बागलुङ, १० बैशाख–बिद्युतको बिल तिर्नका लागि घण्टौं समय लगाएर सदरमुकाम आउने र घण्टौंको लाईन बस्नुपर्ने बाध्याताको अन्त्य भएको छ । नेपाल बिद्युत प्राधिकरण बागलुङ बितरण केन्द्रले बैशाख दोस्रो सातादेखी ई–सेवामार्फत बिद्युतको बिल भुक्तानी गर्ने व्यवस्था मिलाएकाले ग्राहकहरुलाई सहज हुने भएको हो ।
प्रविधिको बारेमा जानकारी भएका ग्राहकहरुले अब मोवाईलको एप्लीकेशनमार्फत बिद्युतको बिल भुक्तानी गर्न सक्ने ब्यवस्था सुरु गरिएको नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र बागलुङले जनाएको छ । ई–सेवा प्रयोगकर्ता ग्राहकले आफ्नो बिलको आईडी नम्बर राखेर मोवाईलमा रहेको ई–सेवा एप्लीकेशनमार्फत सिधै बिल भुक्तानी गर्न सक्ने व्यवस्था मिलाईएको वितरण केन्द्र बागलुङका लेखा अधिकृत गेभेन्द्र लम्सालले जानकारी दिए । ‘दुरदराजका ग्राहकको हितलाई मध्येनजर गर्दै हामीले बिद्युतीय भुक्तानी सेवा सुरु गरेका हौं’ लम्सालले भने ‘लामो बाटो हिँडेर बितरण केन्द्र आउनुपर्ने बाध्यताबाट अव ग्राहकहरु मुक्त हुनुभएको छ ।’ मोबाईल तथा कम्प्युटरमा ई–सेवा एप्लीकेशन सुरक्षण गर्ने र सोही एप्लीकेशनमार्फत बिद्युतको बिल भुक्तानी गर्न सकिने लम्सालले बताए ।
ई–सेवा सञ्चालनको लागि भने ग्राहकको ई–सेवामा रकम पठाउन मिल्ने बैंकहरुमा खाता खुलेको हुन जरुरी छ । यो सेवाले मोबाईल तथा कम्प्युटरमा एप्लीकेशन चलाउन नजान्ने ग्राहकले समेत आफन्त तथा साथीभाईको सहयोगमा लिन सक्ने लम्सालले बताए । ‘अहिले बाबुआमा गाउँमा र छोराछोरी पढ्न तथा रोजगारीका लागि सहरमा बस्ने चलन छ’ लम्सालले भने ‘गाउँमा भएका बाआमाले बजारमा भएका छोराछोरीलाई ई–सेवाको प्रयोग गरेर भुक्तानी गर्न लगाउन सक्छन ।’ ई–सेवामार्फत बिलको भुक्तानी गर्दा नेपाल बिद्युत प्राधिकरणका वितरण केन्द्रहरुबाट प्राप्त हुने भुक्तानी रसिद जस्तै रसिद प्राप्त हुने र बिल भुक्तानी भएको निस्चित गर्न सकिने लम्सालले बताए । ‘हामीले मिटर रिडिङ भएको सात दिनभित्र भुक्तानी गर्न आउने ग्राहकलाई तीन प्रतिशतसम्म छुट दिन पाउने व्यवस्था छ’ उनले भने– ‘समयको व्यवस्थापन गर्न नसक्दा समयमा बिल तिर्न नभ्याउने ग्राहकलाई समेत यो सेवाले राहत प्रदान गर्ने छ ।’ घुम्ती शिविर तथा सिधै कर्यालयमार्फत बिद्युतको बिल भुक्तानी लिँदै आएको कार्यालयले ई–सेवामार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था गरेपछि ग्राहक र प्राधिकरणका कर्मचारी सबैलाई राहत हुने विश्वास लिएको छ ।
ई–सेवामार्फत बिलको रकम सिधा कार्यालयको खातामा जाने भएकाले कर्मचारीलाई कामको लोड कम हुने र पैसाको सुरक्षाको समेत कुने चिन्ता नहुने उनले बताए । ई–सेवाको प्रयोगका लागि इन्टरनेटको सहज पहुँच र ई–सेवा खातामा पैसा हुन आवश्यक छ । ई–सेवामा प्राप्त सन्चिती भएका ग्राहकहरुले आफ्नो र अन्य ग्राहकरुको समेत भुक्तानी गर्न सक्ने कार्यालयले जनाएको छ ।
समयको बचत, जोखिम कम र सरल भुक्तानी तथा बिल भुक्तानीकै शिलशिलामा हुने अन्य खर्चहरु समेत कम भएर जाने कार्यालयले जनाएको छ । बितरण केन्द्रका अनुसार, हाल जिल्लामा २७ हजारभन्दा धेरै नेपाल बिद्युत प्राधिकरणका ग्राहक छन्भने महिनामा १० लाख युनिट प्रतिघण्टा बिद्युत खपत हुने गरेको छ । महिनाको १ करोडभन्दा धेरै राजस्व संकलन हुने कार्यालयमा ई–सेवामार्फत भुक्तानी सुरु हुँदा दैनिक चाप घट्ने बताईएको छ ।
Previous Articleप्रदेश नं. ४ को नाम र राजधानिका बिषयमा बागलुङमा सुझाव संकलन
Next Article ढोरपाटनमा टुजी र थ्रिजी विस्तार