राष्ट्रपति रनिङ शिल्ड शुरु
बागलुङ, १७ बैशाख– हरेक बर्ष आयोजना गरिंदै आईएको राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता आईतबारदेखि सदरमुकाम बागलुङस्थित बाङ्गेचौर खेल मैदानमा शुरु भएको छ । माध्यामिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको क्षमता विकास गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिंदै आइएको हो । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले उद्घाटन गरे । जिल्लाभर खेलप्रति जागरण ल्याउने लक्ष्यसहित क्षेत्रीय रुपमा खेल सम्पन्न गरी जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष धनबहादुर परियारले बताए ।
३५ विद्यालयका ४ सय खेलाडीले प्रतियोगितामा भाग लिनेछन् । प्रतियोगितामा एक सय मिटरदेखि पाँच हजार मिटर सम्मका छात्र तथा छात्राका लागि दौड प्रतियोगिता समावेश गरिएको छ । छात्र तथा छात्रा भलिबल प्रतियोगिता, एथलेटिक्स, मार्सल आर्ट लगायतका खेल समावेश छन् । प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलको विकास गर्न सकेमा अस्पतालका लागि लगानी गर्न नपर्ने बताए ।
हरेक नागरिकलाई खेल र व्यायाममा सक्रिय बनाउन सकेमा अहिलेका धेरै रोग निवारण हुने उनको धारणा छ । ‘हामीले खेलमा लगानी बढायौं भने स्वस्थ्य नागरिक उत्पादन हुन्छन्, त्यसले स्वास्थ्यको लगानी घट्दै जान्छ’ विश्वकर्माले भने, ‘अब हरेक गाउँपालिका तहसम्म खेलका लागि पूर्वाधारहरु निर्माण गर्न जरुरी छ ।’ राज्यको ध्यानाकर्षण गराएर पूर्वाधार निर्माणमा पहल गर्ने समेत उनले बताए ।
साथै उनले खेललाई राज्यको अभिन्न अंग बनाउने अभियानमा सबै क्षेत्रको साथ र सहयोग चाहिनेमा पनि जोड दिएका थिए । कार्यक्रममा प्रतिनिधिसभाका सांसद डा. सूर्य पाठकले बेरोजगार युवा जमातलाई बिदेशमा पठाउनुको साटो खेल क्षेत्रमा आर्कषित गरेर राज्यको शिर उचो हुने खेलमा बिजयी बनाउने अभियानमा लाग्नुपर्ने बताए । उनले लाखौं युवाको रोजगारी खेल क्षेत्रबाटै संभव हुने पनि बताए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारको अध्यक्षता, पत्रकार नविन शिशिर बिकको संचालनमा सम्पन्न प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रदेश सांसद साबित्रा राना, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा मार्सल आर्टका खेलाडीले साहसिक खेल तथा कला कौशल प्रस्तुत गरेका थिए ।
विभिन्न विद्यालयबाट आएका बिद्यार्थीले साँस्कृतिक क्रियाकलाप र मार्चपास समेत गरेका थिए । त्यस अघि मन्त्री विश्वकर्माले एमाले पार्टीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पनि सम्बोधन गरेका थिए । उनले पार्टी संगठन र जिल्लाको राजनीतिक अवस्था बारेमा जिल्लाका कार्यकर्तासँग छलफल गरेको एमाले श्रोतले जानकारी दियो ।