बागलुङ, १ वैशाख-गाउँपालिकाले वडा स्तरका सडक निर्माणका लागि ६ मिटरको मापदण्ड तोकेको भएपनि प्राविधिक कारणले यहाँका केही सडक मापदण्ड भन्दा कमका भएका छन् । सडक निर्माणका क्रममा घर तथा गोठहरु भएको स्थानमा ६ मिटरको मापदण्ड लागु गर्न प्राबिधिक हिसाबले कठिन भएको गाउँपालिकाले जनाएको छ । स्थानियका घरगोठ नजिकैबाट सडक बनाउँदा तत्काल घरगोठ भत्काउन समस्या भएका कारण मापदण्ड अनुसारको काम गर्न नसकिएको काठेखोला गाउँपालिका वडा नं २ का वडाअध्यक्ष बिद्यापति शर्माले बताए । गाउँपालिकाले बनाएको अनुगमन समितिका संयोजक समेत रहेका शर्माले सबै वडामा बनेका सडकमा घरगोठ भत्काउन नमिल्दा सडक मापदण्ड अनुसारको नबनेको पाईएको बताए ।
अनुगमन समितिले स्थलगत रुपमा गरेको अनुगमनमा घरगोठ छेउको सडक मापदण्डभन्दा कम भएको पाईएको हो । ‘हाम्रो अनुगमनमा केही ठाउँका सडकमा ६ मिटर मापदण्ड नपुगेको भेटियो’ शर्माले भने ‘घरगोठका कारण बाटोको चौडाई पु¥याउन कठिन भएको हो ।’ सर्वसाधारणका प्रयोगमा रहेका घरगोठ भत्काउँदा तत्कालै गाउँपालिकाले कुनैपनि क्षतिपुर्ती दिन सक्ने अवस्था नरहेको र बिना क्षतिपुर्ती घरगोठ भत्काउँदा विकासभन्दा विनास धेरै हुने भएकाले बाटोको चौडाई घटाएर भएपनि घरगोठ बँचाएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए । ‘अहिलेलाई गाउँपालिकाको केन्द्रदेखी वडा कार्यालय सम्मको बाटो ६ मिटरको बनाउने योजना हो’ थापाले भने ‘घरगोठका कारण समस्या भएकाले त्यसको समाधानको बाटो खोज्दै छौं ।’ तत्कालका लागि कुनै विकल्प नभएपनि सडक छेउमा रहेका घरगोठको व्यवस्थापनका लागि गाउँपालिकाले योजना बनाएको थापाले बताए ।
‘कुनै सार्वजनिक जग्गामा बस्ती स्थानान्तरण गर्ने वा सडकको ट्रयाकनै बदल्ने गरी भोलिका लागि योजना बनाएका छौं’ थापा भन्छन् ‘अब बन्ने घरहरु सडक छेउमा नबनाउन स्थानियलाई आग्रह गरेका छौं ।’ केही वडामा एक दुई घरमात्रै सडकले प्रभाव पार्ने ठाउँमा रहेका भएपनि केही वडामा भने बस्तीनै सडकले प्रभाव पार्ने ठाउँमा रहेका छन् । पहिला मापदण्ड विपरित बनेका सडकका कारण पनि सडक स्तरोन्नतीमा समस्या आएको हो । ‘बिना मापदण्ड पहिले बनेका सडकलाई फराकिलो बनाउँदा समस्या आएको हो’ वडा नं ७ का वडाअध्यक्ष प्रेम लामिछानेले भने ‘सडकको ट्रयाक बनिसकेपछि पनि केही नयाँ घरहरु ६ मिटरभित्रै बनेका छन् ।’ गाउँपालिकाले ६ मिटरको मापदण्ड तोक्नुभन्दा पहिला बनेका केही नयाँ र केही पुराना घरका कारण सडकको विस्तारमा समस्या भएको उनको भनाई छ ।