बागलुङ, वैशाख १२ -जिल्लाकोे गल्कोटमा भएको भीषण आगलागीका कारण एक हजार हेक्टर क्षेत्रफलमा फैलिएको जंगल जलेर नष्ट भएको छ । गल्कोट नगरपालिका वडा नम्बर ९ मा रहेको जंगलमा आगलागी हुँदा एक हजार हेक्टर क्षेत्रफल जंगल क्षेत्र नष्ट भएको हो । शनिबारदेखी सुरु भएको आगलागी सोमबारसम्म पनि नियन्त्रणमा आउन नसकेका कारण मौरीभीर सामुदायिक वन र राष्ट्रिय वन गरि करिब १ हजार क्षेत्रफल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख मनबहादुर बिकले बताए । आगोले मौरीभीर सामुदायिक वन, सानोझिर्का, काप्राधारा, अगुल्टे, रातपहरा, लिस्नोलाउनी र माटडारा वन क्षेत्र जलेर नष्ट भएको बिकले बताए ।
उनका अनुसार, आगलागीको उच्च जोखिममा रहेको बाङ्गेसल्लाको बस्ती भने प्रहरी प्रशासन, स्थानिय, वडा प्रतिनिधि लगायतको सयुक्त टोलीले सुरक्षित गरेको छ । गल्कोट नगरपालिका– ९ को बाङ्गेसल्लाका करिब २३ घरधुरी आगलागीको उच्च जोखिममा रहेका थिए । करिब ५० जनाको टोलीले केही मात्रामा आगो नियन्त्रण गरेपनि पुर्ण रुपमा नियन्त्रणमा ल्याउन नसकिएको बिकले जानकारी दिए । भिरालो र सल्लाका रुखहरु बढी भएका कारण आगो मल्मको छिसतिर गएको छ । मानवीय क्षति नभएपनि सम्पुर्ण वन क्षेत्र जल्दा करोडौंको क्षति भएको स्थानिय लिलाम्बर गौतमले बताए ।
Previous Articleबेतिथीभित्र व्यवस्थाको खोजी
Next Article राष्ट्रपति रनिङ शिल्ड बैशाख १७ देखि हुने