बागलुङ, ११ बैशाख– जिल्लाका साहित्यकार शिव कुमार प्रधानकोे ८३ बर्षको उमेरमा आईतबार साँझ निधन भएको छ । प्रधानको आफ्नै निवासमा साँझको पुजापाठ गर्ने क्रममा अचानक निधन भएको परिवारले जनाएको छ । नेपाली, अंग्रेजी र संस्कृत भाषा साहित्यमा कलम चलाएका प्रधानको सोमबार दाहसंकार गरिएको छ ।
प्रधानले सिर्जना गरेका नेपाली, अंग्रेजी र संस्कृत भाषामा दुई दर्जन बढि सहित्यिक पुस्तकहरु प्रकाशन भएका छन् । बागलुङ उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष समेत रहेका प्रधान बिभिन्न सामाजिक संघ संस्थाको महत्वपुर्ण जिम्मेबारी समेत सम्हालेका थिए । २०२० सालमा बागलुङ ब्यापार संघ स्थापना गरि २०२२ सालमा नेपाल उद्योग बाणिज्य महासंघको संस्थापक सदस्यता लिएका प्रधान २००८ सालमा बिद्यामन्दिर पुस्तकालयको प्रमुख संचालक, २०१४ सालमा युवक संघको अध्यक्ष, २०१८ सालमा ब्यापार कर्पोरेटको कार्यकारी अध्यक्ष, २०२१ सालमा परोपकार संघको अध्यक्ष, २०२२ सालमा साहित्य गंगा प्रकाशनको अध्यक्ष, २०४८ सालमा तेजरत्न स्मृति पुरस्कार संस्थानको संस्थापक सदस्य र अमर मेमोरियल ट्रस्टको संस्थापक अध्यक्ष भई विभिन्न सामाजिक काममा सहभागिता जनाएका थिए । बागलुङमा अंग्रेजी साहित्यमा अब्वल मानिने प्रधानले साहित्य बिधाका बिबिध पुरस्कार र सम्मान समेत पाएका थिए । स्वर्गीय प्रधानका ३ श्रीमती, ७ छोरा र ४ जना छोरी रहेका छन् ।
Previous Articleवडाध्यक्षले गरे अभिभावकत्व ग्रहण
Next Article ‘करबाकेली इको टे«क’ जंगल सफारीका लागि आर्कषक