बागलुङ, १० वैशाख – अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थगित भएको केन्द्रीय कार्यसमितिको चुनाव २२ वैशाखमा सञ्चालन गर्न सकिने निर्वाचन समितिले आइतबार निर्णय गरेको छ । भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु र मकवानपुरका तत्कालीन ‘वरिष्ठ उपाध्यक्ष’ मनीष श्रेष्ठले आ–आफ्ना जिल्लामा अधिवेशन नभएकाले आफ्नो प्रतिनिधित्वबिना निर्वाचन हुँदा हक अधिकार हनन हुने भन्दै चुनाव रोक्न उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
त्यसमाथि उच्च अदालतले ८ चैतमा अन्तरिम आदेश जारी गरेपछि १४ चैतलाई तोकिएको एन्फा निर्वाचन अदालतको अन्तरिम आदेशसँगै स्थगित भएको थियो । त्यसयता भक्तपुर र मकवानपुर जिल्ला संघको अधिवेशन पनि भयो । सुजखु पाँचौं कार्यकालका लागि भक्तपुरको अध्यक्ष निर्वाचित भए भने मनीष मकवानपुरमा सदस्य चुनिए ।
‘आ–आफ्नो जिल्लाको अधिवेशन र निर्वाचनसमेत सम्पन्न गरी मताधिकार प्रतिनिधि र प्रतिनिधिहरूको नामावली पठाइसकेकाले रिट निवेदकहरूको विषयवस्तु र अन्तरिम आदेशको भावना समावेश भइसकेको अवस्थामा निर्वाचन गर्न मिल्ने भएकाले २२ वैशाखमा निर्वाचन गर्न सकिने निर्णय गरियो,’ निर्वाचन समितिको आइतबार भएको बैठकको निर्णयमा लेखिएको छ, ‘७ चैतको अन्तरिम आदेश खारेजीको निवेदन गरिसकेको अवस्थामा छलफल हुँदा अन्तरिम आदेशले निरन्तरता पाएको अवस्थामा भने उक्त मितिमा निर्वाचन गर्न नसक्ने निर्णय गरियो ।’
केन्द्रीय कार्यसमिति निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध र अन्तिम नामावलीसमेत प्रकाशित भइसकेको अवस्थामा निर्वाचन स्थगित भएको थियो । एन्फा अध्यक्षका लागि उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्ष मणि कुँवर र पूर्वउपाध्यक्ष कर्माछिरिङ शेर्पा प्यानलसहित चुनावी दौडमा छन् । निर्वाचनमा एन्फाका ४५ जिल्ला शाखासहित ७७ मतदाता छन् ।
Previous Articleआर्थिक समृद्धि र सुशासनलाई मान्छेले बुझेनन्-प्रम अाेली
Next Article फिल्म निर्माताले जेठ २ देखि फिल्म प्रदर्शन रोक्ने !