझै कतै जन्मिएलान कि भनेर बसिरहेका छौं । यसै साता एउटा समाचार आयो की नेपालीको प्रतिव्यक्ति आम्दानी बढेर एक लाख पुग्यो भनेर । समाचार पढ्दा हाँसो नै उठ्छ । हामीले करीब तीन हप्ता अगाडी मात्रै अर्थमन्त्रीले श्वेतपत्र जारी गरेर नेपाली अर्थतन्त्रको अस्तिपञ्जर बाहिर ल्याएका थिए फेरी यति छिटै नेपालीको प्रतिव्यक्ति आए बढ्यो भन्दा अचम्म नै लाग्छ । गरीब नेपालीलाई धेरै कुराले थिचेको छ । सानो खुशीमा ठुलो जात्रा गर्ने प्रवृत्ति रहेका नेपालीलाई यो प्रतिव्यक्ति आयको समाचारले खुशी दिन्छ भनेर भनिएको होला तर कागजमा बढेर चुलोमा आगो कहिले बलेको थियो र आजसम्म ।
यहि हप्ता एउटा समाचार आएको छ की प्रत्येक नेपालीको थाप्लोमा फेरी दुई हजार सात सय जति ऋण थपियो भनेर । हामीले हरेक दिन राज्यबाट पाउने सुचनाको बिश्लेषण गर्दा समेत हामीलाई कति तल झारेर समाचार बनाईन्छ यसैबाट थाह लाग्छ । प्रतिव्यक्ति आय बढ्यो, ऋण दुई हजार जति थपियो अनि बेरुजुको सगरमाथामा थप अग्लो हुँदैछ, अर्थतन्त्र अस्तिपञ्जर श्वेतपत्रमा छ अनि यसलाई बिश्लेषण गरौ की हामीलाई कसरी थाङनामा सुताईएको छ । बेरुजु कसरी निस्कियो थाहा नभएको पनि होईन । निवार्चन आयोगका महंगा खाजादेखी ट्याक्सी भाडासम्म बाहिर आए । कर्मचारीका बिदेशी भ्रमणदेखी नेताहरूका भ्रमणका हिसाब पनि देखिए । महालेखाले दिएकै तथ्याङमा अडिएर हेर्दा तात्कालिन शिक्षामन्त्री गोपालमान श्रेष्ठ र उनका मन्त्रालयका सचिव अष्ट्रेलियामा बिना कुनै काम घुमेर आएको रकम एक करोड त्यो बेरुजुमा देखाईएको छ । यो त एउटा प्रतिनिधि उदाहरण भए यसबाहेक काठमाण्डौमा आफ्नो घर भएर पनि राज्यको पैसा लिने त बेरुजुमा आएका छैनन् । निर्वाचन आयोगले जसरी मनपरी खर्च गर्यो त्यसलाई कसैले ईङगित गर्न सकेनन किन कि आयोगमा कर्मचारी ल्याउँदा नै आफ्नो भनेर ल्याईएको थियो ।
रकम हिनामिना नै हो भनेर महालेखाले बेरुजुमा हालेको छ । रकम दुरुपयोग गर्ने मान्छेहरू जिउँदै छन्भने त्यो रकमको ऋण गरीबको थाप्लोमा किन हालिएको छ । सानो बारीको टुक्रा समेत बेचेर खाडी पसेका गरीब नेपालीलाई न बैंकले न साहुले छोड्छ भने हाम्रो कर र रेमिटान्सले अडिएको अर्थतन्त्रमा हिनामिना गर्नेलाई किन कार्वाही हुँदैन ? के गरीबले ऋण लिएको भए बैंकले छोडिदिन्थ्यो ? हरेक सरकार गठनसंगै बेरुजु उठाउन भनि समिति समेत गठन गरिन्छ । समितिले एक दुई जनासंग राजनैतिक रिसिबीका आधारमा पैसा उठाउन ताकेता गर्छ तर नौ महिने सरकार ढल्छ यसरी नै हरेक पटक रकम नउठी चर्चा चल्छ बेरुजुको । यो सरकार स्थायित्वका लागि भनेर भोट मागे जनता दिए अब के बेरुजुको रकम जनताको ऋणमा थपेर बस्ने की उठाउन लागी पर्ने ? जनताले बिजुली नबालेरै भए पनि हरेक महिना मिटरको पैसा तिरेकै थिए र छन् अझै, पानी धारामा नआए पनि मिटरको पैसा तिरेकै छन् । अब अझै नखाएको ऋण जनतामा किन थपिदिएका छन् । बक्यौता रहेका ठुला–ठुला फर्म र राज्यकै निकायलाई राज्यले नै केही गर्ने आँट छैन । शिक्षाको मन्दिर त्रिभुवन विश्वविद्यालयमै राज्यलाई तिर्नु पर्ने ठुलो रकम बक्यौता रहेछ । राज्यलाई राज्यकै निकायले नटेरेपछि अरूले किन टेर्थे । बेरुजु उठाउन ठुलो आईडीया लगाउन समेत पर्दैन । जुन व्यक्ति वा संस्थासँग बेरुजु जोडिएको छ उसलाई राज्यले तलबमा मासिक घटाएर दिए पुग्छ वा व्यक्ति होभने राज्यका सुविधा लिन बञ्चित गरे पुग्छ तबसम्म जब सम्म बेरुजु तिर्दैन । यस बाहेक संस्था वा व्यक्तिका चल अचल सम्पत्ति समेत रोकेर लिन सकिन्छ । कतिपयको भनाई के छभने सत्तामा हुँदा राज्यको तर्फबाट गरेका भ्रमण र कामको पैसा व्यक्तिलाई किन देखाउने भनेर । हो व्यक्तिलाई देखाउन नपर्ने भए त्यो सम्बन्धित संस्था वा व्यक्तिले आँफुले प्रयोग गरेको रकम बापत के काम भयो देखाए पुग्छ तर विदेशमा गएर समुन्द्री किनारमा सयर गरेका फोटालाई बेरुजु छैन भनेर देखाउन मिल्दैन ।
यदि नेता वा कर्मचारीले लगाएको ऋण जनताको भागमा पर्ने होभने नेपालका बैंकमा खाडी जान वा वैदेशिक रोजगारमा जान लिएको रकम मिनाह गर । बेरुजु माथि पु¥याएर छोडेका नेताहरूलाई कार्यकर्ताले छिछि गर्नुपर्नेमा झन् छाती ठुलो पारेर समर्थन गरेको देखिन्छ साथै पार्टिहरुका बैठकमा कहिल्यै यसरी आफ्ना नेताहरूले बेरुजु सृजना गरेकोमा न त छलफल हुन्छ नत कहिलै यसलाई झार्न कुनै बहस नै । विदेशमा पनि वेरुजु न निस्कने होईन तर महालेखाले तीस भित्र कसका कारण आएको हो त्यसका नाममा फाईल निर्माण हुन्छ र अनुसन्धान थालनी हुन्छ । गरीबले आफ्नै सन्तान पाल्न खाडीमा उँट चराउन पुगेका छन् । आफ्नै बारीको टुक्रा सकेका छन् भने अझै राज्यले नखाएको र नलिएको ऋणको भार थप्न मिल्दैन । बेरुजु उठाउ पहल गर । अब अरूको मोजमस्तिको ऋण गरीबलाई नबोकाउ ।
Previous Articleसात दिने पत्रकारीता तालिम सुरु
Next Article प्रदेशको नाममा सबैको अपनत्व होस्