बागलुङ, वैशाख १२ -सुबिधा सम्पन्न भवन भएपनि कहिले कर्मचारीको अभाव त कहिले प्रशासनको कमजोरीका कारण बेला–बेलामा चर्चामा आउने गरेको धौलागिरी अञ्चल अस्पतालमा लामो समयपछि डायलाईसिस सेवा शुरु गरिएको छ । धौलागिरी अञ्चल भित्रका मृगौला पीडित बिरामीलाई लक्षित गर्दै एक बर्ष पहिला आएको मेसीन यसै सातादेखि संचालनमा आएको हो । दक्ष जनशक्तिको अभाव देखाउँदै अस्पताल व्यवस्थापनले मेसीनहरु थन्काएर राखेको थियो । एक बर्षभन्दा लामो समय सुरक्षण कोठामा थन्किएका मेसिनहरु सोमबारदेखी सञ्चालनमा आएका छन् । धौलागिरीका सबैखाले बिमारीको आशाको केन्द्र रहेको अञ्चल अस्पताल पछिल्लो समय सिफारिस केन्द्रको रुपमा विकास भैरहेको आम सर्वसाधारणबाट गुनासो आईरहेका बेला अञ्चल अस्पतालमा सुरु भएको मृगौला पीडितको उपचार बिधि कहिलेसम्म र कति प्रभावकारी हिसाबले सञ्चालन हुन्छ भन्ने बिषयमा अहिले चर्चा चल्न थालेको छ ।
दरबन्दीमा रहेको चिकित्सकको संख्या र अस्पतालमा रहेको प्रबिधिको उपलव्धतालाई हेर्ने होभने धौलागिरी अञ्चल अस्पताल ठुलो खालको अप्रेसन वा कुनै ठुलो बिमार बाहेक सबैखाले बिरामीको उपचार गर्ने क्षमता राख्ने अस्पताल हो । तर अञ्चल अस्पतालको लागि खटाईएका चिकित्सकहरु काममा उपस्थित नहुने र अस्पतालमा भएको प्रबिधिको प्रयोग गर्न सक्ने क्षमताका कर्मचारी अस्पतालमा उपलव्ध नहुँदा बिरामीको सहज सेवामा अस्पताल पटक–पटक चुकेको पाईन्छ । व्यवस्थापनले आफ्नो अधिकारको प्रयोग गर्दै प्रशासनिी कडाई नगर्दासम्म अस्पतालमा रहेको बेथितीको अन्त्य असम्भव जस्तै छ । सरकारले पटक–पटक ताकेता गर्दा समेत यस अस्पतालमा दरवन्दी भएर पनि काजमा सुगम क्षेत्रमा बस्ने चिकित्सकका कारण केही चिकित्सकको भरमा अस्पताल छ । अस्पतालको लागि कागजी रुपमा हेर्ने होभने कुनैपनि कुराको कमी देखींदैन । प्राप्त चिकित्सको दरवन्दी, प्राप्त प्रबिधि तथा उपचार सहयोग सामाग्री छन् तर बिरामीका लागि भने ति सबै कागलाई बेल पाक्यो हर्ष न बिस्मात भन्ने उखानलाई चरितार्थ गरिरहेका छन् । अस्पतालमा रहेका केही चिकित्सकले निकै मेहेनत गरेको भएपनि बाहिरबाट यहाँको दरवन्दीमा हाजिर हुनुपर्ने चिकित्सक नआउँदा समस्या जस्ताको त्यस्तै छ ।
दक्ष कर्मचारीको अभावको कारण एक बर्ष लामो समयपछि सञ्चालनमा आएको डायलइसिस मेसीन यसको ज्वलन्त उदाहरण हो । कयौं समस्या र बेथितीका बाबजुद सञ्चालनमा आएको डायलइसिस सेवा मृगौला पीडित बिरामीको लागि निकै आशालाग्दो बिषय हो । निजी स्वास्थ्य संस्थामा निकै महंगो रहेको यो सेवा सरकारको मातहतमा चल्ने अस्पतालमा सञ्चालनमा आउँदा यसबाट न्युन आय भएका बिरामी प्रत्यक्ष लाभान्वित हुने छन् । जे जस्ता अप्ठ्याराहरु पार गरेर भएपनि अञ्चल अस्पतालमा सञ्चालनमा आएको यो सेवाको दिगोपनको लागि अब अस्पतला प्रशासन र व्यवस्थापनले सोच्न जरुरी छ । अस्पतालले प्रदान गर्ने अन्तरंग, बहिरंग र प्रसूति सेवा जस्तै डायलइसिस सेवा पनि मन लाग्दा चल्ने र मन नलाग्दा अन्य अस्पतालमा सिफारिस गर्ने सेवाको रुपमा विकास भयो भने त्यो सबै धौलागिरीबासीको लागि दुर्भाग्य हुने छ । गाउँठाउँमा आएका सेवा लिन र दिन आमनागरीक र सरोकारवाला आ–आफ्नो तर्फबाट लागौं । अस्पताललाई आशाको केन्द्रको रुपमा विकास गरौं ।