बागलुङ, १० बैशाख – फिल्म प्रदर्शनीबापत हलसँगको सेयर बाँडफाँड र बक्स अफिस संचालनको विषयलाई लिएर फिल्म निर्माताहरु आन्दोलनमा उत्रिने भएका छन् । आन्दोलनको पहिलो चरण स्वरुप राजधानीमा बृहद भेला गरी चलचित्र निर्माता संघले विभिन्न निर्णय सार्वजनिक गरेको छ । शनिबार भएको बन्द भेलाको निर्णय सोमबार सार्वजनिक गर्दै संघले विगतमा हलहरुसँग भएको सम्झौता बमोजिमको सेयर माग गरेको हो । ४२ दिन लामो आन्दोलनपछि २०६० साउन २३ गते हलवालाहरुको संस्था चलचित्र संघ र निर्माता संघबीच फिल्म प्रदर्शनबाट उठेको कूल रकममा भ्याट कट्टा गरी निर्माता/वितरकले ५५ देखि ६० प्रतिशतसम्म र हलवालाले ४० देखि ४५ प्रतिशत सम्म पाउने सम्झौता भएको थियो । उक्त सम्झौता कार्यान्वयन नभएको भन्दै निर्माताहरु एकजुट भएका हुन् ।
‘सेयर बाँडफाँडको सवालमा भएको सम्झौता उल्लंघन भएको हुनाले हामी आन्दोलनको मानसिकता पुग्यौं,’ निर्माता संघका अध्यक्ष आकाश अधिकारीले भने, ‘सय प्रतिशत लगानी गर्ने निर्माताको हातमा अहिले सबैभन्दा थोरै आम्दानी हात पर्छ । यस्तो प्रणालीले नेपाली फिल्म उद्योग उँभो लाग्दैन ।’ उनका अनुसार फिल्म हलमा हलमा बजाइने ट्रेलर, पोष्टर, स्थानीय पब्लिसिटी खर्चहरु समेतको सन्दर्भमा पनि त्यतिबेला सम्झौता भएको थियो । तर, पालना हुन सकेन । निर्माता संघले हलहरुका लागि जेठ १ गते सम्मको समय सीमा तोकेको छ । ‘सम्झौता कार्यान्वयनमा नआए नेपालमा सार्वजनिक प्रदर्शनमा आउने कुनै पनि भाषाका स्वदेशी तथा विदेशी फिल्महरुको सार्वजनिक प्रदर्शनमा रोक लगाउने प्रकृतिको आन्दोलनमा उत्रिन्छौं,’ अध्यक्ष अधिकारीले भने ।
निर्माता संघ र निर्माता संघ नेपालको नाममा विभाजित निर्माताहरु बानेश्वरस्थित होटल अर्यालमा सम्पन्न बन्द भेलामा सँगै थिए । प्रेस विज्ञप्ति जारी गर्ने सन्दर्भमा भने फेरि दुई पक्ष विभाजित बनेका छन् । नवल खड्काको नेतृत्व रहेको निर्माता संघ नेपालले सोमबारै विज्ञप्ति जारी गर्दै निर्माताहरुले ७० प्रतिशत सेयर पाउनुपर्ने दाबी गरेका छन् । भेलामा नयाँ पुराना कलाकारदेखि निर्माताहरुको भव्य उपस्थिति थियो । निर्माताहरुले दोस्रो मुद्धाको रुपमा बक्स अफिसलाई अघि सारेका छन् । फिल्म प्रदर्शनको हिसाब पारदर्शी बनाउन सरकारले बक्स अफिस प्रणाली ल्याउँदै छ । समयसीमा भित्रै यसलाई कार्यान्वयन गर्न माग गर्दै संघले आफ्नो तर्फबाट संस्थागत सहयोग गर्ने पनि जनाएको छ ।
चलचित्र विकास बोर्डले विज्ञप्ति जारी गर्दै बक्स अफिसमा सामेल नहुने हलवालाहरुलाई चेतावानी दिएको छ । बोर्डले राष्ट्रिय चलचित्र नीति २०७१ अनुरुप बक्स अफिस सञ्चालनको प्रक्रिया अघि बढाइसकेको र विभिन्न मितिमा सम्बन्धित हलहरुलाई केन्द्रीय डाटा सेन्टरमा लिंक हुन समयसीमा तोकेकोमा अझै पनि केही फिल्म हलहरुले निर्देशन पालना नगरेकाले त्यस्ता हल यथाशीघ्र बक्सअफिस प्रणालीमा नआए चलचित्र (निर्माण, प्रदर्शन र वितरण) ऐन २०२६ अनुसार कारबाही अगाडी बढाउने विज्ञप्तिमा छ । ‘बोर्डको सय दिनको कार्ययोजना अन्तर्गत बक्स अफिस सञ्चालनका लागि तीब्रतर रुपमा लागिरहेका छौं,’ बोर्डकी अध्यक्ष निकिता पौडेलले भनिन्, ‘प्रक्रियामा नआउने हलहरुलाई कानुन बमोजिम कारबाही हुन्छ ।’
Previous Articleएन्फाको चुनाव वैशाख २२ मा गर्न सकिने निर्णय
Next Article लोकतन्त्र दिवस: नेताको कार्यशैलीमा भएन परिवर्तन