बागलुङ, २० असोज – तीन साता अघि भएको अन्तरजातीय विवाहका जोडीविरुद्ध अभिभावकहरु लागेपछि तनाव शुरु भएको छ । कुश्मीसेरास्थित शान्ति उमाविमा कक्षा ११ मा अध्यनरत बबिन परियार र हेमन्ती थापाले प्रेम विवाह गरेका थिए ।
उनीहरुको विवाहविरुद्ध केटी तर्फका अभिभावक लागेपछि तनाव सिर्जना भएको हो । केटीका अभिभावकले केटाविरुद्ध अदालतमा बलात्कार मुद्धा दायर गरेको केटा पक्षले दाबी गरेका छन् ।
उक्त घटनापछि केटा सम्पर्कविहिन भएकोले केटा पक्षले अपहरण परेको अनुमान गरेको छ । बेपत्ताको खोजी गरिदिन सहयोग गर्न पिडित केटा पक्षले मानव अधिकारकर्मी, संचारकर्मी र प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।
२०५७ साल जन्ममिति भएका दुवैजना १६ बर्षको भएकोले भागी विवाह गर्ने उमेर नभएको भन्दै अघिल्लो साता प्रहरीमा सर्वदलीय राजनीतिक संयन्त्र र दुवै पक्षका अभिभावक बसेर छलफल गरी केही समय आफ्नो–आफ्नो घरमा राख्ने निर्णय गरेका थिए ।
उक्त निर्णयपछि प्रहरी परिसरबाटै भागेका उनीहरुलाई केटी पक्षले आरोपप्रत्यारोप र बलात्कार गरेको आरोप लगाएपछि तनाव सिर्जना भएको संयुक्त राजनीतिक संघर्ष समिति बागलुङका संयोजक धनबहादुर परियारले बताए ।
केटा दलित परिवारको र केटी जनजाति परिवारको भएकोले यो घटनामा जातीय विभेद भएको उनीहरुले ठहर गरेका छन् । २१ औं शताब्दीमा आएर पनि छुवाछुतको विभेद कायमै रहनु लज्जास्पद र दुर्भाग्यपूर्ण भएको भन्दै उनीहरुले संयुक्त प्रेस विज्ञप्ती प्रकाशित गरी बुधवार पत्रकार सम्मेलन समेत गरेका थिए ।
कानूनी रुपमा दण्डनीय मानिएको जातीय विभेद अनुसार दोषीलाइ कारवाही गर्न पनि विज्ञप्तीमा माग गरिएको छ । उमेर नपुगेकोले अभिभावकको संरक्षकत्वमा बस्ने निर्णय विरुद्ध केटीपक्षले केटालाई बेपत्ता बनाएकोले मानवअधिकारको उल्लंघन भएको समेत उनीहरुले ठहर गरेका छन् ।
उक्त घटनालाई अतिरञ्जित बनाएर प्रेम विवाहलाई पनि बदनाम गरिएको बताइएको छ । विज्ञप्तीमा केही संचारमाध्यममा समेत एकतर्फी समाचार प्रकाशित भएको भन्दै उनीहरुले विरोध गरे ।
मुद्दालाई वास्तविकता भन्दा फरक पारेर झुट्टा बनाई आएका खवरप्रति खेद व्यक्त गर्दै सत्यतथ्य ल्याइदिन पनि माग गरिएको छ । झुटा मुद्धा खारेज र सम्पर्कविहिन भएका केटाको खोजी गरिदिन आग्रह गर्दै केही भएमा त्यसको जिम्मा केटीपक्षले लिनुपर्ने समेत चेतावनी दिएका छन् ।
उनीहरुले घटनालाइ अतिरञ्जित गरिएमा सशक्त प्रतिवाद गर्ने समेत बताएका छन् । उक्त अवसरमा तराइमा १६ बर्षकै उमेरमा भएका धेरै विवाहका घटनामा प्रशासनले वास्ता नगरेको र यहाँ दलित परिवार जोडिएकोले साथ र सहयोग पाउन नसकेको संजालका अध्यक्ष टकबहादुर बोहराले बताए । केटी पक्षले बलात्कार गरेको लगायतका मुद्दामा २५ जनालाइ दोषि देखाएको उनीहरुले गुनासो गरे ।
संजालका अध्यक्ष बोहोराको अध्यक्षता र धनबहादुर परियारको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । अन्तरजातीय विवाह मार्फत सामाजिक कुरीती तोड्न पहल गर्नुपर्नेमा विभेद गरिएकोमा कानूनी शासनको खिल्ली उडेको उनीहरुले भनाई छ ।
घटनामा केटीका बाबुले भने विवाहलाई स्विकारेर जानुपर्ने बताएको र अन्य व्यक्तिले विभेद सिर्जना गरेको उनीहरुको ठहर छ ।
Previous Article‘संविधान कार्यान्वयन गर्नु दलिय दायित्व’
Next Article ढोरपाटनमा आफूखुसी सिकार गर्दै विदेशी