बागलुङ, ६ बैशाख– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका कामको प्रचार प्रसार गर्न नसक्दा कांग्रेस पछि परेको बताएका छन् । बुधबार बागलुङमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् । सामाजिक सञ्जाल र सञ्चार माध्यामको उपयोगमा कांग्रेस चुकेका कारण अनपेक्षित नतिजा आएको भन्दै पौडेलले गरेका कामको विवरण जनताको माझमा पु¥याउन कांग्रेस चुकेको बताए । सामाजिक सञ्जाल र सञ्चार माध्यामको प्रयोगले अन्य दलले गरेका काम जनताको माझमा पु¥याएको तर कांग्रेस आपसी किचलोमै अल्मलिएका कारण नसोचेको हार हात लागेको पौडेलको भनाई थियो ।
कांग्रेससँग आधुनिक समाजवादको ठोस नीति भएको भएपनि त्यसलाई कार्यक्रमको रुपमा जनताका माझमा प्रस्तुत गर्न नसकेको पौडेलले बताए । ‘निमुखालाई न्याय र विपन्नलाई आय प्रजातन्त्रको मुल मर्म हो’ पौडेलले भने ‘हामीसँग स्पष्ट धारणा छ तर व्यवहारमा उतार्न सकेका छैनौं ।’ हाल सत्तामा रहेका दलहरुले तिललाई पहाड बनाएको आरोप लगाउँदै पौडेलले भने ‘हामीले पहाडलाई तिल जत्तिको प्रचार–प्रसार पनि गर्न सकेका छैनौं ।’ ‘अरुले भत्ता दिएर राहत दिएका होलान’ पौडेलले भने ‘हामीले प्राण दिने स्वास्थ्य संस्थाहरु स्थापना गरेका छौं तर प्रचारमा नआउँदा ओझेलमा परेका छन् ।’ भाषणको अधिकांश समय कांग्रेसले गरेका कामको प्रचार–प्रसार नहुँदा चुनावमा हार व्यहोर्नु परेको कुरालाई दोहोराई रहेका पौडेलले अब कांग्रेस गुट उपगुटको बाटोबाट एउटै बाटोमा जाने बताए । पार्टिभित्र रहेका गुट र उपगुट अन्त्यका लागि आँफुले नयाँ रक्तसञ्चार हुने खालको अभियान थाल्ने पौडेलको भनाई थियो ।
कार्यकर्ताको मनोवल गिर्ने खालको काम नेतृत्व तहबाट हुन नहुने भन्दै पौडेलले यदि त्यस्तो अवस्था आएको भए त्यसलाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागीले निर्वाचनमा हार भएको बिषयमा हालसम्म पनि समिक्षा नभएको, आफ्ना कमीकमजोरी लुकाउन समिक्षा नगरिएको, पार्टि संगठनलाई उपल्लो तहबाट नै तहसनहस पारेको, प्रशिक्षण र संगठन बिस्तारका काममा व्यवास्ता गरेको, निर्वाचनका समयमा कामको मुल्याङ्कन भन्दा पनि नातावाद कृपाबादको आधारमा टिकट बितरण गरेको, गुटले चर्को राजनीति गरेको, गुटकै राजनीतिका कारण तल्लो तहका कार्यकर्तामा नराम्रो असर परेको लगायतका असन्तुष्टिहरु राखेका थिए ।
आम कार्यकर्तालाई कांग्रेस भनेर मुख देखाउन गाह्रो हुने वातावरण नेतृत्वले सिर्जना गरेको भन्दै गुट, स्वार्थ, भ्रष्टचार र सत्तामोह छोडेर संगठन सुधारमा पार्टि लाग्नु पर्नेमा उनिहरुको जोड थियो । नेतृत्वले देशका समस्या समाधान गरेको भने पनि पार्टि ािभत्रको समस्या समाधान गर्न नसकेको आरोप समेत कार्यकर्ताहरुले लगाए । कार्यक्रममा पुर्व राज्मन्त्री चम्पादेवी खड्का, पुर्व सभासद प्रकाश शर्मा पौडेल, पुर्व जिल्ला उप–सभापति जगदिशचन्द्र उपाध्याय, गल्कोट नपाका प्रमुख भरत शर्मा गैरे, बानपा १३ का वडाध्यक्ष नारायण पौडेलले बोलेका थिए । अन्तरक्रियामा २५ जनाभन्दा धेरै कांग्रेस नेता कार्यकर्ताले आफ्ना धारणा राखेका थिए । नेपाली कांग्रेस जिल्ला सभापति दिपेन्द्र बहादुर थापाको अध्यक्षता, कोषाध्यक्ष उमेश गौतमको स्वागत र सचिव नवराज पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Article२०७५ वैशाख ६ गते बिहिबारको राशिफल
Next Article जैमिनीको तेस्रो नगरसभाले पारित ग-यो ६ कानुन