पर्वत, १० बैशाख– कुश्मा नगरपालिका–२ खुर्काटका मेरुदण्ड पक्षघातबाट पीडित युवालाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । बारीमा मकै छर्ने बेला गोरुले हानेर लडेपछि मेरुदण्ड पक्षघातबाट पीडित बन्दै अएका माधव गिरीलाई अमेरिकामा बस्दै आएका प्रवासी नेपालीले रु. एक लाख पाँच हजार आर्थिक सहयोग गरेका हुन् । सकारात्मक परिवर्तनका लागि हातेमालो अभियानअन्तर्गत पर्वत र छिमेकी जिल्लाबाट अमेरिका पुगेका प्रवासीसँंग संकलन गरिएको रकम प्रतिनिधिसभाका सदस्य पदम गिरीले घरमै पुगेर हस्तान्तरण गरे । २०७२ साल चैतमा घर नजिकैको बारीमा मकै लगाउन खेत जोत्न लाग्दा गोरुले हानेर लडेका ३२ वर्षीय गिरीको परिवार अहिले सहाराविहीन छ । गिरीले ज्याला मजदुरी गरेर पाँच जनाको परिवार पाल्दै आएका थिए । गिरीको उपचारमा चार लाखभन्दा बढी खर्च भएको छ ।