बागलुङ, १० बैशाख– चार नम्बर प्रदेशको राजधानी र नामाङ्कनको बिषयमा आईतबार बागलुङ बजारमा सुझाव संकलन गरिएको छ । प्रदेशको राजधानी तथा नामाङ्कन समिती प्रदेश नम्बर ४ ले बागलुङका सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरेको हो । सुझाव संकलन कार्यक्रममा अधिकांश सहभागीले प्रदेशको नाम धवलगण्डक, धौलागिरी गण्डकी, ढोरपाटन, सेतीकाली वा नेवा मगरात हुनुपर्नेमा जोड दिएका छन् ।
प्राकृतिक सौन्दर्यताले भरिपुर्ण र पर्यटनका हिसाबले देशकै नमुना प्रदेशको रुपमा रहेको प्रदेशको नाम समग्र प्रदेशको विकास र देशकै नमुना प्रदेश हुने गरी राख्नुपर्ने भन्दै सहभागीले प्रदेशको नामाकरणमा संघियताको मर्मलाई आत्मासाथ गर्न आग्रह गरे । सिंहदरबारको अधिकार गाउँमा ल्याउनका लागि देश संघियतामा गएको भनिए पनि काठमाण्डौको अधिकार पोखरामा सर्ने सम्भावना रहेको भन्दै सहभागीले त्यो अवस्था आउन नदिन प्रदेशको नामाकरणमा धौलागिरीका सांसदले बिशेष ध्यान दिनुपर्नेमा जोड दिए । ‘काठमाण्डौको अधिकार पोखारामा आएर अल्झिएको जस्तो छ’ गल्कोट नगरपालिकाका प्रमुख भरत गैरेले भने ‘धौलागिरीको अपनत्व हुने गरी प्रदेशको नामाकरण हुन जरुरी छ ।’ प्रदेशको नामाकरण यहाँका जातजाति, भाषा र धर्मका आधारमा हुनुपर्ने माग पनि सहभागीले जोडतोडका साथ उठाएका थिए । ‘संघियता के–का लागि हो भन्ने कुराको हेक्का राख्दै प्रदेशको नामाकरण हुनुपर्छ’ पुर्व संबिधानसभाका सदस्य केसरी घर्तिले भनिन् ‘आदिवासी बस्दै आएको, थातथलो र उत्पीडनमा परेकाको मुक्ति हुने हिसाबले प्रदेशको नामाकरण गरिनु पर्छ ।’ घर्तिले प्रदेशको नाम नेवा मगरात हुनुपर्ने भन्दै त्यसो गरिएमा मात्रै यहाँका बहुसंख्यक आदिवासीको सम्बोधन हुने बताईन् ।
प्रदेशको नामाङ्कनको बिषयमा अलग–अगल खालका सुझाव आएको भएपनि प्रदशेको राजधानीको बिषयमा भने बागलुङमा सबैको एक मत देखीएको छ । भौतिक संरचना उपलव्धता र भौगोलिक हिसाबले पोखारा उपत्यका राजधानीको लागि उपयुक्त भएकाले प्रदेशको राजधानी पोखरा हुनुपर्नेमा सहभागीले जोड दिए ।
शक्ति पृथकीकरणको सिद्धान्तका आधारमा प्रदेशका केही मन्त्रालय पोखराभन्दा बाहिरका जिल्लामा लैजाँदा उपयुक्त हुने भन्दै उनीहरुले स्थायी राजधानी भने पोखराको विकल्प नभएको बताए । बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संगठका प्रमुख तथा प्रतिनिधि जिल्लाका स्थानिय तहका जनप्रतिनिधी, नागरिक समाज, बार एसोसीएसन, पत्रकार, लगायतका संघ संगठनका प्रमुख तथा प्रतिनिधि र सर्वसाधारणको उपस्थिती रहेको कार्यक्रममा अधिकांशले लिखित र मौखिक रुपमा आफ्ना सुझाव राखेका थिए ।
कार्यक्रममा पुर्वसंबिधान सभाका सदस्यद्धय नरबहादुर थापा र केसरी घर्ति, अन्तरपार्टि महिला सञ्जालका संयोजक भविकला रोका, निमित्त प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डे, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव धर्म कुँवर, नेकपा माओवादीका सचिव चन्द्रबहादुर थापा, नेपाली कांग्रेसका जिल्ला सभापती दिपेन्द्र थापा, नेकपा एमालेका प्रदेश कमिटी सदस्य श्रीप्रसाद शर्मा, प्रदेश सभा सदस्यहरु कोपिला बोहोरा, दिलकुमारी रोका लगायतले बोलेका थिए । प्रदेश सभा सदस्य चन्द्रबहादुर बुढा सागरको अध्यक्षता, जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुङ्गानाको स्वागत र प्रदेश सभा सदस्य सावित्रा रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ५० जना भन्दा धेरै सहभागीले लिखित तथा मौखिक सुझाव राखेका थिए ।
प्रदेश नं. ४ को नाम र राजधानिका बिषयमा बागलुङमा सुझाव संकलन
Previous Articleपक्षघात पिडितलाई एक लाख सहयोग
Next Article अब घरमै बसेर विद्युतको बिल भुक्तानी