बागलुङ, १७ बैशाख– सदरमुकाम धाउँदा धेरै खर्च लागेपछि सास्ती खेपेर खोलाको पानी खान बाध्य ढोरपाटनबासीलाई नेपाली सेनाले खानेपानीको योजना बनाइदिएको छ । पटक–पटक सदरमुकाम पुगेर योजना माग गर्दा धेरै खर्च भएको तर काम नपाएका स्थानीय यो योजनाबाट लाभान्वित भएका छन् । उत्तरगंगा खोलाको पानी कपडाले छानेर खानुपर्ने बाध्यता समेत अब हटेको स्थानीयले बताए । ‘नेपाली सेनाको हनुमानध्वज गुल्मले हामीलाई पानी ल्याईदिएको छ, अब धाराको पानी खान पाइयो’ ढोरपाटनका होमबहादुर बिकले भने, ‘यो योजनाले दैनिक दुई तीन घण्टाको समय बचाएर अन्य काममा लगाउन पाईने भयो ।’ खानेपानी आयोजना निर्माणका लागि जिल्लाका विकासे कार्यालयदेखि खानेपानी डिभिजन धेरै पटक धाएर पनि बिकले आयोजना पुरा गर्न सकेका थिएनन् । कतैबाट सहयोग नपाएपछि यहाँका ८० घरले उत्तरगंगा खोलाको पानी खाएर जीवन कटाएका थिए ।
सहयोगका लागि उनीहरुले सेनालाई पनि गुहारे । सेनाले आवस्यक सामाग्रीमा आर्थिक लगानी गरेपछि सबै काम श्रमदानबाटै निर्माण गरिदिएको छ । १० लाख रुपैयाँको ट्यांकी र धाराका लागि सामाग्री खदिरबाहेक निर्माणको सबै काम सेनाले श्रमदानबाट बनाईदिएको हो । ‘हामी यहाँ आएको दुई बर्ष पुग्नै लाग्यो, धेरै मानिसले दुःख पाएको देखेपछि हाम्रै खाने खर्च कटाएर सहयोग गरेका हौं’ ढोरपाटन सुरक्षार्थ बसेको हनुमानध्वज गुल्मपति अमरजंग बस्नेतले भने, ‘नियमित सरसफाई, स्वास्थ्य उपचार लगायतमा पनि स्थानीयलाई सहयोग गरेका छौं ।’ आर्थिक रुपमा बिपन्न र दलित परिवारहरुको बस्ती भएकोले खानेपानीका लागि लगानी गर्न नसक्दा बर्षौदेखि समस्या खेपेको भेटेपछि मुख्यालयको अनुमतिले यो काम गरेको उनले बताए । उपभोक्ता समिति गठन भएपनि खर्च नभएर काम नभएको ढोरपाटनस्थित लामाथान खानेपानी योजनाले पूर्णता पाएको हो ।
आयोजनाले लामाथान, थापाटोल र स्यालपाखेका ८० घरलाई खानेपानी सुविधा पुगेको हो । सेनाले फिल्टर प्रणाली समेत बनाईदिएको छ । यो योजना बनेपछि बिहानैदेखि गाग्री बोकेर खोलामा झर्ने महिलाले घरधन्दा गर्न पाएको बताए । ‘बिहान उठेदेखि खोलाकै बास हुन्थ्यो अहिले खेतीपातीको काम गर्न पाएका छौं’ स्थानीय कुमारी बिकले भनिन्, ‘अब सफा पानी खान पाउने भयौं ।’ खानेपानी खेप्दा विद्यालय जान नभ्याउने बालबालिकालाई पनि समयमा पठाउन सकिने उनले बताईन् । यहाँका बालबालिका नियमित पढ्न नजाने तथा स्वास्थ्य समस्या भोगेकाहरु धेरै छन् । खानेपानीको समस्या यहाँको नवी, उत्तरगंगा लगायतका गाउँमा पनि उस्तै छ । उनीहरुले पनि खोलाको पानी खेपेर खाईरहेका छन् । सफा पानी खान नपाएर धेरै बालबालिका तथा महिलाहरु बिरामी हुने गरेको ढोरबराह प्राविका शिक्षक भीमबहादुर श्रेष्ठले बताए । ‘खाने अन्न समेत नभएका परिवारका बालबालिका पढ्न आउने गर्छन्, उनीहरुलाई समस्या भएमा विद्यालय रित्तो हुन्छ’ श्रेष्ठले भने ।
Previous Article२०७५ वैशाख १७ गते सोमबारको राशिफल
Next Article अस्पताल होइन खेलकुदमा लगानी – मन्त्री विश्वकर्मा