बागलुङ, ६ बैशाख– जिल्लाको जैमिनी नगरपालिकाको तेस्रो नगरसभा तथा विधेयक अधिबेशन विभिन्न ६ वटा कानुन पारित गर्दै बुधबार सम्पन्न भएको छ । नगरपालिकाको कानुन बनाउन बसेको नगरसभाले नगर कार्यपालिकाबाट पारित भई आएका ६ वटा कानुनलाई सर्वसम्मतीले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद सुबेदीले जानकारी दिए । हिउँदे अधिबेशनको अन्त्य गर्न बसेको नगर सभाबाट सहकारी ऐन, न्यायिक समितीले उजुरीको किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि, आर्थिक कार्यबिधि, प्रशासकीय कार्यविधि, एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि र बजार अनुगमन निर्देशिका २०७५ लाई नगरसभाको पुर्ण बहुमतले पारित गर्दै कानुनको रुपमा लागु भएको सुवेदीले जानकारी दिए ।
नगरपालिकाले यसअघि नगर सभाबाट बन्न लागेका कानुनको विधेयकलाई गत फागुन ३० गते प्रत्येक वडामा अध्ययनको लागि पठाएको थियो । वडा स्तरबाट आवश्यक सुझावसहित आएका विधेयकमाथि नगर कार्यपालिकाको बैठकले आवश्यक परिमार्जन गरी गत बैशाख २ गते कार्यपालिकाबाट नगर सभामा पेश गर्ने गरी पारित गरिसकेको थियो । नगरपालिकाले पारित गरेको सहकारी ऐन नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मापदण्डमा बनेको छभने न्यायिक समितीले उजुरीको कार्वाही गर्दा मिलापत्रमा जोड दिनुपर्ने कुरामा जोड दिईएको सुबेदीले जानकारी दिए ।
त्यस्तै आर्थिक र प्रशासनिक कार्यविधि नेपालमा प्रचलित कानुनका आधारमा बनेका छन्भने एफएम रेडियो सञ्चालन सम्बन्धी कार्यविधिले बढिमा १ सय वाट सम्मको रेडियो सञ्चालनको अनुमति दिने र त्यसको नियमित अनुगमन तथा नियमन गर्ने कुरामा जोड दिएको छ । त्यस्तै नगरपालिकाले बनाएको जैमिनी नगरको बजार अनुगमन निर्देशिकाले नगरपालिका भित्र रहेका बजारमा भैरहेको कालो बजारी र उपभोक्ता ठगीका घटना कम गर्न मद्धत पु¥याउने अधिकृत सुबेदीले बताए । एक दिनको समयाबधि राखेर बसेको नगरसभामा नगर कार्यपालिकाबाट टुंग्याईएका बिधेयकहरुलाई प्रमाणीकरणका लागि प्रस्तुत गरिएको थियो ।
नगरसभाबाट पारित कानुन नगर प्रमुखले लामोहर लगाएको १५ दिनपछि कार्यान्वयनमा आउने ब्यवस्था रहेको छ । नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख इन्द्रराज पौडेलले जैमिनी नगरको दिगो विकासका लागि कानुनी अड्चन नरहने गरी कामको थालनी भएको बताए । बनेका कानुनलाई सहि प्रयोगमा ल्याउने र बन्न बाँकी कानुनलाई क्रमशः बनाउँदै जानेमा पौडेलको जोड थियो । नगरपालिकोको तेस्रो नगरसभा सम्पन्न भएसँगै हिउँदे अधिबेशन सकिएको समेत नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।
नगर प्रमुख इन्द्रराज पौडेको अध्यक्षता, उप–प्रमुख लिला रानाको स्वागत र प्रमुख प्रशासकीय अधिकृत तथा नगरसभाका सचिव बिष्णु प्रसाद सुबेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleआपसी किचलोले पराजित– कांग्रेस नेता पौडेल
Next Article ६ वैशाख २०७५, ढोरपाटन दैनिक